Fast Nepal News

भारतबाट फर्कनेमा संक्रमण बढ्दो

banner single news

कञ्चनपुर — २६ पुस २०७८

कञ्चनपुर , बाजुराको बडिमालिका–६ का कर्णबहादुर कार्की डेढ महिनाअघि कामको खोजीमा भारत पसेका थिए । उत्तराखण्डको गढवाल पुगेर उनले काम सुरु गरे । दसैंतिहार मनाएर काममा फर्किएका उनी नयाँ वर्षमा घर फर्किने योजनामा थिए तर कोरोना संक्रमण बढेपछि रात्रिकालीन कर्फ्युसँगै कामदार कटौती हुन थाल्यो । लकडाउनको हल्ला सुरु भएपछि उनी शनिबार घर फर्किए । ‘यसपालि त डेढ महिनामै घर फर्किनुपर्‍यो,’ गड्डाचौकी नाकामा भेटिएका उनले भने, ‘डेढ महिनाको कमाइ बाटो खर्चमै ठिक्क हुने भयो ।’ गढवालमा बाँसको झुला बनाउने काम गर्ने कार्की महिनाको १०/१२ हजार भारु तलब पाउँथे । ‘घरबाट गएपछि भर्खर काम सुरु भएको थियो,’ बाजुरा बडिमालिकाकै किसन बुढाथोकीले भने, ‘राति कर्फ्यु, दिनमा पनि कडाइ हुन थालेपछि घर हिँड्यौं ।’ गढवालमा पनि कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दो अवस्थामा रहेकाले लकडाउन हुन सक्ने भन्दै भर्खर सुरु भएको काम छाडेर हिँडेको उनले बताए । कोरोना संक्रमण सुरु हुनुअघिसम्म यतिबेला नाकामा काम खोज्दै भारत पस्नेको लर्को देखिन्थ्यो ।

संक्रमण सुरु भएपछि पनि गत वर्ष यति बेला भारत पस्नेको संख्या ठूलो थियो । कठ्यांग्रिँदो चिसोमा समेत काम खोज्दै भारत जाने गरेका प्रशस्तै भेटिन्थे तर यसपटक भने हिउँदमा कामको खोजीमा जानेभन्दा घर फर्किनेको लर्को देखिन थालेको छ । गड्डाचौकी नाकामा हरेक दिन बिहान घर फर्किनेको लामो लाइन देखिन्छ । कोरोना परीक्षणका लागि उनीहरू घण्टौं लाइन लाग्नुपरेको हो । ‘एकातिर कोरोनाको त्रास छ, अर्कोतिर कर्फ्यु र आंशिक लकडाउनले काम पाउन गाह्रो,’ दिल्लीबाट घर फर्किएका दार्चुलाका हीरासिंह धामीले भने, ‘दिल्लीमा दिनहुँ संक्रमित बढेर लकडाउनसमेत सुरु भइसकेको छ ।’ धामी एक महिनाअघि मात्रै दिल्ली गएका थिए । होटलमा काम गर्ने उनी कोरोना संक्रमण सुरु भएपछि करिब डेढ वर्ष घर बसेका थिए । मालिकले बोलाएपछि तिहारलगत्तै उनी घरबाट गएका हुन् । अहिले दिल्लीमा रात्रिकालीन कर्फ्युसँगै सातामा दुई दिन शनिबार र आइतबार कर्फ्यु लागेपछि काम पनि बन्द भएको उनले बताए । ‘हप्तामा पाँच दिन मात्रै काम पाइने, फेरि कति बेला सबै ठप्प हुन्छ,’ उनले भने, ‘त्यही भएर काम छाडेर घर फर्कें ।’

