Fast Nepal News

प्रतिष्ठाको लडाइँ बन्दै उपनिर्वाचन

राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाइरहेको उपनिर्वाचनमा मुख्यगरी कांग्रेस, रास्वपा र जसपालाई अस्तित्व जोगाउने चुनौती

banner single news

प्रतिनिधिसभाको तीन क्षेत्रमा हुन लागेको उपनिर्वाचनलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । उपनिर्वाचनको तरंगले काठमाडौंलाई समेत तताएको छ ।

वैशाख १० मा हुने उपनिर्वाचनका लागि तनहुँ, चितवन र बारामा सोमबार उम्मेदवारी मनोनयन भएको छ । राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाइरहेको उपनिर्वाचनमा मुख्यगरी कांग्रेस, रास्वपा र जसपालाई अस्तित्व जोगाउने चुनौती छ ।
रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त तनहुँ–१ मा ९ जनाको उम्मेदवारी परेको छ, तर कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्लेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । भट्टराई नेविसंघका पूर्वअध्यक्ष हुन् ।
आफूभन्दा पछिका अध्यक्ष र महामन्त्री संसदीय फाँटमा आइसक्दा भट्टराईले भने पहिलोपल्ट अवसर पाउँदै छन् । पूर्वप्रहरी महानिरीक्षक खनाल मंसिर ४ को निर्वाचनमा काठमाडौं–६ बाट पराजित भएका थिए । गृहजिल्लासमेत भएकाले एमालेले उनलाई दोहोर्‍याएर उम्मेदवार बनाएको हो । पाँच दिनअघि कांग्रेस त्यागेका वाग्ले रास्वपा प्रवेश गरेर उम्मेदवार बनेका हुन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवा र श्रीमती आरजु राणा देउवाप्रति गम्भीर आरोप लगाउँदै कांग्रेस त्यागेका थिए ।

 

Inside Article Ads

पार्टी गठनको छोटो समयमै आमनिर्वाचनमा होमिएर उल्लेख्य सिट जितेपछि रास्वपाले राष्ट्रिय राजनीतिमै हलचल पैदा गराएको थियो । यसबीच संसद् र सरकारमा समेत सहभागी भएको रास्वपाको जनाधार मापन गर्ने आधारका रूपमा चितवन–२ को निर्वाचनलाई हेरिएको छ । रास्वपा सभापति रवि लामिछानेको नागरिकता विवादमा सांसद पद खारेज भएपछि चितवन–२ रिक्त भएको हो । कांग्रेस र एमालेले लामिछानेसँग यसअघि प्रतिस्पर्धा गरेका उम्मेदवारलाई टिकट नदिएर नयाँ अनुहारलाई अघि सारेका छन् । कांग्रेसले पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठ र एमालेले रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएका छन् । यसअघि कांग्रेसबाट उमेश श्रेष्ठ र एमालेबाट कृष्णभक्त पोखरेल प्रतिस्पर्धामा थिए ।

बारा–२ को निर्वाचनलाई समग्र मधेश राजनीतिको शक्तिसंघर्षको विषय बनाइएको छ । मधेशको राजनीतिमा मुख्य नेता को हुने भन्नेमा जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच प्रतिस्पर्धा छ । चार महिनाअघि सप्तरी–२ मा राउतसँग चुनाव हारेका यादवको उम्मेदवारीलाई सत्ता गठबन्धनका मुख्य दलको समर्थन छ । सत्ता गठबनन्धनमै रहेका राउतले भने माओवादी नेता शिवचन्द्र कुशवाहालाई पार्टी प्रवेश गराएर यादवविरुद्ध उम्मेदवार बनाएका छन् ।

समाचार आजको कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.