Fast Nepal News

फेरिएको ‘लुक्स’ मा सन्दीप

banner single news

काठमाडौँ — ८ भाद्र २०७८

काठमाडौँ, सन्दीप लामिछानेको ‘लुक्स’ विगतभन्दा केही भिन्न छ । बलिङ गर्नेक्रममा आफ्नो केही लामो कपाललाई उनी कालो र सेतो फरक ‘हेड ब्यान्ड’ लगाएर सम्हालिरहेका हुन्छन् । उनको जस्तै शैलीको कपाल दक्षिण अफ्रिकी भेट्रान बलर इमरान ताहिरको पनि छ । पछिल्लो स्थितिमा सन्दीपको यो ‘लुक्स’ इंग्लिस फुटबलर ज्याक ग्रेलिसको जस्तो देखिन्छ । एस्टन भिल्लाबाट १० करोड पाउन्डमा म्यानचेस्टर सिटीमा अनुबन्धित भएपछि ग्रेलिस इंग्ल्यान्डको सबैभन्दा महँगा खेलाडी बनेका छन् । सबै आफूअनुकूल हुन्थ्यो भने सन्दीपको कमाइ ग्रेलिसको जस्तो नभए पनि औसत नेपालीका लागि आरिसलाग्दो नै हुन्थ्यो ।तर पछिल्लो एक वर्षमा सन्दीपको हातबाट एकसेएक फ्रेन्चाइज लिग गुमिरहेको छ, भनौं गुमाइरहेका छन् ।

तीन साताका लागि नेपाली क्रिकेट टोलीसँग आईसीसी विश्वकप लिग २ का खेलहरू खेल्न ओमान भ्रमणमा जानुपर्ने भएपछि सन्दीपले क्यारेबियन प्रिमियर लिग (सीपीएल) गुमाउने भएका छन् । उनले खेल्न नपाउने भएको यो पछिल्लो फ्रेन्चाइज प्रतियोगिता हो ।विश्वका सबै फ्रेन्चाइज लिग खेल्ने खेलाडीमा पर्छन् सन्दीप । त्यसैले उनलाई ग्लोबल स्टार बनाएको हो । तर उनले जनवरी २६ मा बिग बासमा होबर्ट हरिकन्सबाट खेलेयता कुनै फ्रेन्चाइज प्रतियोगिता खेलेका छैनन् । त्यसयता उनीमाथि इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा कुनै भाउ लागेन । उनले ५० हजार डलर बेसप्राइस राखेका थिए । फेब्रुअरीमा अफगानिस्तानका स्टार रसिद खानको स्थान लिन उनी लाहोर पुगेका थिए । कोभिड–१९ का कारण पाकिस्तान सुपर लिग (पीसीएल) रोकिएपछि उनी एउटै खेल नखेलेर फर्किनुपरेको थियो ।

अर्को दुर्भाग्य, इंग्ल्यान्डमा दुई घरेलु प्रतियोगिता भयो । भिसा ढिला आएकाले उनले भाइटालिटी ब्लास्ट गुमाउन पुगे । पहिलो पटक आयोजना भएको द हन्ड्रेडका लागि इंग्ल्यान्ड पुगेर १० दिनको क्वारेन्टाइन अवधि सिध्याएपछि भिसा नमिलेका कारण उनी कुनै खेल नखेली फिर्ता भए । नेपालको ओमान भ्रमणको तालिकासँग जुधेपछि उनले सीपीएलबाट पनि आफ्नो नाम फिर्ता लिनुपरेको थियो ।यसले आफूलाई कुनै असर नपरेको दाबी सन्दीपको छ । ‘मलाई यसले खासै असर पार्दैन । एक–दुई दिन यसले दुखी त बनाउँछ, मनमा केही लाग्न सक्छ । तर जीवन चलिरहन्छ, चल्नु पनि पर्छ । यो सबै बिर्सेर अब के गर्ने हो भन्नेतिर लाग्नुपर्छ । भाग्य नै भन्नुपर्ला अहिले नेपालको खेल हुन लागेको छ । अझै २–३ महिना नै केही नभएको भए चित्त दुख्थ्यो होला । अब फेरि मैदानमा आएको छु, नेपाली टोलीसँगै रहेकाले खुसी छु,’ सन्दीप चित्त बुझाउने प्रयास गर्छन् ।

