काठमाडौं, कात्तिक २१ – जिल्लाको सुर्नया गाउँपालिका–२ का हरिजित पाण्डेय भारतीय पेन्सनधारी नेपाली हुन्। भारतीय गोर्खा रेजिमेन्टबाट अवकाश प्राप्त गरेका उनी प्रत्येक महिना पेन्सन बुझ्ने गर्थे। कोरोना भाइरस महामारीका कारण सीमा नाका बन्द भएपछि उनले गएको चैतयता पेन्सन बुझ्न पाएका छैनन्।
‘हामी पेन्सनधारीलाई धेरै समस्या भएको छ। समयमा पेन्सन लिन पाएका छैनौं। लामो समय पेन्सन रोकिँदा अब कागजपत्र बनाउनसमेत इलाहाबाद जानुपर्ने अवस्था आउन सक्छ’, उनले भने। ‘हामीलाई पेन्सन पाउने व्यवस्था गरिदिन माग गर्छौं।
पेन्सन नपाउँदा जीविकोपार्जनमा समेत समस्या भएको छ।’ जिल्लाको मेलौली नगरपालिकाका ७३ वर्षीय तारादत्त भट्टले पनि गएको चैतदेखि पेन्सन पाउन सकेका छैनन्। समयमा पेन्सन नपाउँदा घरपरिवार चलाउन समस्या भएको उनको भनाइ छ। उनले भने, ‘लकडाउनका कारण घरपरिवारका अन्य सदस्यको आम्दानीको स्रोत पनि रोकिएको छ। मासिक रूपमा पाइने पेन्सन पनि रोकिँदा निकै समस्या भएको छ। हामी पेन्सनधारीको समस्या समाधान गरिदिए आभारी हुने थियौं।’
अधिकांश पेन्सनधारी भारतीय गोर्खा रेजिमेन्टमा काम गरेर अवकाश प्राप्त गरेका नागरिक छन्। पेन्सन पाउने धेरैजसो ज्येष्ठ नागरिक भएकाले उनीहरूलाई निकै समस्या भएको छ ।
-अन्नपूर्ण दैनिक