Fast Nepal News
Banner Below header

समाजको बिकासमा महिला शिक्षाको महत्व

✍️ मुरारीराज मिश्र

banner single news

✍️ मुरारीराज मिश्र

“अन्नदानं परं दानं विद्यादानमतः परम् ।
अन्नेन क्षणिका तृप्ति र्यावज्जीवं च विद्यया ॥”

(भावार्थ; अन्नदान ठूलो दान हाे भने विद्यादान त्याे भन्दा पनि ठूलो दान हाे । किनकि, अन्नबाट क्षणभर मात्र तृप्ति हुन्छ तर विद्याले आजीवन तृप्त गराउँछ)

शिक्षाको महत्व :
मानव जीवनमा शिक्षाको महत्व कति छ भन्ने कुरा हामी माथिको श्लोकबाट पनि अनुमान लगाउन सक्छौं । वास्तवमा शिक्षा उज्यालोको त्यो श्रोत हो, जुन उज्यालोले हामी मानवलाई जीवनको बिभिन्न क्षेत्रमा अमूल्य मार्गदर्शन गर्ने गर्छ । शिक्षाले मानवको ब्यक्तित्व निमांणमा सहयोग पुर्‍याउंछ । शिक्षाले नै मानिसभित्र आत्मबिश्वास र सकारात्मक बिचार पैदा गर्छ । जीवनमा अघि बढ्न र सफलता प्राप्त गर्न उचित शिक्षा आर्जन गर्नु सवैको लागि अत्यावश्यक छ । शिक्षा आर्जन नगर्नु भनेको अन्धकारमा बस्नु सरह हो । शायद यहि तथ्यलाई बुझेर होला सभ्यताको बिकासक्रम सँगै मानिसले परापूर्वकालदेखिनै बिभिन्न तरिकाबाट सिक्ने र सिकाउने कार्य गर्दै आएको छ । प्राचिनकालमा गुरुकूल, गुम्वा, मदरसा आदिबाट परम्परागतरुपमा दिईने शिक्षा प्रणाली आधुनिक प्रविधिको बिस्तारसँगै हालः कम्प्युटर युगमा पुगिसकेको छ ।

शिक्षा बिकासको पूर्वाधार पनि हो । एउटा समुन्नत राष्ट्र निर्माणका लागि त्यस देशका नागरिकहरु शिक्षित हुनु जरुरी हुन्छ । महिला र पुरुष मिलेर समाज बन्छ । समाजलाई बिकसित बनाउन र समाजमा सन्तुलन कायम राख्न, दुवैको सहि बिचार, सहयोग र सहकार्यको आवश्यकता पर्छ । जबसम्म दुवैले समान शिक्षा र अवसर पाउंदैनन् समाजको सुदृढिकरण हुन सक्दैन । हाम्रो जस्तो देश जहाँ महिलाको जनसंख्या पुरुषको भन्दा धेरै र सामाजिक संरचना पुरुषप्रधान छ, महिलाहरु बोक्सी, दाईजो र छाउपडी जस्ता कुप्रथा बाट प्रताडित छन् त्यहाँ बिकास र सम्बृद्धिको लागि बहुसंख्यक महिला शिक्षित हुनु अझै अति आवश्यक छ । किनकि, शिक्षाले सहि–गलत छुट्याउन सक्ने चेतना दिन्छ । स्वावलम्वन बन्न प्रेरित गर्छ । तसर्थ, शिक्षाको उद्धेश्य केवल आदर्शमूखि मात्र नभई, एक्काइसौं शताव्दीको प्राविधिक चुनौतिको सामना गर्न सक्ने शीपमूलक, सक्षम र स्वावलम्वी नागरिक उत्पादन गर्ने खालको समेत हनुु पर्दछ ।

