Fast Nepal News

ऋणले थलिएको तीनधारामा सरकारी अनुदानपछि खुशीयाली

banner single news

काभ्रे – बैशाख १२

काभ्रे, मण्डनदेउपुर नगरपालिका–१० चण्डेनी तीनधाराको पञ्चकुमारी तामाङ एकीकृत बस्ती निर्माणार्थ खटिएको १५० दिन नाँघिसक्यो । नमूना तामाङ बस्ती निर्माणको काम थालेपछि कामको दिन हेरेर उनी जनश्रमदानमा जुट्छन् । अहिले पञ्चकुमारीसँगै गाउँका महिला–पुरुष दिनहुँ नमूना बस्तीमा सकेको काम गर्दै आएका छन् । “गाउँमा चिटिक्कका घर एकै ठाउँमा बनाएर बस्ने, पर्यटक ल्याउने भनेपछि हामी सबै गाउँले आफैँ काम गर्न आउँछौँ”, पञ्चकुमारीले भनिन् । उनले आफूलाई भूकम्पपीडितवापत आवास निर्माणका लागि सहयोग संस्थाबाट आएको पहिलो किस्ताको रु ५० हजार पनि तीन वर्षअघि नै सोही बस्ती निर्माणमा दिएका छन् ।

त्यसपछि सरकारसँग सम्झौता गरी यहाँको मण्डनदेउपुरस्थित तीनधारका ३० भूकम्पपीडित परिवारलाई पहिलो किस्ताको आवास निर्माण अनुदान दिने ‘कारितास्’ नामक संस्थाले बाँकी किस्ता नदिएपछि ऋण लिएर स्थानीयवासीले बस्ती निर्माणलाई निरन्तरता दिइरहेका थिए ।

हाल सरकारी निकायबाट विभिन्न शीर्षकमा रु एक करोड ४० लाख रकम निकासा हुँदा ऋणले थलिएका तीनधारका बासिन्दामा खुशीयाली छाएको छ । “हालै मात्र रकम निकासा भएको छ, अब ऋण तिर्छौं, सहयोग र अनुदान तथा श्रमदानले जसरी पनि बस्ती निर्माण सक्नेछौँ”, बस्ती निर्माणका परिकल्पनाकार स्थानीय रामबहादुर तामाङले भने । उनका अनुसार पटकपटक रु ५४ लाख ऋण लिएर र जनश्रमदानले बस्ती निर्माणको कामलाई निरन्तरता दिइएको थियो ।

Inside Article Ads

तामाङले सरकारबाट प्राप्त हुने आवास निर्माणको रकम आएपछि तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले घरवाससहितको नमूना तामाङ बस्तीको परिकल्पना गरिएको बताए । “कारितास्ले पहिलो किस्ता दिएर लथालिङ्ग छाडेर हिँड्यो, तर पनि हामीले सरकारबाट बाँकी किस्ता नआउञ्जेल ऋण गरेर काम सञ्चालन ग¥यौँ”, उनले भने ।

तामाङका अनुसार हप्ता दिनअघि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण (आवास)मार्फत रु ६५ लाख रकम निकासा भयो । आवास निर्माण अनुदानको बाँकी रकमबापत एकमुष्ट रु ७५ लाख पनि हालै मात्रै निकासा भएको छ । यसअनुसार तीनधारका भूकम्पपीडितमा पुनःनिर्माण प्राधिकरणबाट भूकम्पको छ वर्षपछि आवास अनुदान रकम निकासा भएको देखिन्छ ।

स्थानीय युवा विरेश तामाङको दैनिकी पनि बस्ती निर्माणमा सकेजानेको काममा बितिरहेको छ । उनी भन्छन्, “हामी जनश्रमदानमा जुटेको पनि १५० दिनजति भइसक्यो, अब रकम निकास भएपछि धेरै दिन गर्नु नपर्ला, सुन्दर बस्ती बनाउने योजनामा सबैले भरपुर साथ दिइरहेका छौँ ।” उनी स्थानीय भूकम्पपीडितलाई आवास निर्माणका लागि कारितास् नामक संस्थाले सरकारसँग सम्झौता गरी करीब तीन वर्षअघि पहिलो किस्ताको रु ५० हजार दिएको र अन्य किस्ताका लागि समन्वय नगर्दा ऋण गरेर निर्माणलाई निरन्तरता दिनुपरेको बताउछन् । रासस

Visited 24 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.