Fast Nepal News

भाग्य, नतिजा र जुत्ता

banner single news

टोकियो — १६ श्रावण  २०७८

टोकियो , ग्रीष्मकालीन ओलम्पिकमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का सबै सदस्य देशका खेलाडीले एथलेटिक्स र पौडीमा प्रतिस्पर्धा गर्न पाउँछन् । कम्तीमा एक खेलाडी एथलेटिक्समा छनोटबिना (अन्तर्राष्ट्रिय रूपमा आयोजना गरिने छनोट प्रतियोगिता) नै ओलम्पियन बन्न पाउँछन् ।टोकियो ओलम्पिकअन्तर्गत शुक्रबार महिला १०० मिटर दौडको हिट्समा प्रतिस्पर्धा गर्दै नेपालकी सरस्वती चौधरी (दायाँ) । 

त्यसैका लागि नेपाल एथलेटिक्स संघ र नेपाल ओलम्पिक कमिटीले नेपालगन्ज म्यथाराथन (मंसिर २०७७) लाई टोकियो ओलम्पिकको छनोटका स्पर्धाका रूमा लिएको थियो । त्यसको विजेता भएपछि गोपीचन्द्र पार्कीले टोकियो ओलम्पिक २०२० मा प्रतिस्पर्धा गर्ने घोषणा गरिदिए । तर, गोपी स्वदेशमै रोकिए । त्यो विश्वव्यापी सहभागिताको कोटामा टोकियो उडान भर्ने भाग्यमानी भइन् धाविका सरस्वती चौधरी ।नेपाली सेनाकी स्प्रिन्टर सरस्वतीले ओलम्पिक खेल्ने जानकारी पाएको एक महिना पनि भएको छैन । टोकियोस्थित ओलम्पिक रंगशालाको ट्र्याकमा उत्रिनुपर्‍यो । यसबीच उनका प्रशिक्षक इन्द्राकुमारी मल्ल कोभिड–१९ संक्रमणको कारण स्वदेशमै

अड्किइन् । आइतबारमात्रै टोकियो आइपुगेकी सरस्वतीले ओलम्पिक ट्र्याकमा दौडन पाउने विशेष किसिमको जुत्ता ‘स्पाइक सुज’ लगाएर अभ्यास गर्न त के देख्न पनि पाएकी थिइनन् । ओलम्पिक मापदण्डमा पर्ने स्पाइक सुज टोकियोमै आएर प्राप्त गरिन् । अभ्यास गर्ने अवसर टाढाकै कुरा भयो ।अहिलेकी सबैभन्दा तेज गतिकी नेपाली महिलालाई एथलेटिक्स संघ, ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद्ले जस्तो सुविधा दिएको थियो, ओलम्पिकमा नतिजा पनि त्यस्तै निस्कियो । सरस्वतीले महिला १०० मिटरमा प्रतिस्पर्धा गरिन् । ओलम्पिक खेल्ने सपना साकार पारिन् ।

शुक्रबार बिहानै भएको १०० दौड पूरा गर्दा उनले १२.९१ सेकेन्ड लगाइन्, जुन उनकै आफ्नो उत्कृष्ट समय (१२.५५ सेकेन्ड/१३ औं दक्षिण एसियाली खेलकुद २०१९) भन्दा पनि खराब हो । दशरथ रंगशालामा दुई वर्षअघि व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्दा उनी पाँचौं भएकी थिइन् । उनी विश्व एथलेटिक्स च्याम्पियनसिप २०१९ (दोहा) मा निकालेको १२.७२ सेकेन्डको नजिक पनि पुगिनन् । देवीमाया पनेरुले २२ वर्षअघि आठौं साफ खेलकुद १९९९ मा बनाएको १२.२० सेकेन्डको राष्ट्रिय कीर्तिमान उछिन्ने लक्ष्यमा पुग्नु त टाढाकै कुरा भयो । यो ओलम्पिकमा पहिलो चरणमा पुग्ने समयसँग त तुलना गर्ने अवस्था नै छैन ।

