Fast Nepal News

किराती पहिरनमा चिन्डो बहस

banner single news

काठमाडौँ —  ६ पुस २०७८

काठमाडौँ , चिन्डो लौकाजस्तै लहरामा फल्ने प्रजातिको एक वनस्पति फल हो । चिन्डोलाई किरात राई जातिले मुन्दुम धार्मिक कार्यमा नाक्सो (कुलपुजारी), ज्वाम्चो (धामी)ले प्रयोग गर्दछन् । प्रकृति र पितृलाई पूजा गर्दा मुन्दुम फलाक्दै यही चिन्डोमा भरिएका जाँड, रक्सीले छर्किने गर्दछन् । प्रदेश–१ का विभिन्न बस्तीमा सांस्कृतिक प्रतीकका रूपमा चिन्डोको प्रतीमा बनाउने गरिएको छ । पक्की घरको छानोमा गजुरका रूपमा चिन्डोको आकार दिने गरिएको छ । पछिल्लो पटक किरात महिला र पुरुषले पहिरिने पहिरनमा समेत बुट्टाका रूपमा चिन्डो प्रयोग हुन थालेको छ । घरेलु तानमा बुनिने चोला, गुन्यु, सारी, सल, मज्यात्रो, दौरा, सुरुवाल, टोपी, झोला, थैली इत्यादिमा चिन्डोको बुट्टा खिप्ने गरिएको छ । संस्कृतिविद्ले मुन्दुमको प्रतीक चिन्डोलाई पहिरनमा प्रयोग गर्दा ध्यानपुग्नु पर्ने र जथाभावी प्रयोग गर्न नहुने बताएका छन् । किरात राई सुम्निमा संघले उधौली चाड साकेलाको अवसरमा आयोजना गरेको ‘किरात राई महिलाहरूको मौलिक पहिरन’ विषयक अन्तरक्रियामा उक्त विचार व्यक्त गरेका हुन् ।

विज्ञका अनुसार किरातीले आफूलाई प्रकृति तथा पितृपूजक जातिका रूपमा चिनाउने गरेका छन् । कृषि युग सुरु भएपछि कपासको खेती गर्ने, कपासलाई रुवा बनाउने, त्यसलाई कातेर तानमा खाडी कपडा बुन्ने र त्यसलाई छिटको गुन्यु, चोला, पटुकी पहिरिने परम्परा रहेको छ । विभिन्न चराचुरुङ्गी, वनस्पति, माटो आदि रंग प्रयोग गर्ने गरेका छन् । तिनै रंगलाई पहिरनमा प्रयोग गर्ने गरेका छन् । यसैगरी ढुंगा, काठ, माटो, धातुको विभिन्न गरगहना प्रयोग गर्दै आएका उल्लेख गरेका छन् । मौलिक भेषभूषाका रूपमा प्रतिपादित वस्तुलाई एकरूपमा हुनुपर्नेमा जोड दिएका छन् । समयको परिवर्तनसँगै मुन्दुम शास्त्रमा प्रयोग हुने प्रतीकलाई पहिरनमा उतारेर पहिरिने गरेका छन् । सांस्कृतिक विचलन हुनसक्ने विषयलाई आधार बनाएर अन्तरक्र्रियाको आयोजना गरिएको आयोजक संघकी उपाध्यक्ष सोनाम राईले बताइन् ।

किरात राई प्रज्ञा परिषदका कुलपति जयकुमार राईले कृषि युगपछि पहिरनका विकास भएको र वर्तमान अवस्थामा मुन्दुम कार्यमा प्रयोग हुने चिन्डोलाई लुगाफाटामा प्रयोग गर्ने चलन बढेको बताए । ‘मुन्दुम किरात जातिको अलिखित धर्मशास्त्र हो, यसको परिपालन गर्ने पुर्खाले त्यसैअनुकुल पहिरनको विकास गरे,’ कुलपति राईले भने, ‘अब पहिरनलाई भूगोल, परिवेश, परिस्थितिअनुसार परिमार्जन हुँदै आएको छ । चिन्डो घरको गजुरका रूपमा लिइन्छ । त्यसैले पहिरनमा छातीभन्दा मास्तिरको भागमा मात्र प्रयोग गर्नु उचित हुनेछ ।’ यसैगरी संस्कृतिविद् तीर्थराज मुकारुङ राईले मुन्दुम सांस्कृतिक वस्तुलाई पहिरनको आकर्षण बढाउने तर त्यसको प्रयोगमा होसियारी अपनाउन जरुरी रहेको बताए ।

Inside Article Ads

‘माङ (देवता)को पूजा गर्दा चलाइने चिन्डोलाई बुट्टाका रूपमा प्रयोग गर्नु राम्रो हो,’ पहिरन कुनै पनि जातिको पहिचानको पहिलो आधार भएको उल्लेख गर्दै उनले भने, ‘चिन्डो आस्थाको वस्तु हो । यसलाई घरको शिरमा राखिन्छ । तसर्थ यसलाई छातीभन्दा तलको भागमा प्रयोग नगरौं ।’ किरात राई यायोक्खाकी पूर्वउपाध्यक्ष दुर्गा राईले २०६१ सालदेखि किरात राई महिलाको पहिरन एकरूपता दिने काम सुरु भएको बताइन् । ‘पुर्खा आमाहरूले सभ्यताको विरासत धानेका हुन्,’ मुन्दुममा किराती समाज मातृप्रधान रहेको उल्लेख गर्दै उनले भनिन्, ‘तर समयको परिवर्तन हुँदै जाँदा आज तिनै परम्परागत पहिरनलाई परिमार्जन गर्दै सारीको पारीमा चिन्डो प्रयोग गरेको पाइयो । यो गलत हो, रोकिनुपर्छ ।’ त्यसैगरी किरात राई महिलाको पहिरनबारे सगरमाथा आरोही देउराली चाम्लिङ, भाषाशास्त्री डा. तारामणि राई, अध्यता मन्जु राई, तेजमाया दुमी राई, पुनम राई, सुशीला राई, किरात बायुङ राई सुम्निखिमका अध्यक्ष ज्ञान बायुङ राई, यायोक्खाका उपमहासचिव भीम राईलगायतले चर्चा गरेका थिए ।

( कान्तिपुर दैनिक )

Visited 101 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.