
२१ पुष, काठमाडौँ – साताको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक १८ अंकले बढेर २१४३ विन्दुमा पुगेको छ । कारोबार रकम ५ अर्ब रूपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको प्रभाव विहीबारको सेयर बजारमा देखिएको हो । यद्यपि, पुस ११ गते नयाँ सरकार गठन भएको र अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएदेखि नै सेयर बजारमा रौनक देखिँदै आएको छ ।
करिब ११ महिनापछि सेयर बजारमा यस्तो उछाल आएको हो । नयाँ सरकार बनेसँगै लगानीकर्तामा बढेको मनोबल र आर्थिक अवस्थामा सुधार हुन थालेका कारण सेयर बजारमा उत्साह देखिन थालेको छ । बिहीबारको बजारमा ९ कपनीको सेयर मूल्य सर्किट लेबल (१० प्रतिशतको वरिपरि) मा बढेको छ । कारोबारमा आएका २५९ मध्ये १४७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६२ कम्पनीको मूल्य घटेको छ ।
बिहीबार २५९ कम्पनीका १ करोड २५ लाख ८१ हजा ९८२ कित्ता सेयर खरिद बिक्री भए । आज ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९३७ रुपैयाँ रकम बराबरमा ती सेयरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ । अघिल्लो दिन (बुधबार) को तुलनामा कारोबार रकम १ अर्ब ५४ करोड रुपैयाँले बढेको छ । यसबाट के प्रष्ट हुन्छ भने नयाँ सरकार आएसँगै अार्थिक क्षेत्रमा परिवर्तन आएको छ।
