Fast Nepal News

लकडाउनमा पनि केही आयोजनाको उल्लेख्य प्रगति

banner single news

निषेधाज्ञाको असहज परिस्थितिमा पनि विभिन्न पूर्वाधार आयोजनाले काम जारी राखेका छन्

काठमाडौँ — भाद्र १०, २०७७।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा छ । चालु आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको विमानस्थलमा लकडाउन अवधिमा पनि काम रोकिएन । अहिले कोभिडले गर्दा जिल्लामा निषेधाज्ञा जारी भए पनि काम भइरहेको छ ।

लकडाउनमा काम नरोकिएको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । ‘लकडाउनमा करिब १ सय जना मात्र कामदार थिए,’ उनले भने, ‘अहिले २ सय ८० जना फिल्डमा छन् । बीचमा लकडाउन खुल्यो । त्यो बेला कामदार जम्मा गरियो । अहिले टर्मिनल भवनको फिनिसिङ, साजसज्जा, चेकिङ काउन्टर बनाउनेदेखि पसलको व्यवस्थापन, सिसा, आल्मुनियम राख्ने, रङरोगन गर्ने काम जारी छ । तर विमानस्थललाई चाहिने उपकरणका सामान बीच बाटोमा रोकिएकाले कामले जुन गति लिनुपर्ने हो, त्यो हुन सकेको छैन ।

‘केही सामान ल्हासामा रोकिएका छन्,’ अधिकारीले भने, ‘केही कोलकाता हुँदै आउने सामानमा पनि समय लागेको छ ।’ सामान चाँडो ल्याउन पहल भइरहेको उनले सुनाए । ३५ जना दक्ष प्राविधिक चीनबाट ल्याउन कूटनीतिक पहल भइरहेको उनले बताए । ‘मुख्य काम भनेको उपकरण जडान र फिनिसिङको हो,’ उनले भने, ‘जुन कुरा दक्ष जनशक्ति कम हुँदा सोचेअनुरूप अघि बढेको छैन ।’ आयोजनाको अहिलेसम्मको भौतिक प्रगति ९२ प्रतिशत छ । वित्तीय प्रगति ६२ प्रतिशत छ । ‘लकडाउनयता मात्र करिब ४ प्रतिशत काम भएको छ,’ उनले भने, ‘अहिले निषेधाज्ञा जारी भए पनि काम रोकिएको छैन ।’

लकडाउनका बेला हुलाकी राजमार्गमा पनि प्रगति राम्रो भएको छ । आयोजना प्रमुख रोहित बिसुरालका अनुसार समग्र भौतिक प्रगति ५५ प्रतिशत छ । लकडाउनका समयमा १० प्रतिशत काम भएको उनले जानकारी दिए । ‘अहिले कोरोनाले गर्दा प्रायः जिल्लामा निषेधाज्ञा छ,’ उनले भने, ‘यसले भने काम प्रभावित बनेको छ ।’ केही जिल्लामा भने भौतिक दूरी कायम गरेर काम भइरहेको उनले बताए । आयोजनाअन्तर्गत ६ वटा योजनामा अलगअलग १ सयभन्दा बढी ठेक्का चालु छन् । अहिले १५ वटामा मात्र काम भइरहेको छ । सडक ग्राभेल गर्ने र माटो मिलाएर पिच गर्ने तयारी भइरहेको छ । झापा, मोरङ, सप्तरी, जनकपुर र पर्सामा मात्र काम जारी छ ।

Inside Article Ads

पुष्पलाल (मध्यपहाडी) लोकमार्गका आयोजना प्रमुख दीपक केसी भने काम गर्ने समयमै गति लिन नपाएको गुनासो गर्छन् । चैतदेखि जेठसम्म कामको चाप हुने समय हो । यही बेला लकडाउन हुँदा वार्षिक लक्ष्यअनुसार ३ सय ५० किमि कालोपत्र गर्नुपर्नेमा १ सय १३ किमि मात्र भएको उनको भनाइ छ । आयोजनामा १२ महिनाको प्रगतिअन्तर्गत ७५ दशमलव २३ प्रतिशत काम भएको छ । चैतयता मात्र ५५ दशमलव ४२ प्रतिशत काम भएको छ । ‘लकडाउनपछि सोचेअनुरूप काम हुन नसक्दा वार्षिक लक्ष्य भेट्न सकिएन,’ उनले भने, ‘तर पुलमा राम्रो प्रगति भयो ।’ उनका अनुसार १६ वटा पक्की पुल बनाउनुपर्ने वार्षिक लक्ष्य रहेकोमा १५ वटा बने । सडक ग्राभेल गर्ने काम पुसदेखि फागुनसम्म हुन्छ । चैतदेखि कालोपत्रको काम सुरु हुन्छ । यही बेला लकडाउन भएकाले समस्या भयो । ‘सडक कालोपत्र सोचेअनुरूप गर्न सकिएन,’ उनले भने, ‘आयोजनाको अहिलेसम्मको समग्र भौतिक प्रगति ४८ दशमलव ९४ प्रतिशत छ ।’ लकडाउनपछि पैसा खर्च नहुने भएकाले ६ अर्ब फिर्ता गरेर सरेन्डर गर्दै कार्यक्रम संशोधन गरिएको उनले सुनाए । अहिले पहिरो पन्छाएर यातायात सञ्चालन गर्ने काम मात्र भएको छ ।

यता पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मी पनि काम नरोकिएको बताउँछन् । जिल्ला प्रशासन कार्यालयबाट पास जारी नहुँदा भने निर्माण सामग्री ल्याउन समस्या भएको उनको भनाइ छ । सिमेन्ट आएको छैन । आयोजनाको अहिलेसम्मको भौतिक प्रगति ६३ प्रतिशत छ । लकडाउनउता ७ प्रतिशत काम भयो । यो चारवर्षे योजना हो ।

यसअनुसार यसको वित्तीय प्रगति ४७ प्रतिशत भएको छ । ‘गत वर्ष साढे ७ अर्ब छुट्याएकामा ९६ प्रतिशत खर्च भएको छ,’ उनले भने । अहिले सजावट, टर्मिनल क्षेत्रमा पर्ने सडक ढलान गर्ने काम भइरहेको छ । लाइट, इक्विपमेन्ट जडान गर्ने काम पनि भएको उनले बताए । मौज्दात सिमेन्टले काम भइरहेको उनको भनाइ छ । अब सिमेन्ट नपाइएको अवस्थामा भने समस्या हुने उनको भनाइ छ । २ सय जना कामदार चीनबाट ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

(कान्तिपुर दैनिक)

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.