
काठमाडौँ — ८ भाद्र २०७८
काठमाडौँ, सन्दीप लामिछानेको ‘लुक्स’ विगतभन्दा केही भिन्न छ । बलिङ गर्नेक्रममा आफ्नो केही लामो कपाललाई उनी कालो र सेतो फरक ‘हेड ब्यान्ड’ लगाएर सम्हालिरहेका हुन्छन् । उनको जस्तै शैलीको कपाल दक्षिण अफ्रिकी भेट्रान बलर इमरान ताहिरको पनि छ । पछिल्लो स्थितिमा सन्दीपको यो ‘लुक्स’ इंग्लिस फुटबलर ज्याक ग्रेलिसको जस्तो देखिन्छ । एस्टन भिल्लाबाट १० करोड पाउन्डमा म्यानचेस्टर सिटीमा अनुबन्धित भएपछि ग्रेलिस इंग्ल्यान्डको सबैभन्दा महँगा खेलाडी बनेका छन् । सबै आफूअनुकूल हुन्थ्यो भने सन्दीपको कमाइ ग्रेलिसको जस्तो नभए पनि औसत नेपालीका लागि आरिसलाग्दो नै हुन्थ्यो ।तर पछिल्लो एक वर्षमा सन्दीपको हातबाट एकसेएक फ्रेन्चाइज लिग गुमिरहेको छ, भनौं गुमाइरहेका छन् ।
तीन साताका लागि नेपाली क्रिकेट टोलीसँग आईसीसी विश्वकप लिग २ का खेलहरू खेल्न ओमान भ्रमणमा जानुपर्ने भएपछि सन्दीपले क्यारेबियन प्रिमियर लिग (सीपीएल) गुमाउने भएका छन् । उनले खेल्न नपाउने भएको यो पछिल्लो फ्रेन्चाइज प्रतियोगिता हो ।विश्वका सबै फ्रेन्चाइज लिग खेल्ने खेलाडीमा पर्छन् सन्दीप । त्यसैले उनलाई ग्लोबल स्टार बनाएको हो । तर उनले जनवरी २६ मा बिग बासमा होबर्ट हरिकन्सबाट खेलेयता कुनै फ्रेन्चाइज प्रतियोगिता खेलेका छैनन् । त्यसयता उनीमाथि इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा कुनै भाउ लागेन । उनले ५० हजार डलर बेसप्राइस राखेका थिए । फेब्रुअरीमा अफगानिस्तानका स्टार रसिद खानको स्थान लिन उनी लाहोर पुगेका थिए । कोभिड–१९ का कारण पाकिस्तान सुपर लिग (पीसीएल) रोकिएपछि उनी एउटै खेल नखेलेर फर्किनुपरेको थियो ।
अर्को दुर्भाग्य, इंग्ल्यान्डमा दुई घरेलु प्रतियोगिता भयो । भिसा ढिला आएकाले उनले भाइटालिटी ब्लास्ट गुमाउन पुगे । पहिलो पटक आयोजना भएको द हन्ड्रेडका लागि इंग्ल्यान्ड पुगेर १० दिनको क्वारेन्टाइन अवधि सिध्याएपछि भिसा नमिलेका कारण उनी कुनै खेल नखेली फिर्ता भए । नेपालको ओमान भ्रमणको तालिकासँग जुधेपछि उनले सीपीएलबाट पनि आफ्नो नाम फिर्ता लिनुपरेको थियो ।यसले आफूलाई कुनै असर नपरेको दाबी सन्दीपको छ । ‘मलाई यसले खासै असर पार्दैन । एक–दुई दिन यसले दुखी त बनाउँछ, मनमा केही लाग्न सक्छ । तर जीवन चलिरहन्छ, चल्नु पनि पर्छ । यो सबै बिर्सेर अब के गर्ने हो भन्नेतिर लाग्नुपर्छ । भाग्य नै भन्नुपर्ला अहिले नेपालको खेल हुन लागेको छ । अझै २–३ महिना नै केही नभएको भए चित्त दुख्थ्यो होला । अब फेरि मैदानमा आएको छु, नेपाली टोलीसँगै रहेकाले खुसी छु,’ सन्दीप चित्त बुझाउने प्रयास गर्छन् ।
आफूलाई अहिले पनि प्रस्ताव आइरहेको सन्दीप जनाउँछन् । आफ्नो व्यावसायिक खेलमा कुनै असर नपरेको जनाउँदै उनले भने, ‘तीन वर्ष मैले जति फ्रेन्चाइज लिगमा खेलें, सबैमा राम्रो गरें । मेरा लागि खुसीको पक्ष भनेको अरू टिमहरूले अझै मलाई लिन चाहिरहेका छन् । दुर्भाग्य यस पटक सीपीएल पनि गुमाउन पुगें । यी सबै कुरा पछाडि छाड्दै अगाडि बढ्नु जरुरी छ । बिग बासलगायत अन्य प्रतियोगिता अझै बाँकी छन् । नेपाल टिमसँगको तालिका जुधेन भने फेरि खेल्नलाई कुनै समस्या नहोला अब ।’विश्वकप लिग २ ओमानमा सेप्टेम्बर १३ देखि २० सम्म हुनेछ । नेपालको खेल सेप्टेम्बर १९ मा सकिन्छ । अक्टोबर १७ देखि सुरु हुने ट्वान्टी–२० विश्वकपका कारण आईपीएलबाट धेरै विदेशी खेलाडीले नाम फिर्ता लिइरहेको समयमा सन्दीपको नाम पुनः विश्वको ग्ल्यामर्स लिगसँग जोडिएको छ । आईपीएल सेप्टेम्बर १९ देखि सुरु हुनेछ । आईपीएलमा छनोट भएमा ओमानबाट दुबई पुगेर क्वारेन्टाइन अवधि पूरा गर्दा उनले केही खेल गुमाउनुपर्ने हुन्छ । आईपीएल भएमा उनले एभरेस्ट प्रिमियर लिग (ईपीएल) गुमाउनेछन् । ईपीएलमा उनले काठमाडौं किंग्स ११ को कप्तानी गर्दैछन् ।
नोभेम्बरको दोस्रो साता ट्वान्टी–२० विश्वकप सकिने छ । नोभेम्बरमा नेपालको खेल हुने सम्भावना छ तर त्यो अवधिमा विश्वका अन्य कुनै फ्रेन्चाइज लिग हुने देखिँदैन । अस्ट्रेलियाको बिग बास डिसेम्बर ५ मा सुरु हुनेछ । गत वर्ष उनले बिग बास होबर्ट हरिकन्सबाट खेलेका थिए । त्यसअघिको दुई वर्ष उनले मेलबर्न स्टार्सबाट खेले । उनको बिग बासमा बढी सम्भावना देखिन्छ ।नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक २३ विकेट लिएका सन्दीप यतिबेला ओमान भ्रमणमै केन्द्रित छन् । ओमानमा तीव्र बलरलाई बढी सहयोग हुनसक्नेबारे उनी जानकार छन् । त्यसमा उनलाई चिन्ता छैन । ‘मैले यति ठाउँमा खेलिसकें, अब पिचलाई दोष दिन हुन्न । मैले सही स्थानमा बल फाल्ने हो भने मलाई लाग्छ सबैलाई गाह्रो नै हुन्छ । ओमानको पिच निश्चय नै फरक छ, घाँसे र फ्ल्याट विकेट छ, तर हामीसँग त्यहीअनुसारको टिम र योजना छ,’ उनी विश्वस्त देखिन्छन् ।
(कान्तिपुर दैनिक)
