एक एक जोडेर हजार बनाउने मन छ
गरीब पनि बाँच्ने आधार बनाउने मन छ
हामीले पनि घर बनाएको सपना देख्छौं
त्यही सपनाको आकार बनाउने मन छ
आँशुको दहमा पौडेर हासेको मान्छे म
त्यही मुस्कानलाई अपार बनाउने मन छ
छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेडी
सन्ततिलाई अब ठेकेदार बनाउने मन छ
कति हेप्छौ गरिबीलाई गर्छौं कति उपहास
गरिबी कतै नदेखिने बार बनाउने मन छ
समाजका कलंक तिनै हुने खानेहरू छन्
सबैसामु तिन्लाई नाङ्गेझार बनाउने मन छ
धर्म,जातका नाममा विभाजित देख्छु यहां
मन्दिर,मस्जित तथा विहार बनाउने मन छ
गरीब पनि मान्छे हो व्यवहार त्यस्तै गर्नुपर्छ
अस्तित्व स्वीकार गर्ने यार बनाउने मन छ