
१ फागुन, काठमाडौँ -राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुन: चितवन–२ मा उम्मेदवार हुने तयारी गरेका छन् ।चितवन क्षेत्र नम्बर–२ मा निर्वाचन आयोगले २०८० वैशाख १० मा उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।
-निर्वाचन आयोगले चितवन २ मा आगामी १० वैशाखमा उपनिर्वाचन गर्ने घोषणा गरेको छ । आयोगको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम चितवन २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधिसभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गर्ने व्यवस्था छ । गत ४ मंसिरमा भएको निर्वाचनअनुसार प्रतिनिधिसभाको कार्यकाल साढे चार वर्षभन्दा धेरै बाँकी छ ।
१३ माघमा सर्वाेच्च अदालतले चितवन २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेको नेपाली नागरिकता कायम नरहेको भन्दै सांसद पद बदर गरेको थियो । अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत् रूपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा नगर्दा उम्मेदवार नै बन्न नपाउने अवस्थामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई कायम रहन नमिल्ने फैसलापछि रिक्त भएको चितवन २ मा आयोगले उपनिर्वाचनको मिति तोक्दै निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो ।
आयोगले निर्वाचन कार्यक्रमसमेत सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रमअनुसार १ फागुनदेखि १६ चैतसम्म मतदाता नामावली अद्यावधिक गर्ने अवधि तोकिएको छ । २०–२२ चैतसम्म उम्मेदवारको मनोनयन दर्ता, उजुरी, जाँचबुझ, नामावली प्रकाशन गर्ने कार्यतालिका छ । २३ गते नाम फिर्ता तथा अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम तोकिएको छ ।
पुनः उम्मेदवार बन्ने योजनासहित केही दिनअघि चितवन पुगेका लामिछानेले मतदाता भेटेर चुनाव तयारी थालिसकेका छन् । कानुनी रूपमा आवश्यक प्रक्रिया पनि पूरा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा लामिछानेलाई उम्मेदवार बनाउने बताइसकेको छ ।
