
काठमाडौँ — १६ श्रावण २०७८
जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन १९ स्वर्ण पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो ।
चीनले हालसम्म १९ स्वर्ण, १० रजत र ११ कांस्य पदक प्राप्त गरेको छ । जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् । जापानले १७ स्वर्ण, चार रजत र सात कांस्य पदक प्राप्त गरेको छ भने अमेरिकाले १६ स्वर्ण, १७ रजत र ११ कांस्य प्राप्त गर्न सफल भएको छ । यस्तै १० स्वर्ण, १४ रजत र १० कास्य पदक प्राप्त गर्दै रूस ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहेको छ ।
नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सकी सरस्वती चौधरीले आ-आफ्नो खेलमा प्रतिस्पर्धा गरेका थिए ।
पाँचै खेलाडी टोकियो ओलम्पिकबाट बाहिरिएका छन्। परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रि स्टाइल, सिंहले १०० मिटर फ्रि स्टाइल तथा चौधरीले १०० मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए ।