पछिल्लो एक सातायता घर फर्किने नेपालीको संख्या दैनिक ७/८ सयको हाराहारी छ । गड्डाचौकीस्थित हेल्थ डेस्कका अनुसार शनिबार ७८८ जना घर फर्किएका छन् । शुक्रबार ७९८ जना फर्किएका थिए । अहिले कामको खोजीमा भारततर्फ दैनिक ४/५ सय जना मात्रै जाने गरेका छन् । ‘भारतमा कोरोना बढेसँगै घर फर्किने बढेका छन्,’ सुदूरपश्चिम प्रदेश सरकारले गड्डाचौकी नाकामा स्थापना गरेको हेल्ड डेस्कका इन्चार्ज दानसिंह बोहराले भने, ‘भारतबाट आउनेहरू संक्रमित पनि धेरै देखिन थालेका छन् ।’ उनका अनुसार भारतको राजधानी नयाँदिल्ली र उत्तराखण्डको हरिद्वार, देहरादुन, नैनीताल र गढवाललगायतका क्षेत्रबाट ठूलो संख्यामा नेपालीहरू घर फर्किन लागेका हुन् । हिउँदको सुरुवातमा पटके रोजगारीका लागि भारत पस्नेहरू दसैंतिहारअघि फर्किने गर्छन् । चाडपर्व मनाउनुका साथै खेतीपातीको काम सकेर फेरि हिउँदमा काम खोज्दै भारत पस्छन् । मंसिरदेखि पुस–माघसम्मै भारत पस्ने गर्थे । हिउँदमा भारत पसेका कतिपय बिसु (नयाँ वर्ष) मनाउन पनि घर फर्किन्थे । तर अहिले घरबाट गएको केही दिनमै फर्किनुपरेको उनीहरू बताउँछन् ।

Inside Article Ads

उत्तराखण्ड र हिमाञ्चलमा स्याउ टिप्नेदेखि सडक तथा घर निर्माणको काममा ज्यालामजदुरी गर्ने नेपाली कामदारले रोजगारी पाउँछन् । कोरोना संक्रमणका कारण पछिल्लो अवस्थामा मजदुरी पाउनसमेत गाह्रो भएको घर फर्किनेहरू बताउँछन् । भारतबाट घर फर्किनेको संख्या बढेसँगै कोरोना संक्रमित पनि प्रतिदिन बढ्दै गएका छन् । आइतबार गड्डाचौकी नाकामा १८ जनामा संक्रमण पुष्टि भएको छ । शनिबार ४२ जनामा संक्रमण देखिएको थियो । शुक्रबार ३२ र बिहीबार २८ जनामा संक्रमण देखिएको थियो । महेन्द्रनगरबाट दिल्लीसम्म सञ्चालित मैत्री बस सेवामा घर फर्किनेहरू बढी मात्रामा संक्रमित भेटिने गरेका हुन् । नाकामा एन्टिजेन परीक्षण गर्दा संक्रमण नदेखिएकाहरू सोझै समुदायमा घुलमिल भइरहेका छन् । उनीहरूबाट समुदायमा समेत संक्रमण फैलिन सक्ने चिन्ता बढेको छ । ‘देशभरिका नागरिकहरू यही नाकाबाट आउजाउ गर्ने भएकाले हामी उच्च जोखिममा छौं,’ आइतबार गड्डाचौकी नाकाको अनुगमन गर्न पुगेका सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले भने, ‘त्यहीअनुसार आन्तरिक रूपमा व्यवस्थापनमा पनि जुट्नु जरुरी छ ।’

उनले कैलाली र कञ्चनपुरमा निर्माणाधीन होल्डिङ सेन्टरलाई तत्काल सञ्चालनमा ल्याएर संक्रमितलाई राख्ने तयारी भइरहेको बताए । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा कोरोना संक्रमित भरिन थालेका छन् । गड्डाचौकीमा संक्रमण देखिएकालाई अस्पतालमै राख्ने गरिएको छ । तर होल्डिङ सेन्टर सञ्चालन भएपछि लक्षण देखिएका वा स्वास्थ्यमा समस्या भएकालाई मात्रै अस्पतालमा राख्ने र अन्यलाई होल्डिङ सेन्टरमा राखिने मन्त्री खड्काले बताए । जिल्लाबाहिर संक्रमितहरूलाई सम्बन्धित पालिकाहरूसँग समन्वय गरी पठाइने उनले बताए । मन्त्री खड्काका अनुसार महेन्द्रनगरको होल्डिङ सेन्टरमा तत्काल ३ सय र धनगढीमा १५० बेड सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए । तर यसको सञ्चालन तथा व्यवस्थापन कसले गर्ने भन्ने विषयमा भने स्थानीय तहदेखि प्रदेश सरकार सबै अन्योलमा छन् । संक्रमितहरूको बसोबासदेखि उनीहरूको खानपिन र स्वास्थ्यकर्मी कहाँबाट परिचालन हुने भन्ने केही स्पष्ट छैन ।

( कान्तिपुर दैनिक )

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.