
काठमाडौँ — २६ मंसिर २०७८
काठमाडौँ , ठीक अहिले नै जसरी पुबुदु दासानायकेले एक वर्षअघि पनि नेपालको क्रिकेट प्रशिक्षक बन्न आवेदन दिएका थिए । नेपाल क्रिकेट संघ (क्यान) को प्रशिक्षक छनोट समितिसँग अन्तर्वार्ताका क्रममा उनले विगतका घटनाक्रम आफ्नोतर्फबाट प्रस्ट्याउन खोज्दै थिए । धन्न, उनको अन्तर्वार्तासम्म लिने आँट क्यानले गरेको थियो । नत्र, उनको आवाज पनि नसुन्ने स्थितिमा क्यान पुगिसकेको थियो । दासानायके र क्यानको मतभेद विगतकै हो । उनलाई ल्याउँदा त्यही मतभेद निरन्तर रहन्छ भन्ने एउटा समूह क्यानमा थियो । ‘पुबुदुलाई ल्याएर फेरि अख्तियार जानु छैन’ भन्न समेत क्यान पदाधिकारीहरू पछाडि परेका थिएनन् । हुन त अन्तर्वार्तापछि क्यानले निकालेको अन्तिम तीन जनाको प्रशिक्षक सूचीमा दासानायके नपरेका होइनन् । निर्णय स्पष्ट थियो । त्यस अन्तर्वार्तापछि कुन हदसम्म अपमान बेहोरेर उनी बाहिरिएका थिए, त्यसको लेखाजोखा दासानायकेले राम्रैसँग राखेका होलान् । क्यानले डेभ ह्वाटमोरलाई नेपालको प्रशिक्षक नियुक्तमात्र गरेन, दासानायकेका लागि सबैजसो ढोका बन्द गरिदिएको थियो ।
नेपालको विश्वकप खेल्ने सपना साकार पार्ने उनै दासानायके थिए । सन् २०११ को अक्टोबर अन्त्यमा उनी नेपालका प्रशिक्षक बनेर आए । क्यानडालाई त्यही वर्ष एकदिवसीय विश्वकप खेलाएको ताजा अनुभव बोकेर उनी नेपाल भित्रिएका थिए । उनी आउनुअघि नेपाल विश्व क्रिकेट लिगको संरचनामा अड्किरहेको थियो । नतिजाको हिसाबमा दासानायके आएपछि नेपाली क्रिकेटले ठूलै उडान लियो । डिभिजन ४ मा रहेको नेपाल डिभिजन ४ र डिभिजन ३ जित्दै एकदिवसीय विश्वकप छनोटसम्म पुग्यो । दासानायके आउनुअघि नेपाल एसीसी ट्वान्टी–२० को सेमिफाइनलसम्म पनि पुग्न सकेको थिएन । उनकै प्रशिक्षणमा नेपाल २०११ मै एसीसी ट्वान्टी–२० को सेमिफाइनलमात्र पुगेन, २०१३ को अर्को संस्करणमा फाइनल पुग्यो । त्यहींबाट ट्वान्टी–२० विश्वकप छनोट हुँदै विश्व ट्वान्टी–२० मा पुगेको थियो । नेपाली टोलीका कप्तान थिए पारस खड्का । उनले भनेका थिए, ‘सबैले विश्वकप भनेर भन्थे, तर त्यहाँ पुग्ने बाटो कुन हो भनेर हामीलाई केही थाहा थिएन । पुबुदु सरले नै आएर त्यो बाटो देखाइदिनुभएको हो ।’
सजिलो छैन दोस्रो इनिङ्स
सफलताको हिसाबमा दासानायकेको ‘सीभी’ निकै बाक्लो र बलियो छ । तर दोस्रोपल्ट नेपालको प्रशिक्षकमा कार्य गर्न उनलाई त्यति सहज छैन । क्यान र केही खेलाडीहरूबीच जुहारी चलिरहेको अवस्थामा उनी नेपाल आउँदै छन् । सेन्ट्रल कन्ट्रयाक्टको असहमतिबाट सुरु क्यान र खेलाडीबीचको विवादले ठूलै रूप लिएको छ । केही खेलाडीले अझै क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा सम्झौता गरिसकेका छैनन् । दासानायकेले नेपाली क्रिकेटलाई ‘एउटा टिम’ रूपमा बनाएपछि ट्वान्टी–२० विश्वकप सम्भव भएको थियो । अहिले त्यहीं टिम गुट–उपगुटले छिन्नभिन्न छ । खेलाडीहरू एकअर्काको छाया पनि हेर्न नचाहने स्थितिमा छन् । खेलाडीहरूलाई एकजुट बनाउनु दासानायकेलाई पहिलो चुनौती हुनेछ । दासानायके २०१५ को नोभेम्बरसम्म नेपालको प्रशिक्षकमा रहे । त्यसपछि २०१६ को नामिबियासँगको घरेलु शृंखला र इंग्ल्यान्ड भ्रमणमा ब्याटिङ परामर्शदाताका रूपमा रहे । यस अवधिमा पारस, शक्ति गौचन, वसन्त रेग्मी नेपालको मुख्य हतियार थिए । यी तीनै खेलाडी नेपाली क्रिकेटबाट अलग भइसकेका छन् ।
शक्तिले तीन वर्ष र पारसले चार महिनाअघि खेलाडी जीवन टुंग्याइसकेका छन् भने वसन्त अमेरिका लागिसकेका छन् । वर्तमान खेलाडीबाट उनले पारस, शक्ति र वसन्तको लय भेट्टाउनुपर्नेछ । फेब्रुअरी १५ देखि ओमानमा ट्वान्टी–२० विश्वकप छनोट हुने तालिका छ । नेपालसँग दुई महिनामात्र समय छ । दासानायके डिसेम्बर २० भित्र नेपाल आइपुग्ने तालिका छ । त्यस हिसाबमा ट्वान्टी–२० विश्वकप छनोटमा नेपालसामु तयारीलाई दुई महिना कम समय छ । यति छोटो अवधिमा पूर्ण रूपमा नयाँ प्रशिक्षक ल्याउँदा उसलाई खेलाडीसँग भिज्नै समय लाग्ने हुनाले पनि क्यानको नजरमा दासानायके पहिलो प्राथमिकतामा परेका हुन् । क्यानले ट्वान्टी–२० विश्वकपलाई हेरेर मात्र दासानायकेलाई नल्याएको स्पष्ट देखिन्छ । क्यानले दासानायकेलाई दुई वर्षे सम्झौता दिएको छ । यसअघि क्यानले मुख्य प्रशिक्षकलाई ६ महिनादेखि वर्ष दिनको सम्झौता दिने गरेको थियो । अहिले सम्झौता अवधि दोब्बर बनाइएको छ । ‘मलाई विश्वास छ, उनको यो दुई वर्षे कार्यकालमा क्रिकेटले ठूलो उचाइ लिनेछ,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्तिमा भनेका छन् ।
( कान्तिपुर दैनिक )
