Fast Nepal News

दसैं गीतमा परदेशीको पीडा

banner single news

काठमाडौँ — २४ असोज २०७८

काठमाडौँ , ‘ए परदेशी आऊ है गाउँमै, दसैंतिहार आइसक्यो झल्को लाइसक्यो..’
दसैंलक्षित दुई साताअघि सार्वजनिक भएको विष्णु माझीको गीतलाई दर्शक/श्रोताले निकै मन पराए । युट्युबमा सार्वजनिक गीतमा शब्द संगीत सुन्दरमणि अधिकारीको छ । कमाउन परदेश हिँडेका श्रीमान्को सम्झना गर्दै प्रतीक्षा गरिरहेकी श्रीमतीको कथाव्यथालाई गीतमा समेटिएको छ । गीतले बोलेका भावमा आधारित भिडियो छ । दसैं पर्वलक्षित गीतहरूमा परदेशको पीडा समेटिएको यो नौलो भने होइन । डेढ दशकदेखि लय तथा भाकामा नौलोपना देखिए पनि विषयवस्तु उस्तै समेटेर दसैं गीतहरू सार्वजनिक भइरहेका छन् । अहिले विषयवस्तु उस्तै खालका दसैंलाई नै लक्षित गरेर बनेका गीतसंगीत पनि निकै न्यून मात्रामा सार्वजनिक हुन थालेका छन् । औंलामा गन्न सकिने दसैं पर्व विशेष गीतहरू विषयवस्तु पुरानै ढर्रामा चलेका छन् । गीतहरू अहिले पनि पुरानै ढर्रामा सार्वजनिक हुन नरोकिएको लोक गायक रेशम थापा स्विकार्छन् । ‘६० को दशकमा लोक गीतमा दसैं पर्वबारे धेरै गीतहरू सिर्जना भए,’ उनी भन्छन्, ‘अहिले थोरैले गीत त सार्वजनिक गरिरहनुभएको छ तर विषयवस्तुमा नौलोपना ल्याउन सक्नुभएन ।’

सांगीतिक बजारले डिजिटल प्रविधिमा फड्को मारेसँगै गीतको संख्या ह्वात्तै बढ्यो । युट्युबका च्यानलहरूबाट दैनिकजसो गीतहरू सार्वजनिक भइरहेका छन् ।  महामारीले अन्य क्षेत्रलाई ठप्प बनाए पनि गीतसंगीत क्षेत्र भने यो समयमा झनै मौलायो । गीतसंगीतको सिर्जना र बजार ल्याउन सर्जकहरूबीच बजारमा होडबाजी नै चलको यो अवस्थामा पर्वलक्षित गीतहरूमा नौलो सिर्जना न्यून छन् । आएका अधिकांश गीतहरूमा परदेश पीडा समेटिएका छन् । दसैं पर्वका गीतमा ६० को दशकमा जुन विषयवस्तु समावेश गरिएको थियो अहिले भने त्यही क्रम जारी रहेको थापा दाबी गर्छन् । २०५७ सालतिर थापाले दसैंलाई लक्षित गरेर लाहुरे र परदेशीको पीडालाई समेटेर ‘रुमालै छ चिनो’ लोक गीत सार्वजनिक गरे । २०६० सालमा पुनः उनले परदेशीकै कथा समेटेर ‘थालमै सुक्यो अक्षता मुछेर’ गीत ल्याए । तीनताक ती गीतहरू निकै चर्चित थिए । कति परदेशीहरू र तिनलाई कुरेर बसेका परिवार गीत सुनेर भकानिएका स्मरणहरू थापालाई अझै ताजा छ । उनका तिनै गीतहरूले लोक संगीतलाई नौलो आयाम दिएको थापा सुनाउँछन् । गाउँघरमा जुहारी, नाचगानमा मात्र सीमित भएको लोकसंगीतलाई बजार यात्रा तिनै गीतहरूले सघाएको थापाको भनाइ छ । भन्छन्, ‘समय र पुस्ताअनुसार दसैं गीतहरू बजारमा आइरहेका छन् तर स्रोता/दर्शकले फरकपना स्वाद लिन सक्नुभएन । सर्जकले नौलो सिर्जनातिर ध्यान दिन सकेन ।’ छोरो परदेश गएको, आमा कुरी बसेको, गाउँघर शून्य भो भन्ने विषयमा मात्र सर्जकहरू सीमित भएको उनको धारणा छ ।

