
✍️ सम्झना शर्मा
उपहार दिने त म को हुँ र
उल्टै, तिम्रा उपहारले नै म थिचिएकी छु
अभावको सिरेटोले हिर्काउँदा
तिमी पानी बिनाको माछा छट्पट्टिएझै
छट्पट्टिएको यी नयनले नियालेकै हो
त्यै पनि केही अभाव छोडेनौं है मलाई !
तिम्रा द्वेषरागको त अनुभव छैन
कहिलेकाहीँ मेरो नादानीमा
एक–दुई लबेटा तिमीले लगाएकै हो
त्यै पनि म पचाइदिन्थेँ किन थाहा छ ?
त्यसमा प्रेमको तरङ्ग नै देख्थेँ म
काँचो माटोलाई परिपक्व बनाउने
तिम्रो प्रयास म कसरी भुल्न सक्छु
तिमीले उब्जाएको त्यो सकारात्मक उर्जा
म कसरी लत्याउन सक्छु
तिम्रो जन्मदिनमा तिमीलाई दिने
मसँग त्यस्तो केही ठोस कुरा त छैन
न त कुनै सामर्थ्य नै छ मसंग
छ त केवल प्रेम अनि समर्पण
त्यसैले, बस् यही
‘शुभकामना’ शब्दमा नै चित्त बुझाऊ है !
*****
