Fast Nepal News

उखु जस्तै पेलिए किसान !

banner single news

काठमाडौं – मंसिर २९

उखु नगदे बाली। तर किसान सधैं उधारोमा कारोबार गर्न बाध्य छन्। किसानले वर्षौंदेखि उखु बेचेको बक्यौता रकम भुक्तानी पाएका छैनन्। किसानका अनुसार करिब ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ।

उखु क्रसिङ गर्ने सिजन सुरु भयो। किसान उखु लिएर मिलमा जानुपर्ने बेला विगतको बक्यौता रकम पाउनुपर्ने माग गर्दै राजधानी आएका छन्। पोहोर काठमाडौं आएर आन्दोलन गरेपछि बक्यौता रकम पाउने आश्वासन पाएर घर फर्केका किसानले एक वर्षसम्म पनि रकम नपाएपछि फेरि आइतबारदेखि माइतीघरमा आन्दोलन सुरु गरेका छन्।

उखु उद्योगीबाट सधैं पेलिएको किसानको गुनासो छ। करिब साढे तीन लाख रुपैयाँ बक्यौता रकम नपाएपछि आन्दोलन गर्न काठमाडौं आएको सर्लाहीका किसान रामबाबु मण्डलले बताए। ‘२०७१ सालदेखिको रकम खप्टिँदै आएको छ,’ माइतीघरमा भेटिएका मण्डलले भने, ‘चिनी उद्योगले भुक्तानी दिन आलटाल गर्दै आएका छन्।’ मण्डलले महालक्ष्मी सुगर मिलबाट भुक्तानी लिन बाँकी छ। उखु जस्तै आँफूहरु पेलिएको किसानको दुखेसो छ।

Inside Article Ads

किसानले उत्पादन गरेको उखुबाट चिनी बनाएर उद्योगी मोटाए पनि उखु किसानले उखुजस्तै पेलिएको महसुस गर्दै आएका छन्। वर्षौंदेखि उखु बिक्री गरेबापतको रकम भुक्तानी नपाएपछि किसानले राजधानी केन्द्रित आन्दोलन सुरु गरेका हुन्। किसान मार्न पाइँदैन, सरकार किसानलाई बाँच्ने अधिकार देऊ, हाम्रो मेहनतको फल नखोस, आफ्नो पसिनाको फल नखोस जस्ता नारा लेखिएका प्ले कार्ड लिएर करिब एक सय किसान प्रदर्शनमा उत्रिएका थिए। विभिन्न जिल्लाबाट आएर दिउँसो माइतीघरमा प्रदर्शन गरेका किसान बेलुका गौशालास्थित धर्मशालामा बसेका छन्।

मुलुकभर १४ चिनी उद्योग छन्। तीमध्ये ६ उद्योगले किसानलाई ८९ करोड ४० लाख रुपैयाँभन्दा धेरै रकम तिर्न बाँकी छ। चारवटा उद्योग बन्द भइसकेका छन्। रौतहटमा रहेको श्रीराम सुगर मिलको ३५ करोड, सर्लाहीको अन्नपूर्ण सुगर मिलको ३० करोड, महालक्ष्मी सुगर मिलको ६ करोड, नवलपरासीको लुम्बिनी चिनी मिलको १० करोड, इन्दिरा सुगर मिल नवलपरासीको आठ करोड र बागमती खाँडसरी चिनी मिलको ४० लाख रुपैयाँ बक्यौता बाँकी रहेको किसानले बताएका छन्।

अन्नपूर्ण चिनी उद्योग सर्लाही, श्रीराम सुगर मिल रौतहट, लुम्बिनी चिनी कारखाना नवलपरासी र इन्दिरा चिनी मिल नवलपरासी बन्द भएका छन्। सर्लाहीका किसानको मात्र ३६ करोड रुपैयाँ बक्यौता छ। अन्नपूर्ण सुगर मिलले ३० करोड र महालक्ष्मी सुगर मिलले ६ करोड रुपैयाँ रकम तिर्न बाँकी रहेको सर्लाहीका उखु किसान राकेश मिश्रले बताए। रकम भुक्तानीको माग गर्दै करिब दुई सय किसान राजधानी आएको मिश्रले बताए। यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.