समय, समाज र यथार्थतालाई मध्यनजर गरेर सिर्जना पस्कन सक्ने खुबी भएका सर्जकका रूपमा लोकगायक पशुपति शर्मासमेत परदेश कथाबाट टाढा जान सकेका छैनन् । शर्माको हालै सार्वजनिक ‘पैसाको बुटो’ बोलको गीतमा पनि कमाउन परदेश गएको एक नेपालीको कथा छ । गीतमा उनलाई खुमन अधिकारी, सन्दीप न्यौपाने, देवी घर्तीलगायतले स्वरमा साथ दिएका छन् । ‘देख्नेलाई आहा छ मनमा के छ भन्ने आफैंलाई थाहा छ,’ जस्ता शब्दमा शर्माले कमाउन परदेश जाने मान्छेलाई आर्थिक उपार्जन गर्न कठिन छ तर त्यसलाई परिवारका सदस्यले नबुझेको मानसिकतालाई गीतमा उतारेका छन् । समसामयिकता दर्शाउने जमर्को गरे पनि उनको गीतमा फेरि उही परदेशीको पीडा नै झल्केको छ । दसैं पर्वबारे धेरै विशेषताहरू र तिनका मौलिक पक्षहरूबारे सिर्जनामा खोतल्न सक्ने अर्का लोक सर्जक, नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानका उपमहासचिव शिव हमाल सुनाउँछन् । अन्य पर्वभन्दा दसैं पर्व विशेष गीतहरू न्यून र उस्तै किसिमका विषयवस्तुमा सिर्जना भइरहेको उनको पनि ठहर छ । यद्यपि आफूले भने आफ्ना दसैं लक्षित सिर्जनाहरूमा भने एक वर्षको पर्वमा जहाँ, जस्तो छ, त्यही अवस्थामा खुसी र रौनकले पर्वलाई उत्सवका रूपमा मनाऔं भन्ने सन्देश दिँदै आएको उनको भनाइ छ । ‘हाम्रो संगीत बजारमा गीतहरू जुन सफल भयो, त्यही प्याटर्नमा जाने लहर छ,’ उनी थप्छन्, ‘६० को दशकमा परदेशको पीडा समेटेर आएका दसैं गीतहरू निकै चर्चित बने ।

Inside Article Ads

त्यसपछि त्यस्तै खाले गीतहरू आउन थालेका छन् ।’ पर्वलाई विशेष बनाऔं भन्ने सन्देश दिन गीतसंगीतमा उत्साह तथा उमंग ल्याउने सिर्जना हुनुपर्ने उनको मत छ । परिवारबाट टाढा भएर परदेश बस्नेहरूका लागि त्यसै पनि पीडा छ । पीडालाई बल्झाउने खालका गीतहरूले उहाँलाई झन् दुःख हुन्छ । यसपाला नभए अर्को साल मनाउँला र रमाइलो गरौंला भन्ने दसैं गीतहरू ल्याउन सर्जकले जोड दिनुपर्ने उनी बताउँछन् । दसैं पर्व विशेष पुराना गीतहरूलाई विभिन्न युट्युब च्यानलहरूबाट अहिलेको समयसापेक्ष बनाएर सार्वजनिक क्रमसमेत बढ्दो छ । गायक थापाको ‘थालमै सुक्यो अक्षता मुछेर’ गीतलाई हालै पुनः सार्वजनिक गरिएको छ । त्यस्तै हमालको आधा दशकभन्दा बढी पुरानो ‘आयो दसैं’ गीतलाई नयाँ म्युजिक भिडियोसहित पुरानै ट्र्याकमा सार्वजनिक गरिएको छ । दसैं मान्ने संस्कार, रीतिरिवाज, आममानिस प्रतिनिधित्व गर्ने कथा उस्तै रहेकाले दसैं गीतहरूमा विषयवस्तु परिवर्तन नभएको हुन सक्ने लोक गायिका सीता थापा बताउँछिन् । यद्यपि सर्जकले सधैं सिर्जना खोज्नुपर्ने उनको बुझाइ छ ।

( कान्तिपुर दैनिक )

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.