
शिक्षासचिव गोपी मैनाली मंगलबार केसीलाई भेट्न शिक्षण अस्पताल गएका हुन्। सत्याग्रह बसेको २३ दिनमा डा. गोविन्द केसीलाई भेट्न सरकारी टोली त्रिवि शिक्षण अस्पताल गएको हाे।
केसीलाई भेटेर सचिव मैनालीले सत्याग्रह स्थगित गर्न अनुरोध गरेका थिए।
तर, केसीले सत्याग्रह स्थगित नगर्ने अडान राखे। उनले सरकारका प्रवक्ताकै भनाइअनुसार नै अभिव्यक्ति आएको र त्यसका लागि दु:ख गरिरहन नपर्ने बताएका थिए।
केसीका सहयोगी प्रितम सुवेदीकाअनुसार‘शिक्षा सचिव र उहाँसँग अरू दुई जना आउनुभएको थियो, दस मिनेटजति बसेर फर्किनुभयो ‘सरले औपचारिक रूपमा वार्ता समिति गठन गरेर कुरा गर्न आउन भन्नुभयो।’ केसीले विभिन्न ६ बुँदे माग राखेर जुम्लामा अनसन थालेका थिए। उनको स्वास्थ्य अवस्था जटिल हुन थालेपछि जुम्लाबाट काठमाडौं ल्याइएको थियो।
केसी सत्याग्रहमा लामो समयदेखि बस्दा अस्वस्थ र गम्भीर बन्दै गए पनि सरकारले वार्ताका लागि कुनै पहल गरेको छैन।