Fast Nepal News

अन्नको ठाउँमा गाँजा, प्रहरी वर्सेनि फाँड्छ, गाउँले फेरि लगाउँछन्

banner single news

नारायणखोला— आश्विन २६, २०७७।

सडक सञ्जालमा नजोडिएको सर्लाहीको उत्तरी चुरेभेगस्थित नारायणखोला जिल्लाको सबै भन्दा दुर्गम ठाउँ मानिन्छ । लालबन्दी नगरपालिका वडा नम्बर १४ मा पर्ने नारायणखोला पुग्न खोलाको बगर प्रयोग गर्नुपर्छ । लालबन्दी बजारदेखि पत्थरकोटको छेडा गाउँसम्म सडक पुगेपनि त्यहाँबाट उत्तरतर्फ नारायणखोलासम्म पुग्न लखन्देही खोलाको बगर प्रयोग गर्नुपर्ने हुन्छ ।

प्राकृतिक रुपमा सुन्दर यस ठाउँका वासिन्दाले केही वर्षअघिसम्म भीर पाखोका बारीमा मकै, कोदो, फापर लगायतका बाली प्रशस्तै लगाउँथे । तर अहिले बारीमा त्यस्ता बाली देख्न मुस्किल पर्छ । अधिकांशले मज्जासँगले गोडमेल गरेर गाँजा खेती गरेका छन् । दुर्गम भएकाले कुनै भवितव्य पर्दा मात्रै प्रहरी प्रशासन पुग्ने त्यहाँका स्थानीयहरुले केही वर्ष अघिबाट ढुक्कसँग गाँजाको खेती गर्न थालेका हुन् । ‘कोदो, मकै रोप्दा आफैलाई खान पुग्दैन्, बरु गाँजा लगाउँदा राम्रो आम्दानी हुन्छ, नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीयले गोरखापत्रसँग भन्नुभयो, उत्पादन मात्रै गर्नुपर्छ, बिक्रीको कुनै चिन्ता हुँदैन्, किन्ने मान्छे घरमै आइपुग्छन् ।’

नारायणखोलामा धान खेती हुने फाँट भने छैन् । स्थानीयहरुले चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न लालबन्दी बजारबाटै किनेर लाग्छन् । ठाउँ विकट भएपनि यहाँका स्थानीय वासिन्दाको आर्थिक अवस्था राम्रै छ । प्रत्येक घरका एक जना सदस्य वैदेशिक रोजगारीमा गएका छन् । कुनै घरबाट त तीन÷चार जनासम्म पनि वैदेशिक रोजगारीमा गएको पाइन्छ ।

वैदेशिक रोजगारीमा गएकाहरु बाहेक गाउँमा रहेकाहरुको काम गाँजा खेती गर्ने हो । स्रोतका अनुसार स्थानीयहरुलाई गाँजा खेती गर्न भारतीयहरुले सहयोग गर्छन् । गाँजा खेतीमा कुनै प्रकोप लागे सल्लाह सुझाव दिन विज्ञहरु भारतदेखि नै आइपुग्छन् । उत्पादित गाँजा बिक्रीका लागि पनि लुकाईछिपाई भारतनै पु¥याउने गरिन्छ ।
नारायणखोलामा त्यसरी गरिने गाँजा खेती नष्ट गर्न प्रहरी पनि बेला–बेलामा पुग्छ । शनिवार ईलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटबाट गएको प्रहरी टोलीले नारायणखोलाको विभिन्न क्षेत्रमा दुई बिघा १० कठ्ठामा लगाएको गाँजा खेती नष्ट गरेर फर्किएको छ ।

Inside Article Ads

ईलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक निर्मल थापाको नेतृत्वमा गएको प्रहरी टोलीले मोटर दोभान, सत्रकठ्ठा, माईस्थान, हात्तीसुँढे लगायतका स्थानमा लगाइएको गाँजा खेती नष्ट गरेको हो । गाँजा खेती भइरहेको सूचना पाएर जाँदा निकै मिहिनेतसँग गोडमेल गरेर गाँजा खेती गरिएको पाइएको प्रहरीले जनायो ।

घरकै करेसा बारीमा प्रहरीले गाँजा खेती नष्ट गरिरहँदा गाउँले कोही देखा परेनन् । ‘हामीले सूचना पाएसम्मको गाँजा नष्ट गरेका हौँ, अब हाम्रो त्यहाँ निगरानी भइरहन्छ, सर्लाहीका प्रहरी उपरीक्षक (एसपी)सन्तोष सिंह राठौरले भन्नुभयो, हाम्रो टोली गाँजा फाँड्न त्यहाँ पुग्दा सन्नटा नै छाए झैँ गाउँले कोही देखा परेनन् ।’ प्रहरी उपरीक्षक राठौरका अनुसार खोलाको बाटो बाढी आएर बिगारेकाले गर्दा गाडी जान नसक्ने भएकाले गाँजा फडानी गर्न गएका प्रहरी ट्याक्टर चढेरै नारायणखोला पुगेका थिए ।

नारायणखोलामा प्रहरीले गत वर्षको माघमा मात्रै ठूलो क्षेत्रमा लगाएको गाँजा खेती नष्ट गरेको थियो । गाँजा फडानी गर्न तत्कालिन प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक विरोदराज श्रेष्ठ आफै पनि नारायणखोला पुग्नु भएको थियो ।

सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा एउटा टोली केही दिन नारायणखोलाको केन्द्र मोटरदोभानमै बसेर देखे र सूचना पाएसम्मको क्षेत्रमा लगाइएको गाँजा फडानी गरेर फर्किएको थियो । प्रहरीले गत वर्ष फडानी गरेकै ठाउँमा समेत यो वर्ष गाँजा लगाइएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.