
हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् ।
विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको यात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो छ । विसं २०८० मा २१ हजार चार सय ९५ पर्यटक भित्रिएका अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाले जनाएको छ ।
वैशाखदेखि चैत मसान्तसम्ममा सो सङ्ख्यामा विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये फ्रान्सका नागरिक बढी आगमन भएको तथ्याङ्कमा उल्लेख छ । मनाङ फ्रान्सका नागरिकको रोजाइमा पर्ने गरेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिएका छन्। उनका अनुसार फ्रान्सदेखि एक वर्षमा दुई हजार चार सय ८२ मनाङ भ्रमणमा आएको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै इजरायलका एक हजार आठ सय २१ र जर्मनीका एक हजार सात सय ५४ नागरिक मनाङ भ्रमणमा आएको तथ्याङ्क रहेको उनले बताएका छन् ।
नयाँ वर्ष २०८१ को पहिलो दिनमा मात्रै एक सय १५ विदेशी पर्यटक भित्रिएको प्रमुख भुजेलले जानकारी दिएका छन् ।