महिला शिक्षाको महत्व :
मानव जिज्ञाषु स्वभावको हुन्छ । शिशुले आमाको गर्भदेखि नै शिक्षा ग्रहण गर्न थाल्छ भन्ने मनोवैज्ञानिकहरुको समेत मान्यता छ । जन्मपश्चात् बालकको पहिलो चिनारी आमासंग हुन्छ । उस्को सिक्ने क्रमको सुरुवातपनि आमाबाटै हुन्छ । यसरी बालकको बिकासमा पहिलो र सबैभन्दा बढि प्रभाव आमाको पर्ने र आमाबाट सिकेको ज्ञान ढुंगामा कु्रदिएको अक्षर जस्तै अमिट भएर बालकको जीवनको बिकासको स्थायी आधार बन्छ । त्यसैकारण, “वालकको पहिलो पाठशाला घर र पहिलो शिक्षिका आमा हुन्” भनेर भनिएको हो । पुरुषको तुलनामा महिलाहरुको शारीरिक संरचना बिशिष्ट प्रकारको छ । प्रकृतिले महिलालाई जीवन सृजनाको दायित्व प्रदान गरेको छ । शिशुको जन्म पश्चात् उसकाे पोषण, लालन–पालन र स्याहार–सुसार आदि समेत आमाबाटै हुने गर्छ । हाम्रा सामाजिक संरचना र परम्पराहरुपनि प्रायः महिलामैत्री छैनन् । त्यसैले आफ्ना कतिपय समस्याहरु पुरुषलाई भन्न महिलाहरुलाई कठिनाई हुन्छ । महिला स्वयं शिक्षित भएमा आफ्ना र घरका समस्याहरु आफैं समाधान गर्न सक्छिन् । आमा सुशिक्षित भए सन्तान पनि शिक्षित हुन्छन् । शिक्षित गृहणीबाट घर, परिवार र समाजलाई बौद्धिक र आर्थिक रुपमा समेत मद्धत मिल्छ । शायद यिनै कुराहरुलाई मनन गरेर महात्मा गान्धीले भनेका होलान् – “एक पुरुषलाई शिक्षा दिएमा एकजनाले मात्र पढ्छ तर एक महिलालाई शिक्षा दिंदा उस्को एक घर र पुरै परिवारले पढ्छ ।”

संस्कृतमा एउटा प्रशिद्ध उक्ति छ – “नास्ति विद्यासमं चक्षुर्नास्ति मातृ समोगुरुः” यो श्लोकले भन्छः यो संसारमा विद्या समान आँखा र आमा समान गुरु दोश्रो कोहि पनि हुन्न । यसै श्लोकलाई मात्रै हेर्ने हो भने पनि महिला शिक्षाको आवश्यकता र अनिवार्यताको महसूस प्राचिनकालिन समाजले उसैबेला गरिसकेको रहेछ भनि बुझ्न कठिन पर्दैन । यसैले होला प्राचिनकालमा महिला शिक्षाको पर्याप्त ब्यवस्था थियो । महिलाहरुलाई बिशेषगरि गृहकार्य, संगीत, ललितकला, नृत्य आदिको शिक्षा दिने गरिएतापनि शास्त्रार्थ र सैनिककला शिक्षाको अवसरबाट समेत उनीहरुलाई बञ्चित गरिएको थिएन भन्ने कुरा गार्गी र मैत्रेयी जस्ता बिदुषीहरुले पुष्टि गरेका छन । अझ त्यसबेला शिक्षा र चेतनाको दृष्टिले कैयन् महिलाहरु पुरुषको तुलनामा सक्षम, सुदृढ र उत्कृष्ट समेत रहेका थिए भन्ने बुझ्न महर्षि याज्ञवल्कलाई बिदूषि गार्गीले शास्त्रार्थमा हराएको प्रशङ्ग नै काफी हुन्छ ।

Inside Article Ads

नेपालको सन्दर्भमा महिला शिक्षा :
महिलाहरुले घरबाट बाहिर निस्कनु हुन्न भन्ने रुढिवादी परम्परा र सामाजिक सोच भएको तत्कालिन नेपाली समाजमा पुरुषहरुका लागि त शिक्षा प्राप्त गर्न कठिन थियोे भने, महिलाहरुका लागि त झन् शिक्षा प्राप्तिकाे अवसर आकाशकाे फल झैँ थियो । समयक्रममा, महिलाहरुलाई पनि शिक्षा दिन भनेर केही विद्यालय खुलेपछि भने सिमितरुपमै भएपनि महिलाहरूकाे समेत शिक्षामा सहज पहुँच पुग्न थालेकाे हाे । हुन त अहिले पनि देशका दुरदराजमा ब्याप्त अन्धबिश्वास, कुरीति, सामाजिक–सांस्कृतिक कारण र आर्थिक दुरावस्थाले पढ्ने–पढाउने बातावरण नमिल्नु, सबै स्थानमा शिक्षाको समुचित ब्यवस्था नहुनु तथा छोराछोरीमा हुने भेदभावले गर्दा महिलाहरु शैक्षिकदृष्टिले पुरुषको तुलनामा केही पछाडि परेका छन् ।

