Fast Nepal News

मुस्ताङ जोड्ने सडक थप दुई दिन बन्द

banner single news

म्याग्दी – चैत १८

म्याग्दी, मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा सीधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सोमवार बसेको बैठकले विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न चैत १९ गतेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो । यसअघि चैत १४ देखि १७ गतेसम्मलाई बेनी–जोमसोम सडकमा सीधा यातायात बन्द गरिएको थियो । प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलको अध्यक्षतामा बसेको बैठकले तीव्ररूपमा भइरहेको सडक विस्तारको कामलाई पूर्णता दिन दुई दिन समय थप गर्ने निर्णय गरेको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमका प्रशासन शाखा प्रमुख नारायण पौडेलले जानकारी दिए ।

प्रजिअ पौडेलसहित सुरक्षा र आयोजनाका अधिकारीले सडक निर्माणस्थलको स्थलगत निरीक्षण गरेपछि समय थप गर्नुपर्ने निष्कर्ष निकालेका हुन् । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभीर र कैकुखोला क्षेत्रमा सवारी आवतजावत बन्द गरिएको छ । सडक विस्तारको क्रममा सम्भावित जोखिम र दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले बताए ।

Inside Article Ads

बेनी–जोमसोम ७६ किमी सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । प्याकेज नं २ को काभ्रेभिरमा गत पुस १९ गतेदेखि सडक चौडा गर्न शर्मा–गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ । त्यहाँ एक किलोमिटर ६०० मिटर दूरीमा पहाड काट्नुपर्ने बताइएको छ । काभ्रेभीर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । निर्माण कम्पनीले नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गरिरहेको छ । रासस

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.