
म्याग्दी — २७ पुस २०७८
म्याग्दी , बेनी–जोमसोम–कोरला सडकमा पर्ने साना/ठूला खोल्सा र नदीमा मोटरेबल पुलहरू बन्ने र प्रयोगमा आउन थालेपछि साविकका बेलिब्रिज पुलहरू प्रयोगहीन बनेका छन् । उक्त सडक खण्डमा ३२ वटा मोटरेवल पुल बनिरहेका छन् भने केही बनिसकेका छन् । बेनी–जोमसोम सडक खण्डमा गलेश्वर–पिप्ले जोड्ने राहुघाट खोला, तिप्ल्याङ र महभीर जोड्ने कालीगण्डकी तथा पोखरे र तातोपानी जोड्ने कालीगण्डकी नदीमाथि ११ मिटर चौडाइको मोटरेबल पुल निर्माण भएका छन् । जसले गर्दा राहुघाट खोलाको एक सय फिट लामो, तिप्ल्याङको १ सय ५० फिट लामो र पोखरेबगरको १ सय ६० फिट लामो बेलिब्रिज प्रयोगविहीन बनेका हुन् ।
बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पर्ने राहुघाट र कालीगण्डकीमा प्रयोगहीन बनेका बेलिब्रिजलाई आ–आफ्नो क्षेत्रमा लैजान सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका नेताबीच रस्साकसी सुरु भएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासहित स्थानीय कांग्रेस नेताहरू पर्वतको जलजला–२ बगरफाँट र र म्याग्दी सदरमुकाम बेनी जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज राख्न लबिइङ गरिरहेका छन् । म्याग्दीका नेताहरू भने पुल पश्चिम मंगला गापाअन्तर्गत म्याग्दी खोलामा लैजान चाहेका छन् । ‘बेलिब्रिज धेरै स्थानमा आवश्यक छ । तर पहिलो प्राथमिकता बेनी–जोमसोम सडककै बेगखोला र रुप्सेलाई राखेर अर्को पुल आवश्यकताका आधारमा जिल्लाभित्र नै प्रयोग गर्नुपर्छ,’ रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भने, ‘दुई वटा बेलिब्रिज रघुगंगा गापालाई जोड्ने भएकाले स्थानीय सरकारलाई बाइपास गरी अन्यत्र लैजानु उपयुक्त हुँदैन ।’
( कान्तिपुर दैनिक )