हाम्रा समाजका कतिपय शिक्षित अभिभावकहरुमा समेत छोरीलाई पढाउनु हुन्न भन्ने रुढिवादी दृष्टिकोण कायमै रहेको अवस्था छ भने कतिमा छोरालाई चाहेजति पढाउने र छोरीलाई आधारभूत तहसम्मको शिक्षा काफी हुन्छ भन्ने सोचाई छ । छोरीहरु बिवाह गरि अरुको घरमा जाने भएकोले उनीहरुलाई पढाएर फाईदा नहुने भन्ने परम्परागत धारणा र पढाईहाले पनि छोरालाई महंगा निजी विद्यालय र छोरीलाई सरकारी विद्यालयमा पढाउने सामाजिक प्रचलनले पनि नेपालका महिलाहरु गुणस्तरीय शिक्षामा पुरुषको तुलनामा पछि परेका छन् । तर यति हुंदा हुंदै पनि, हालः सम्म भएका अध्ययन र तथ्याङ्कहरुले हाम्रो देशमा महिला शिक्षाको प्रतिशत क्रमिकरुपमा बढ्दै गएको देखिनु, देशका राष्ट्रप्रमुख, न्यायपालिका र ब्यवस्थापिका प्रमुखजस्ता महत्वपूर्ण पदमा महिलाहरु पुग्नु आदि कुराहरुले समाजमा सकारात्मक लक्षण र आशाका किरण भने पक्कै जगाएका छन् । वर्तमान समयमा, कतिपय क्षेत्रमा महिलाहरुले आफ्नाे सक्षमता प्रदर्शन गरि पितृसत्तात्मक समाजमा बेग्लै छाप छाेड्न सफल भएका निकै उदाहरण पनि हाम्राे सामु छ, जुन सबैका लागि गर्वकाे बिषय हाे ।

अन्त्यमा, पद्मकन्या विद्याश्रम :
तत्कालीन अबस्थामा महिलाहरुको लागि भनि खोलिएका कतिपय विद्यालयहरु हालः सम्म आईपुग्दा बिभिन्न कारणले सहशिक्षामा गईसकेका छन भने, केहि विद्यालयले अझैसम्म आफ्नो ईतिहास र अस्थित्व जोगाउंदै देशको नारी शिक्षामा महत्वपूर्ण योगदान दिंदै आएका छन् । यस्ता विद्यालयहरुमा पद्मकन्या विद्याश्रम मा.वि., डिल्लीबजार पनि पर्दछ । देशकै पुराना विद्यालयहरुमध्येकाे एक भनेर चिनिने याे विद्यालय, आजभन्दा ७३ बर्ष अघि तत्कालिन राणा प्रधानमन्त्री श्री ३ पद्मशमशेर जवराले वि.सं. २००४ सालको श्रीपञ्चमीका दिन स्थापना गरेका हुन । बि.सं. २००५ देखि नै छात्राहरुलाई प्रवेशिका परीक्षामा सामेल गराउँदै आएकाे यस विद्यालयले यहि २०७७ साल फागुन ४ गते आफ्नो स्थापनाको ७३औं बार्षिकोत्सव मनाउंदै छ । प्राविधिक बिषय सहित गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकाे याे विद्यालयले आगामी दिनमा शिक्षा क्षेत्रमा ठूलै फड्को मार्न सकाेस्, ७३औं बार्षिकोत्सवकाे अवसरमा विद्यालय परिवारलाई हार्दिक शुभकामना ।
। अस्तु ।
mrmishra@live.com

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.