काठमाडौं ,कार्तिक १२ – सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत ३६ हजार १८१ जनाले व्याज अनुदानमा सहुलीयतपूर्ण ऋण उपयोग गरेका छन् ।
उक्त कार्यक्रम अन्तर्गत विसं २०७७ भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थामार्फत विभिन्न नौ ओटा शीर्षकका कर्जाबाट उक्त संख्यामा लाभान्वित ऋणीहरुको रू. ६४ अर्ब ९५ करोड ४६ लाख कर्जा बक्यौता रहेको छ ।
चैत महीनापछिका केहि महीना भने बन्दाबन्दी तथा निषेधाज्ञाले गर्दा यस्तो कर्जा प्रवाह प्रभावित बनेको बैंकरहरु बताउँछन् । नेपाल राष्ट्र बैंकले विसं २०७५ असोजबाट सहुलियत ब्याजमा कर्जा प्रवाह शुरू गरेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले भदौसम्ममा प्रवाह गरेको रू.६४ अर्ब बराबरको कर्जा बक्यौतामध्ये सबैभन्दा बढी हिस्सा अर्थात् कुलमध्ये ८८ दशमलव ४३ प्रतिशत कृषिमा छ । राष्ट्र बैंकको तथ्यांक अनुसार कुल सहुलियतपूर्ण कर्जामध्ये २५ हजार ५८९ जनाको रू.५७ अर्ब ४६ करोड ९२ लाखको व्यावसायिक कृषि तथा पशुपंछी व्यवसाय शिर्षकमा बक्यौता रहेको छ ।