खुंखार सनकी तानाशाह एडोल्फ हिटलरको जर्मनी पूर्णरुपमा परास्त भैसकेको थियो। सपनाको विश्व राजधानी बर्लिन र सिंगो जर्मनी मित्रराष्ट्र सेनाको कब्जामा परिसकेको थियो। भर्खरै दोश्रो विश्वयुद्ध समाप्त भएको थियो।तर युद्ध पिपासु शक्ति राष्ट्रहरुलाई बिना युद्ध चैन हुने कुरै थिएन।स्वभावतः शक्ति राष्ट्रहरु बीच अर्को युद्ध शुरु भैसकेको थियो, छदम युद्ध। जसलाई हामी शीत युद्ध/ Cold War भनेर जान्दछौ। शीत युद्धको समय पुरै विश्व परोक्ष/अपरोक्ष रुपमा दुई राजनीतिक धुरीमा बिभाजित थियो। पूंजीवादी गठबन्धन अमेरिकी नेतृत्वमा गोलबद्ध थियो भने साम्यवादी गठबन्धन तत्कालीन सोभियत संघको नेतृत्वमा गोलबद्ध थियो।अब यी दुई देशको सामरिक होडबाजी धरतीको सिमाना नाघेर अन्तरिक्षतिर विस्तारित हुँदै थियो। फेरि के हुने हो भनी सम्पुर्ण विश्व सन्त्रस्त थियो।हिरोसिमा र नागसाकी ताजै थियो, मृत्यु शिविरहरुबाट मानवताको नमिठो गन्ध आइरहेको थियो ।आशंका र भयको कालो बादलले पुरै विश्वलाई ढाकेको थियो। पुरै दुनियाँ बली चढ्नु अघिको पशु जस्तो निरीह बनेको थियो। यस्तै यस्तै परिवेश र तिब्र होडबाजीको पृष्ठभूमिमा लुना नामक सोभियत रकेट अन्तरिक्षमा हुइकिन्छ, पहिलो अन्तरिक्ष यात्रीको रुपमा रुसी बैज्ञानिक युरी गागरिनलाई बोकेर।आशंका र कौतुहलताको साथ सारा विश्वभरी फैलिएको ऎतिहासिक दुर्लभ सनसनीपूर्ण घटना सेलाउन नपाउदै , रुसी बैज्ञानिक युरी गागरिन भने अन्तरिक्षमा चक्कर लगाएर , पृथ्वी लगायत ब्रह्माण्डलाई एक विलकुल नवीन अवस्थितीबाट नियालेर, ब्रह्माण्डको नयाँ क्षितिज उघारेर एक विलकुल नवीन अनुभव र दृष्टि बोकेर धरतीमा ओर्लदै थियो।सारा संसार र संसारभरिका पत्रकारहरुको चासो उनीमाथि केन्द्रित हुनु स्वभाविक थियो।जसै उनी रुसी अन्तरिक्ष केन्द्रमा सकुशल ओर्ले, स्वभाविक रुपमा सबैको घेराबन्दीमा परिहाले। प्रश्नहरुको/जिज्ञासाहरुको बर्षा हुनु स्वभाविक थियो।तर अनुमान विपरित पहिलो प्रश्न नै अन्तिम प्रश्न बन्न पुग्यो। कसैको प्रश्न/जिज्ञासा थियो-तपाईं पुगेर आउनु भएको अन्तरिक्ष कस्तो छ? त्यहाँ तपाईंले के पाउनु/ भेट्नु भयो ?? ….केहीबेर सन्नाटा छाउछ….एकातिर रुसीहरु हामी भन्दा अघि भए, विशेष केही पाउन सफल भए कि भनी अमेरिकीहरुमा भय र त्रास थियो। अर्कोतिर ऊनी रुसीहरुको आशा, भरोसा र सपना बोकेर रकेटिएका थिए। उनले के भन्ने हुन् भन्ने सबैतिर जबर्जस्त प्रतीक्षा थियो।धीर गम्भीर, शान्त स्वरमा उनी भावविभोर भएर बोल्न शुरु गर्छ- जब म अन्तरिक्षमा पुगे, आश्चर्यचकित भए। हाम्रो प्यारो सुन्दर धरती मेरो आंखा सामुन्ने घुमिरहेको थियो-ठुलो, चहकिलो अनि अति सुन्दर।त्यसपछि एउटा रुसी हुनुको नाताले स्वभाविक रुपमा मैले मेरो प्यारो मातृभुमी सोभियत रुस खोजे….तर कहिँकतै देखिन्/भेटिन् , पटक पटक खोजे तैपनी देखिन्/ भेटिन्। त्यसपछि शत्रु देश अमेरिका खोजे…तर त्योपनि कतै देखिन्/ भेटिन्, पटक पटक खोजे…अहं कहिकतै देखिन्/भेटिन्। जति पटक हेरेपनि, जति पटक खोजेपनि हाम्रो प्यारो सुन्दर सिंगो धरती मात्र देखें मैले……यसरी एक निश्चित उचाईमा पुगेपछि मानव निर्मित कृत्रिम सीमारेखाहरु परस्परमा अतिक्रमित भई विलिन हुँदै जानु र क्रमश: सम्पुर्णताको दृष्टिगोचर हुँदै जानु स्वभाविक भइदिन्छ। सायद त्यो क्षण विश्व चेतना र दृष्टि, विश्व मानवको स्वर बनेर संसारभरी प्रतिध्वनित भैरहेको थियो। त्यसछि केहि बाकी रहेन…न सोधिनु पर्ने, न त भनिनु पर्ने नै।
TRENDING