
काँकडभिट्टा — ५ पुस २०७८
काँकडभिट्टा , कोरोना महामारीका कारण दुई वर्षभन्दा बढी समय नेपालको पूर्वी नाका काँकडभिट्टा चकमन्न रह्यो । सबैतिर सन्नाटा छाएका बेला यस सिमान्त सहरका कलाकार भने सक्रिय रहे । सानो स्टुडियो र ग्यालरीसमेत सञ्चालनमा ल्याएको देही आर्टका सर्जकले जीवन र दुनियाँका अप्ठ्यारा आफूले भोगेकै थिए, अरूका भोगाइ पनि महसुस गरे, तिनै विषयबारे गम खाए र सिर्जनामा तल्लीन रहे । देहीका कलाकारले कोरोनाकालमा रचेका सिर्जना समेटेर पोहोर छैटौं वार्षिकोत्सवका अवसरमा फरक किसिमको कला प्रदर्शनी आयोजना गरे । कोरोनाले गाँजेकै थियो, सहरभन्दा पर भीडभाड नभएको, हिमाल देखिने, मौसममा धान खेत हुने र अन्य बेला खुला रहने ठाउँमा ‘प्रकृति, प्रकोप र मानवीय जीवन’ लाई विषय बनाएर गरिएका सिर्जना प्रदर्शनीमा राखे । परबाट हेर्दा एउटा ठूलो क्यानभासजस्तो देखिए पनि नजिक पुगेर हेर्दा छुट्टाछुट्टै चित्रहरूको संयोजन भएको देख्न सकिने सो प्रदर्शनीले संकटमा समेत सिर्जनात्मक उपाय निस्कँदो रहेछ भन्ने सन्देश प्रवाह गर्यो ।
एकातिर प्रदर्शनी उद्घाटन हुँदै थियो, अर्कातिर कलाकार छितेन शेर्पा ‘भन्ते र भिक्खा’ शीर्षकमा पर्फमेन्स आर्टमा व्यस्त थिए । शेर्पाले वर्षौंदेखि पालेको लामो कपाल मुण्डन गरे, भिक्षुको भेष धारण गरे । कला प्रदर्शनी अवधिभर उनी सोही भेषमा कन्यामको चिसो सिरेटो सहेर साधनारत रहे । कलाकारहरू शाहनवाज अली, समृद्धि सापकोटा, पिहु राजवंशी, याङकी श्रेष्ठ, अनिष नेम्वाङ, अर्जुन बस्नेत, शैलेश राजवंशी, असिम प्रधानलगायतका भिन्न २० वटा चित्रहरू पनि प्रदर्शनीमा राखिएका थिए । सबै चित्रहरू बुद्धदर्शनमै आधारित छन् । नाका सहरबारे आमधारणा सकारात्मक हुने गर्दैन । भारतसँगको खुला सिमानाबाट तस्करीका विषयमात्र यस्ता सहरको विशेषताका रूपमा चर्चा हुने गरेको छ । तर, पछिल्ला वर्षहरूमा काँकडभिट्टाको परिचय भारतको पश्चिम बंगाल प्रवेश गर्ने नाकाका रूपमा मात्र छैन साहित्य, संस्कृति, कलाकारिता एवं बौद्धिक अभ्यासको नगरीका रूपमा समेत चिनिन थालेको छ । यसमा परिवर्तन थिएटर, रिडर्स झापा र देही आर्टजस्ता संस्थाको भूमिका अहं छ ।
काँकडभिट्टा पुग्ने जोकोहीले त्यो अनुभव गर्न सक्छन् । सहरका फोहोर भित्तामा चित्रहरू कोरिएका छन् । देहीको अगुवाइमा विभिन्न कलाकारका सिर्जना सहरका भित्तामा सजिएका छन् । त्यति मात्रै होइन, यस भेगका निजी र सरकारी संस्थानले समेत आफ्ना पर्खालहरू रंग्याउन र चित्रहरूले सजाउन देहीका कलाकारलाई अनुरोध गर्न थालेका छन् । सहरका धेरै पर्खालहरू आफैंमा ग्यालरीजस्ता बन्न थालेका छन् । देहीका अगुवा छितेन काँकडभिट्टाका रैथाने हुन् । चित्रकारितामा पूर्णकालीन हुनुअघि उनी सूचना प्रविधिको क्षेत्रमा कार्यरत थिए, कमाइ पनि मनग्य गरिरहेका थिए । चित्रकार बन्ने सानैदेखिको सपनाले व्यापार र प्रविधि मात्रमा अल्झिन सकेनन् । मन, रुचि र सपना मिल्ने साथीहरूसँग मिलेर उनले देही आर्ट सञ्चालन गर्न थाले । अहिले साथमा छन्, कलाकारहरू सागर मगर, विष्णु लिम्बू, पिंकी श्रेष्ठ, विनोद राजवंशी, रिना राई, सविन मुखिया र रोशन सुब्बा ।
लकडाउन सुरु हुन अघिल्लो वर्ष देहीले नेपाल तथा भारतका कलाकारलाई एकै थलोमा जम्मा गरेर चित्रकला प्रदर्शनीसँगै कलाबारे बहस गरेको थियो । साथै, महिला हिंसा र बलात्कारजन्य अपराधका मनोवैज्ञानिक एवं सामाजिक असरलाई चित्रमार्फत देखाइएको थियो । अगुवा चित्रकार रमेश खनाल देहीको काम देखेर चकित छन् । ‘मिहिनेत गर्दा संकटका बीच काम हुने रहेछ,’ खनालले भने, ‘कलामार्फत सहरको पहिचान बदलेको थाहा पाउनु हामी सबै कलाकारका लागि गर्वको विषय हो ।’ कोरोनाकालको प्रभाव देहीका कलाकारमा पनि नपरेको होइन तर उनीहरूले सिर्जनात्मक कामलाई निरन्तरता दिने उपाय सोचिरहे र काममा डटिरहे । ‘निरन्तर यसैगरी काम गरिरहने हो भने देही सिंगो देशमा परिचित र सम्मानित हुनेछ,’ विराटनगरकी अग्रज कलाकार अनुराधा थापाले भनिन्, ‘निरन्तरता नै सफलताको कडी हो ।’
त्यसो त देही आर्टले आफ्नो कलालाई नेपालमा मात्रै सीमित राखेको छैन, भारतका विभिन्न भेगमा प्रदर्शनीहरू आयोजना गरिसकेको छ । सिर्जनात्मक कर्ममा यस समूहले काँकडभिट्टाका परिवर्तन थिएटर र रिडर्स झापासँग सहकार्य गर्ने गरेको छ । ‘सांस्कृतिक रूपान्तरणमा यस्ता कार्यक्रमहरूको महत्त्व धेरै हुन्छ,’ रिडर्स झापाका सदस्य शैलेश दाहाल भन्छन्, ‘यस्ता गतिविधिमा राज्यले आवश्यक हौसला र सहयोग नगरे पनि हामी कोसिस गरिरहेका छौं ।’ अब नाका मात्रै होइन, काँकडभिट्टालाई कलाकारिता, सिर्जनात्मकता र बौद्धिकताका लागि पनि आम नेपालीहरूले स्मरण गर्नेछन् भन्नेमा यस भेगका कलाकार र सर्जकहरू ढुक्क छन् । कन्याममा केवल चित्रकारिता र बुद्धदर्शन मात्रै होइन, यस भेगका कलाकारहरूको प्रचूर आत्मविश्वास पनि प्रदर्शनीमा थियो ।
( कान्तिपुर दैनिक )
