अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था गरीने भएकाे छ ।गैरआवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्रको जारी क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको अवसरमा आयोजित ‘नागरिकताको निरन्तरता तथा गैरआवासीय नेपालीको सम्पत्ति र राजनीतिक अधिकार’ विषयक अन्तरक्रियाममा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले आउँदो चुनावअघि नै देशबाहिर रहेका नेपालीलाई मताधिकारको सुनिश्चितता गरिने बताए ।देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताएका छन् । उनले राजनीतिक अधिकारबाहेक सबै अधिकारसहितको नागरिकताको व्यवस्था संविधानले नै गरिसकेकाले अहिले प्राप्त यो उपलब्धीलाई आत्मसात गर्दै यसलाई संस्थागत गर्ने दिशामा अघि बढ्न गैरआवासीय नेपालीसमक्ष आग्रह गरे ।
एनआरएनए आइसिसी सदस्य शङ्कर खड्काको अध्यक्षता, आइसिसी सदस्य प्रमोद सिटौला र पुरुषोत्तम बोहोराको सहजीकरणमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेताद्वय महेन्द्र यादव र प्रदीप पौडेल, एनआरएनए आइसिसीका उपाध्यक्ष डा बद्री केसी, सल्लाहकार हरिबोल भण्डारीलगायतले नागरिकतासँग जोडिएका कतिपय प्रष्ट हुनुपर्ने विषयमा व्यापक छलफलपश्चात् सबैको सहमतिमा संसद्को अब बस्ने बैठकबाट नागरिकता विधेयक पास हुनुपर्नेमा जोड दिए ।