Fast Nepal News

शोक प्रस्ताव पारित गरेर नेकपा बैठक तीन दिनका लागि स्थगित

banner single news

काठमाडौं — मंसिर २८, २०७७।

सत्तारुढ नेकपाको आज बसेको स्थायी कमिटी बैठक शोक–प्रस्ताव पारित गरेर पुस १ सम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक–प्रस्ताव पारित गर्दै स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सांसद एवं पूर्वराजदूत लामाको कोरोना संक्रमणका कारण विहीवार निधन भएको थियो ।

यसअघि मंसिर २१ मा बसेको बैठक आइतबारसम्मका लागि स्थगित भएको थियो । आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी थिए ।बैठकमा अध्यक्ष पुष्पकमल दाहालले लामा र हाइड्रो पावरको सेयर विवादमा पार्टी प्रवक्तालाई मुछेर अनावश्यक प्रचार गरिएको भन्दै भ्रममा नपर्न आग्रह गरेका थिए । दाहालले लामा र सम्बन्धित हाइड्रोको व्यक्तिलाई सँगै राखेर आफूले पनि कुरा गरेको र प्रवक्ताले पनि तपाईंहरू मिल्नुस् भन्नेबाहेक अरू कुनै कुरा नगरेकाले भ्रममा नपर्न आग्रह गरेको बैठकपछि श्रेष्ठले बताए । लामाको निधनपछि उनको परिवारले सेयर विवादसम्बन्धी अडियो भिडियो सार्वजनिक गरेको थियो । त्यसमा प्रवक्ता श्रेष्ठ मध्यस्थकर्ताको भूमिकामा देखिएका थिए ।

Inside Article Ads

शोक प्रस्ताव पारित भएपछि बैठक नियमित कार्यसूचीमा प्रवेश गरेन । आजको बैठकमा दुई अध्यक्षले आफ्ना प्रस्तावमाथि व्याख्या गर्ने र त्यसपछि सचिवालयका सदस्यहरुले धारणा राख्ने कार्यसूची थियो । यसअघिकै बैठकमा दुई अध्यक्षका प्रस्ताव र पत्र अध्ययनका लागि स्थायी कमिटी सदस्यहरूलाई वितरण गरिएको थियो ।

गत आइतबारको बैठकमा अर्का अध्यक्ष दाहालको प्रस्ताव छलफलका लागि योग्य नभएको भन्दै प्रधानमन्त्री ओली भने अनुपस्थित भएका थिए । मंसिर २८ को सचिवालयमा दाहालले १९ पेजको प्रस्ताव पेस गरेपछि ओलीले मंसिर १३ को बैठकमा ३८ पेजको जवाफी प्रस्ताव पेस गरेका छन् । दुवै प्रस्तावमा एक अर्कामाथि आरोप लगाइएका छन् । गत आइतबारको बैठकमा दाहालले पार्टी जीवन विशिष्ट, गम्भीर र संकटपूर्ण परिस्थितिमा पुगेकाले पार्टी एकतालाई केन्द्रमा राखेर र अहिलेको संकटलाई सकारात्मक ढंगले समाधान गर्ने गरी आन्तरिक र अनौपचारिक छलफल गर्ने बताए पनि यसबीचमा यस्ता संवाद भने थोरै मात्र भएको छ । नेकपामा लामो समयदेखिको विवाद १५ बुँदे प्रस्ताव पारित गर्दै भदौ २६ को स्थायी कमिटीबाट हल भएको थियो । तर, निर्णय कार्यान्वयनलाई लिएर दुई समूहबीच मतभेद बढेपछि पार्टी झन्डै विभाजनको तहमा पुगेको छ । विवादबीच ओलीले चुनावअगाडि प्रधानमन्त्री र महाधिवेशनअघि पार्टी नेतृत्व नछाड्ने अडान लिएका छन् । तर, दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देश र पार्टीका लागि ओलीले त्याग गर्ने बेला आएको बताएका छन् ।

(कान्तिपुर दैनिक)

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.