सन्दीपले द हन्ड्रेडमा ६० हजार पाउन्ड पारिश्रमिक पाइरहेका थिए । पीसीएल, द भाइटालिटी ब्लास्ट र सीपीएलको सम्झौता रकमबारे केही खुलाइएको छैन । तर विगतमा सीपीएल र पीसीएलमा लिएको पारिश्रमिक हेर्दा उनले यी चार प्रतियोगिता खेल्न नपाउँदा झन्डै २ लाख २० हजार डलर गुमाएको देखिन्छ । मान्यताप्राप्त ट्वान्टी–२० को १ सय २१ खेलमा उनले १ सय २८ विकेट लिइसकेका छन् ।उनी यसबाट हच्किएका छैनन् । राष्ट्रिय टोलीलाई प्राथमिकतामा राख्दा आफ्नो व्यावसायिक प्रगति यात्रामा अवरोध भएजस्तो लाग्दैन । ‘मैले क्रिकेट खेल्न सुरु गर्दा कहिल्यै पनि आईपीएल खेल्छु वा अरू कुनै प्रतियोगिता खेल्छु भनेर सोचेर खेलेको होइन । नेपालबाट खेल्ने उद्देश्यले खेलेको थिएँ, त्यसैले नेपाल जहिल्यै पनि मेरो पहिलो प्राथमिकतामा पर्छ, चाहे त्यो इस्टर्न रिजन वा त्योभन्दा सानो प्रतियोगिता नै किन नहोस्,’ नेपालबाट खेल्नुलाई महत्त्वपूर्ण ठान्दै उनले सुनाए, ‘राष्ट्र सधैंका लागि मेरो प्रमुख प्राथमिकता हो, त्यो हुनुपर्छ पनि । अब आउने पिँढीले पनि राष्ट्रलाई प्राथमिकता दिनु एकदमै जरुरी छ, किनभने हामी यही ठाउँबाट आएका हौं । त्यसैले पहिला राष्ट्र अनि विभिन्न फ्रेन्चाइज लिग ।’
Inside Article Ads

आफूलाई अहिले पनि प्रस्ताव आइरहेको सन्दीप जनाउँछन् । आफ्नो व्यावसायिक खेलमा कुनै असर नपरेको जनाउँदै उनले भने, ‘तीन वर्ष मैले जति फ्रेन्चाइज लिगमा खेलें, सबैमा राम्रो गरें । मेरा लागि खुसीको पक्ष भनेको अरू टिमहरूले अझै मलाई लिन चाहिरहेका छन् । दुर्भाग्य यस पटक सीपीएल पनि गुमाउन पुगें । यी सबै कुरा पछाडि छाड्दै अगाडि बढ्नु जरुरी छ । बिग बासलगायत अन्य प्रतियोगिता अझै बाँकी छन् । नेपाल टिमसँगको तालिका जुधेन भने फेरि खेल्नलाई कुनै समस्या नहोला अब ।’विश्वकप लिग २ ओमानमा सेप्टेम्बर १३ देखि २० सम्म हुनेछ । नेपालको खेल सेप्टेम्बर १९ मा सकिन्छ । अक्टोबर १७ देखि सुरु हुने ट्वान्टी–२० विश्वकपका कारण आईपीएलबाट धेरै विदेशी खेलाडीले नाम फिर्ता लिइरहेको समयमा सन्दीपको नाम पुनः विश्वको ग्ल्यामर्स लिगसँग जोडिएको छ । आईपीएल सेप्टेम्बर १९ देखि सुरु हुनेछ । आईपीएलमा छनोट भएमा ओमानबाट दुबई पुगेर क्वारेन्टाइन अवधि पूरा गर्दा उनले केही खेल गुमाउनुपर्ने हुन्छ । आईपीएल भएमा उनले एभरेस्ट प्रिमियर लिग (ईपीएल) गुमाउनेछन् । ईपीएलमा उनले काठमाडौं किंग्स ११ को कप्तानी गर्दैछन् ।

नोभेम्बरको दोस्रो साता ट्वान्टी–२० विश्वकप सकिने छ । नोभेम्बरमा नेपालको खेल हुने सम्भावना छ तर त्यो अवधिमा विश्वका अन्य कुनै फ्रेन्चाइज लिग हुने देखिँदैन । अस्ट्रेलियाको बिग बास डिसेम्बर ५ मा सुरु हुनेछ । गत वर्ष उनले बिग बास होबर्ट हरिकन्सबाट खेलेका थिए । त्यसअघिको दुई वर्ष उनले मेलबर्न स्टार्सबाट खेले । उनको बिग बासमा बढी सम्भावना देखिन्छ ।नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक २३ विकेट लिएका सन्दीप यतिबेला ओमान भ्रमणमै केन्द्रित छन् । ओमानमा तीव्र बलरलाई बढी सहयोग हुनसक्नेबारे उनी जानकार छन् । त्यसमा उनलाई चिन्ता छैन । ‘मैले यति ठाउँमा खेलिसकें, अब पिचलाई दोष दिन हुन्न । मैले सही स्थानमा बल फाल्ने हो भने मलाई लाग्छ सबैलाई गाह्रो नै हुन्छ । ओमानको पिच निश्चय नै फरक छ, घाँसे र फ्ल्याट विकेट छ, तर हामीसँग त्यहीअनुसारको टिम र योजना छ,’ उनी विश्वस्त देखिन्छन् ।

(कान्तिपुर दैनिक)

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.