
काठमाडौँ — ७ भाद्र २०७८
काठमाडौँ , अफगानिस्तानका आक्रामक ब्याट्सम्यान मोहम्मद साहजादले चितवन टाइगर्सबाट बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । साहजाद यसअघि पनि चितवन टाइगर्समा आबद्ध थिए, तर कोभिड–१९ को संक्रमण बढेसँगै ईपीएल स्थगित हुँदा उनी २०१९ मा नेपाल आएर खेल्न पाएका थिएनन् । ‘गत वर्ष जहाँ टुंगिएको थियो, त्यहींबाट साहजादलाई निरन्तरता दिन पाउँदा हामी निकै उत्साहित छौं । उनी एक स्थापित अन्तर्राष्ट्रिय क्रिकेटर रहेकाले उनको अनुभवले टाइगर्सको युवा ब्याटिङ लाइनअपलाई उत्साह र अनुभव प्रदान गर्नेछ,’ चितवनकी अप्रेसन डाइरेक्टर विनीता चौधरीले प्रेस विज्ञप्तिमा भनेकी छन् ।
उनको दक्षता सीमित ओभरको क्रिकेटमा मात्र छैन । क्यानडाविरुद्ध २०१० को अन्तरमहादेशीय कपमा उनले चौथो इनिङ्समा नटआउट २ सय १४ रन बनाएपछि अफगानिस्तानले ४ सय ९४ रनको लक्ष्य पूरा गरेको थियो । साहजादले २०१६ आईसीसी एसोसिएट एन्ड एफिलिएट क्रिकेट वर्षको उपाधि जितेका थिए । यो उपाधि जित्ने अफगानिस्तानका पहिलो खेलाडी हुन् । त्यसको अर्को वर्ष उनले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा एकै दिन दुई अर्धशतक बनाएर दुर्लभ कीर्तिमान हात पारेका थिए ।सोमपाल कामीको कप्तानीमा उत्रिन लागेको चितवनले यसअघि पाकिस्तानका डानिस एजिजलाई लिइसकेको छ । ईपीएलको तेस्रो संस्करण असोज ९ गतेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।
(कान्तिपुर दैनिक)
