Fast Nepal News

सुनसान रहेको सौराहामा एक्कासी चहलपहल

banner single news

रासस

१५ कात्तिक, चितवन । लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो ।

दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ भइरहेका छन् । व्यवसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन् ।क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार ३० देखि ३५ प्रतिशत होटल बुकिङ भइरहेका छन् । सुनसान अवस्थामा एकाएक पर्यटक आएपछि बिदामा रहेका कर्मचारी डाकेर होटल सञ्चालकले व्यवस्थापन गरिरहेका छन् ।

भट्टराईका अनुसार सबै पर्यटक स्वदेशी हुन् । जिल्लाभन्दा बाहिरका पर्यटक बढी रहेको उनले जानकारी दिए । काठमाण्डौं, पोखरा, वीरगन्ज, बुटवल, नेपालगञ्ज लगायतका क्षेत्रबाट पारिवारिक र समूहगत रुपमा युवाहरु यहाँ आएको भट्टराईको भनाइ छ । उनले भने, ‘यसले निरन्तरता पाए राम्रो हुन्थ्यो, भोलिदेखि के हुन्छ थाहा छैन ।’

होटलमा भन्दा रेष्टुरेन्टको व्यापार बढी

गएको चैत ११ गतेबाट बन्द रहेका सौराहाका होटलहरु बीचमा केही समय खुलेको भए पनि पर्यटक आएका थिएनन् । सौराहामा ११० होटल छन् जसमध्ये एक सय हाराहारीले सेवा शुरु गरेका छन् ।

पर्यटकको चहलपहल बढेसँगै रेष्टुरेन्ट पनि खुलेका छन् । होटलमा भन्दा रेष्टुरेन्टको व्यापार बढी छ । जिल्लाका आन्तरिक पर्यटक घुमेर रेष्टुरेन्टमा रमाएर साँझ फर्किनेहरु पनि छन् भने बाहिरी जिल्लाका पर्यटक भने साँझ सौराहामा नै बस्ने गरेका छन् ।

Inside Article Ads

रेष्टुरेन्ट एण्ड बार एसोसिएसन ९रेवान० सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहामा रहेका ८० रेष्टुरेन्टमध्ये लगभग सबै खुलेका छन् । उनले भने, ‘व्यवसायी उत्साहित भएका छन् । क्रमशः बढ्ने हाम्रो अपेक्षा छ ।’ राप्ती नदीको किनारमा बनाइएका पबमा बिहानदेखि साँझसम्म रमाउने क्रम बढेको उनले जानकारी दिए ।

निकुञ्जभित्र जीप सफारी र हात्ती सफारी शुरु

पर्यटक आएसँगै दैनिक चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी, स्थानीय सामुदायिक वनमा हात्ती सफारी शुरु भएको छ । सौराहाबाट काठमाण्डौं आवतजावत गर्ने पर्यटक बस पनि सञ्चालनमा आएका छन् ।

क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष समेत रहेका जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरेले दशैँसँगै पर्यटक बढेपछि आफूहरुमा उत्साह थपिएको बताए । आन्तरिक पर्यटक आउने क्रम शुरु भएको भन्दै उनले कोभिड सङ्क्रमण नहोस् भन्नका लागि आवश्यक सम्पूर्ण सुरक्षा मापदण्ड अपनाइएको जानकारी दिए । उनले भने, ‘पाहुनाको स्वास्थ्य सुरक्षाका लागि नेपाल सरकारले तोकेको मापदण्ड हामीले पूरा गरेका छौं ।’ सबै व्यवसायीले सङ्क्रमण फैलिन नदिनका लागि सतर्कता अपनाएको उनको भनाइ छ ।

सात महिनादेखि घरमा नै पट्यारलाग्दो बसाइले गर्दा पनि आन्तरिक पर्यटकहरु घुम्न रुचाएका छन् । सफारीका लागि यो निकुञ्ज प्रख्यात छ । स्वदेशी र विदेशी पर्यटक यहाँ जङ्गल सफारीका लागि आउने गर्दछन् । दुर्लभ एकसिंगे गैंडा, बाघ, घडियाल गोही जस्ना जनावर, चराचुरुङ्गीको अवलोकन गर्न पर्यटक आउने गर्दछन् ।

Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.