Fast Nepal News

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, थपिए ७ मन्त्री

एमालेका ३, माओवादी २, जनमत र राप्रपाका १/१ मन्त्री नवनियुक्त मन्त्रीको आइतबार शपथ कार्यक्रम

banner single news

२९ माघ,रूपन्देही — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री गिरिको सिफारिसमा प्रदेश प्रमुख अमिक शेचरनले थप ७ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकको निर्णयअनुसार प्रदेश प्रमुख शेरचनले एमालेबाट विष्णुप्रसाद पन्थी, दुर्गाप्रसाद चौधरी र तुलसीराम शर्मालाई मन्त्रीमा नियुक्त गरेका छन् । त्यस्तै माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित थारु, जनमत पार्टीबाट चन्द्रकेश गुप्ता र राप्रपाबाट जानकीप्रसाद यादवलाई नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले आइतबार १ बजे शपथ ग्रहणको समय निर्धारण गरेको छ । शपथग्रहणका लागि प्रदेश प्रमुखको कार्यालयले शनिबारदेखि नै दाङको देउखुरीमा तयारी सुरु गरेको छ ।

प्रदेश प्रमुखको सचिवालयका अनुसार माओवादीका संसदीय दलका नेता जोखबहादुर महरा आर्थिक मामिलामन्त्री, एमालेका चेतनारायण आचार्य खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री, माओवादीका इन्द्रजित थारु भौतिक पूर्वाधार विकासमन्त्री, एमालेका विष्णुप्रसाद पन्थी स्वास्थ्यमन्त्री, माओवादीकी कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री, एमालेका दुर्गाप्रसाद चौधरी वन तथा वातावरणमन्त्री, राप्रपाका जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री, तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्थामन्त्री र जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्रीमा नियुक्त भएका छन् ।

एमालेका आचार्य र माओवादीका केसी यसअघि नै मन्त्री नियुक्त भए पनि जिम्मेवारीविहीन थिए । सत्ता गठबन्धनमा आबद्ध दलहरुको सहमतिअनुसार एमालेले मुख्यमन्त्रीसहित ५, माओवादीले आर्थिक मामिलासहित ३, जनमत र राप्रपाले १/१ मन्त्रालय पाएका छन् । जसपा सरकारमा सहभागी भएको अवस्थामा एमालेले एक मन्त्रालय जसपालाई दिने पनि सहमति छ ।

Inside Article Ads

माओवादीबाट तुलाराम घर्ती सभामुख र राप्रपाबाट मेनुका खाँण केसी उपसभामुख निर्वाचित भइसकेका छन् । प्रदेशसभामा ४ सदस्य रहेको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गर्दै विश्वासको मत दिए पनि सरकारमा सहभागी नहुने भएको छ । त्यस्तै प्रदेशसभा ३/३ सदस्य रहेको जसपा र लोसपाले पनि केन्द्रमा सरकारलाई समर्थन गरेर सरकारमा सहभागी नभएकाले प्रदेशमा पनि त्यही नीति लिएका छन् ।

लुम्बिनी प्रदेशमा पुस २७ गते सरकार गठन भएको थियो । माघ ५ गते मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका थिए । विश्वासको मत दिने बेला प्रदेशसभामा रहेका १० दलमध्ये ८ दलका ५६ र २ स्वतन्त्र गरी ५८ प्रदेशसभा सदस्यले समर्थन गरेका थिए । तर, मतदानमा भने ५७ प्रदेशसभा सदस्य सहभागी थिए ।

सरकारका प्रवक्ता एवं एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले प्रदेश प्रमुखले मन्त्रिपरिषद् विस्तार गरेको र आइतबार शपथग्रहण कार्यक्रम तय भएको बताए ।

समाचार आजको कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

 

 

Visited 24 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.