Fast Nepal News

एनएसएलमा थपिए तीन टिम

banner single news

काठमाडौँ — ०२ फागुन २०७८

काठमाडौँ , नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करण पुग्दानपुग्दै आकारले अझ ठूलो हुने भएको छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजक रहेको फ्रान्चाइज फुटबल प्रतियोगितामा तीन नयाँ टिम थपिएका छन् । यस्तोमा अब टिम मात्र होइन, खेल र यसमा सहभागी हुने खेलाडी सबैको संख्या बढ्नेछ । थपिएका तीन टिम रहेका छन्, स्पोर्टिङ इलाम डे मेची, झापा एफसी र वीरगन्ज युनाइटेड । आइतबार आयोजित पत्रकार सम्मेलनबीच तीन नयाँ टिम र यसका प्रतिनिधिको घोषणा गरिएको थियो । नयाँ टिमको प्रतिनिधिका रूपमा झापाबाट विक्रम थापा, इलाम डे मेचीबाट सुहाङ नेम्वाङ र पीयूष न्यौपाने तथा वीरगन्जबाट अरविन्द्र अमात्य, अनिल गुप्ता र अरविन्द बराल प्रस्तुत भएका थिए ।

सबै प्रतिनिधिले आफ्नो टिम नेपाली फुटबल विकासकै लागि यस क्षेत्रमा आएको दाबी गरे । यस्तै तीनै टिमका प्रतिनिधिले आफ्नो क्षेत्रमा फुटबल विकासका लागि सक्रिय रहने पनि बताए । थपिएका तीन टिम छनोट प्रक्रियाबाट गुज्रेका थिए र यसका लागि पाँच समूहले प्रारम्भिक रुचि देखाएको थियो । प्रतियोगितामा पहिलो संस्करणमा सात टिमले सहभागिता जनाएका थिए र काठमाडौं रेजर्सले उपाधि जितेको थियो । धनगढी एफसी उपविजेता बन्यो । अन्य सहभागी टिम विराटनगर एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल लुम्बिनी रहेका थिए ।

Inside Article Ads

यसपल्टको प्रतियोगिता काठमाडौं र पोखरा गरेर दुई सहरमा हुनेछ । अहिलेसम्म प्रतियोगिता आयोजना हुने मिति चैत २६ अपेक्षा गरिएको छ । यस अगाडि सबै टिमले आ–आफ्ना मार्की खेलाडी घोषणा गर्नेछन् । प्रतियोगिताका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माका अनुसार प्रतियोगिता घोषित समयमै सुरु हुने भए पनि केही दिन तलमाथि हुन सक्नेछ । उनले भने, ‘हाम्रो उद्देश्य नेपाली फुटबलको विकास नै हो । त्यसैले हामी राष्ट्रिय टिमको तयारीमा कुनै व्यवधान नपुग्ने गरेर प्रतियोगिता सुरु गर्नेछौं ।’                        

( कान्तिपुर दैनिक )

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.