Fast Nepal News

साहजाद चितवनमा

banner single news

काठमाडौँ — ७ भाद्र २०७८

काठमाडौँ , अफगानिस्तानका आक्रामक ब्याट्सम्यान मोहम्मद साहजादले चितवन टाइगर्सबाट बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । साहजाद यसअघि पनि चितवन टाइगर्समा आबद्ध थिए, तर कोभिड–१९ को संक्रमण बढेसँगै ईपीएल स्थगित हुँदा उनी २०१९ मा नेपाल आएर खेल्न पाएका थिएनन् । ‘गत वर्ष जहाँ टुंगिएको थियो, त्यहींबाट साहजादलाई निरन्तरता दिन पाउँदा हामी निकै उत्साहित छौं । उनी एक स्थापित अन्तर्राष्ट्रिय क्रिकेटर रहेकाले उनको अनुभवले टाइगर्सको युवा ब्याटिङ लाइनअपलाई उत्साह र अनुभव प्रदान गर्नेछ,’ चितवनकी अप्रेसन डाइरेक्टर विनीता चौधरीले प्रेस विज्ञप्तिमा भनेकी छन् ।

छक्का प्रहार गर्ने छुट्टै शैली बनाएका विकेटकिपर ब्याट्सम्यान साहजाद अफगानिस्तानलाई क्रिकेटको एउटा शक्ति बनाउँदाका प्रमुख खेलाडी हुन् । माथिल्लोक्रमका यी दाहिने हाते ब्याट्सम्यानले अफगानिस्तानलाई सन् २०१० देखि चार पटक ट्वान्टी–२० विश्वकपमा पुर्‍याउँदा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । तर अफगानिस्तान क्रिकेट बोर्डसँगको खराब सम्बन्धका कारण उनले २०१९ को विश्वकपयता अफगानिस्तानबाट खेलेका छैनन् ।अफगानिस्तानले २०१८ मा भारतविरुद्ध आफ्नो पहिलो टेस्ट खेल्दाका सदस्य उनले २००९ मा नेदरल्यान्ड्सविरुद्ध एमस्टलभिनमा बनाएको १ सय १० रन अफगानिस्तानका खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक थियो । २०१८ को एसिया कपमा भारतसँग बनाएको शतक उनको विशेष इनिङ्समा पर्छ ।
उनले शतक पूरा गर्दा अफगानिस्तानको कुल स्कोर १ सय ३१ रनमात्र थियो । उनको १ सय २४ रनमा अफगानिस्तानले २ सय ५२ रन बनाउँदै भारतसँगको सो खेल टाईमा टुंग्याएको थियो ।‘काठमाडौंमा छक्का वर्षा गर्नलाई आतुर छु । नेपालका प्रशंसक विश्वकै धैर्यवान प्रशंसक हुन् । चितवनबाट खेलेर सबैलाई मनोरञ्जन प्रदान गर्न तयार छु,’ चितवनको प्रेस विज्ञप्तिमा साहजादले भनेका छन् । उनले अफगानिस्तानबाट कुल ८४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै ६ शतक र १४ अर्धशतकसहित २ हजार ७ सय २७ रन बनाएका छन् । उनको औसत ३३ माथि रहेको छ । त्यस्तै ६५ ट्वान्टी–२० अन्तर्राष्ट्रियमा उनले १ सय ३४ माथिको स्ट्राइकर रेटमा झन्डै २ हजार रन बनाएका छन् । एकदिवसीयमा अविजित १ सय ३१ र ट्वान्टी–२० मा अविजित १ सय १८ रन उनको उच्च स्कोर हो । साहजादसँग बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, अबुधावी ट्वान्टी–१० लिग, अफगानिस्तान प्रिमियर लिगमा खेलेको अनुभव छ ।
Inside Article Ads

उनको दक्षता सीमित ओभरको क्रिकेटमा मात्र छैन । क्यानडाविरुद्ध २०१० को अन्तरमहादेशीय कपमा उनले चौथो इनिङ्समा नटआउट २ सय १४ रन बनाएपछि अफगानिस्तानले ४ सय ९४ रनको लक्ष्य पूरा गरेको थियो । साहजादले २०१६ आईसीसी एसोसिएट एन्ड एफिलिएट क्रिकेट वर्षको उपाधि जितेका थिए । यो उपाधि जित्ने अफगानिस्तानका पहिलो खेलाडी हुन् । त्यसको अर्को वर्ष उनले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा एकै दिन दुई अर्धशतक बनाएर दुर्लभ कीर्तिमान हात पारेका थिए ।सोमपाल कामीको कप्तानीमा उत्रिन लागेको चितवनले यसअघि पाकिस्तानका डानिस एजिजलाई लिइसकेको छ । ईपीएलको तेस्रो संस्करण असोज ९ गतेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

(कान्तिपुर दैनिक)

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.