उनको प्रतिस्पर्धामा व्यक्तिगत उत्कृष्ट प्रदर्शनको आधारमा हिट्समा प्रारम्भिक चरण र पहिलो चरणमा विभाजन गरिएको थियो । यसमा उनी प्रारम्भिक चरणको हिट्स २ मा परिन् । प्रारम्भिक चरणको हिट्समा पर्नु भनेकै यो स्पर्धामा कमजोर खेलाडी साबित हुनु हो ।प्रारम्भिक चरणका तीन हिट्समा २७ खेलाडीले प्रतिस्पर्धा गरे । यसमा पनि सरस्वती ९ खेलाडीको आफ्नो हिट्समा आठौं भइन् । उनले साउदी अरेबियाका धाविकालाई मात्रै पछाडि परिन् । प्रारम्भिक हिट्सको समग्रमा भने सरस्वती २० औं स्थानमा रहिन् ।

Inside Article Ads

ट्र्याकमा दौडिएको अवस्थामै उनी प्रतिस्पर्धाका लागि फिट थिइन् त भन्नेमा प्रश्न तेर्सिन्छ । प्रश्न उनीसँग मात्रै होइन, सम्बन्धित खेलका तीन निकाय (संघ, परिषद र ओलम्पिक कमिटी) लाई पनि तेर्सिन्छ । किनभने विश्व खेलकुदको कुम्भमा खेलाडीलाई तयार पार्ने काम तिनै संस्थाहरूको हो ।जुनसुकै खेलाडीको पनि ओलम्पिकमा सहभागी हुने सपना हुन्छ । र, त्यो सपना सरस्वतीमा पनि थियो । ‘यसैपालि ओलम्पिक खेल्ने सपना पूरा गर्न पाएँ,’ २४ वर्षीया उनले भनिन्, ‘तर सोचेजस्तो राम्रो गर्न सकिनँ । अब आउने खेलमा राम्रो तयारी गर्नेछु । उत्कृष्ट प्रदर्शन गर्नेछु ।’

बिदामा घर पुगेकी बेला (१३ असार) मा ‘ओलम्पिक खेल्ने भयौं’ भनेर त्रिभुवन आर्मी क्लबले खबर गरेपछि राजधानी काठमाडौं फर्किएर सरस्वतीले टोकियो यात्राको तयारी थालेकी थिइन् । अन्तिमसम्म फिटनेसमै केन्द्रित अभ्यास गरेकी उनले दशरथ रंगशालाको ट्र्याकमा ओलम्पिक मापदण्डको स्पाइक सुज पनि लगाएर दौड्न पनि पाएकी थिइनन् । अनि कसरी टोकियोमा कीर्तिमान र अर्को चरण पुग्ने छनोट लक्ष्य राख्ने ?

ओलम्पिकको ३२ औं संस्करणमा नेपालका ५ खेलाडीले चार खेलमा प्रतिस्पर्धा गर्ने मौका पाए । जुडोकी सोनिया भट्टको चुनौती महिला ४८ केजीमुनिको स्पर्धामा पहिलो चरण (अन्तिम ३२) मै रुसकी इरिनाविरुद्ध १ मिनेट १६ सेकेन्डमै समाप्त भयो । सरस्वतीको स्पर्धासँगै नेपाली खेलाडीका निम्ति टोकियो ओलम्पिकको यात्रा पनि सातौं दिनमै समाप्त भयो । तीन खेलाडी (कल्पना परियार, अलेक्जेन्डर शाह र गौरिका सिंह) ले आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमान ओलम्पिकमा सुधार गरे । यसपालि नेपालको उपलब्धि यही नै रह्यो ।

गौरिका र एलेक्सले पनि सरस्वतीले जस्तै विश्वव्यापी सहभागिता कोटामा ओलम्पिक खेलेका हुन् । उनीहरूले टोकियो अक्वाटिक्स सेन्टरमा आफ्नै कीर्तिमान सुधार गरे, त्यो नै ठूलो मान्नुपर्ने अवस्था रह्यो । कल्पना र सोनिया आमन्त्रित खेलाडी कोटामा ओलम्पियन भएका हुन् । यसमा कल्पनाको कीर्तिमान राम्रै उपलब्धि हो । सोनियाले एक बाउट जित्ने र सरस्वतीले व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य हासिल गर्न सकेनन् । यसले उनीहरूको फिटनेससँगै सम्बन्धित निकायतिर प्रश्न तेर्स्याएको छ । र, ओलम्पिकको ५७ वर्षे यात्रामा फेरि एउटा जमघटमा सहभागितामै सीमित हुँदै नेपाली खेलाडीले टोकियोमा बिट मारेका छन् ।

(कान्तिपुर दैनिक)

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.