
लमजुङ, राइनास नगरपालिकामा अवस्थित राइनासटार सिँचाइ आयोजनाको अध्यक्षमा नेकपा एमालेका रामचन्द्र भट्ट विजयी हुनुभएको छ। वैशाख १६ गते सम्पन्न निर्वाचनमा भट्टले १३४ मत प्राप्त गरी विजय हासिल गर्नुभयो। उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नुरराज कडरियाले ७९ मत र नेकपा माओवादी केन्द्रका माधवप्रसाद पराजुलीले ४ मत प्राप्त गरे।
निर्वाचन समितिका संयोजक विजय गुरुङका अनुसार उपाध्यक्षमा नेपाली काँग्रेसकी निर्मला चिलुवालले १०९ मतसहित विजयी हुनुभयो भने माओवादी केन्द्रकी कृष्णमाया न्यौपानेले ९० मत प्राप्त गरिन्। सचिवमा माओवादी केन्द्रका टिकाराम त्रिपाठी निर्विरोध निर्वाचित भए। कोषाध्यक्षमा माओवादी केन्द्रकी निर्मला न्यौपाने ८७ मतसहित विजयी हुँदा नेपाली काँग्रेसका सन्दिप पाण्डेले ६९, स्वतन्त्र उम्मेदवार एकनारायण श्रेष्ठले ३६ र माओवादी केन्द्रकै ओजराज कट्टेलले ६ मत प्राप्त गरे।
कूल २४० वैध मतदातामध्ये २३२ जनाले मतदान गरेर ९६.६६ प्रतिशत मत खसेको थियो। जसमध्ये १३ मत बदर भएको गुरुङले जानकारी दिए।
देशकै दोस्रो ठूलो पहाडी सिँचाइ आयोजना
वि.सं. २०५२ देखि सञ्चालित राइनासटार सिँचाइ आयोजना देशको उच्च पहाडी भेगको दोस्रो ठूलो सिँचाइ आयोजना हो। २१ किलोमिटर लामो यो आयोजनाले १,१०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउँदै १३,००० जनसंख्यालाई प्रत्यक्ष लाभान्वित गराएको छ। राइनास नगरपालिका–१ देखि ७ सम्मका बासिन्दाको जीविकासँग जोडिएको यो आयोजना क्षेत्रको समृद्धिको आधारस्तम्भ मानिन्छ।
नवनिर्वाचित नेतृत्वले आयोजनाको प्रभावकारिता र दिगोपनमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।
