Fast Nepal News

सन्तोष साह ‘बीबीसी मास्टर सेफ’को टप ८ मा

banner single news

लन्डन — मंसिर २४, २०७७।

पाककलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् यूके’ को सेमिफाइनल राउन्डभन्दा माथि अर्थात टप ८ मा पर्न सफल भएका छन् ।

मंगलबार राति ‘बीबीसी वान’ मा प्रसारित सेमिफाइनलबाट उनी अघिल्लो राउन्डका लागि छनोट भएका हुन् प्रतियोगिताको सेमिफाइनल राउन्ड प्रवेश गरेका १० प्रतियोगीलाई दुई समूहमा प्रतिस्पर्धा गराइएको थियो । दुवै समूहबाट ४, ४ जना छनोट गरेर कूल ८ जनालाई अघिल्लो राउन्डमा पुरयाइएको हो । पहिलो राउन्डमा उत्कृष्ट प्रदर्शन गर्नेमध्ये तीन जना सिधै अर्को चरणमा लैजाने क्रममा सन्तोष पनि उत्कृष्ट तीनमै पर्न सफल भएका हुन् ।

अब ८ जना सेमिफाइनलिस्ट प्रतियोगीबीच अर्को एक चरणको प्रतिस्पर्धा गराएर फाइनल राउन्डका लागि ६ जना छनोट गरिनेछ । जुन शृंखला बिहीबार प्रसारण हुनेछ । प्रतियोगिताको फाइनल १७ तारिखमा हुनेछ ।

सेमिफाइनल राउन्डमा सन्तोषले नेपालको हाइ अल्टिच्युड (हिमाली भेग) मा प्रचलित शाकाहारी खाना भुटेको काँक्रोको बियाँ, बन तरुल, कटहरको भुटेको बियां, प्याजको अचार, स्याउको चट्नी जस्ता परिकार चखाएर निर्णायकको मन जिते ।

Inside Article Ads

केही निर्णायकले सन्तोषको परिकार यसअघि कहिल्यै नचाखेको भन्दै प्रशंसा गरेका थिए । ‘यस्तो कडा प्रतिस्पर्धामा किन जोखिम लिइरहेको भन्थे जजहरु,’ साहले अनौपचारिक कुराकानी सुनाए, ‘हार जित बेग्लै कुरा हो, म नेपाली खाना नै विश्वभर चिनाउन चाहन्छु भन्दा उनीहरु दंग परेर थप प्रोत्साहित गर्थे ।’

प्रतियोगिताका हरेक चरणमा सन्तोषले नेपाली खाना नै पस्किरहेका छन् । अघिल्ला चरणमा साहले पोलेको भेडाको मासु, मासुको झोल, सिस्नु र आलुको तरकारी, बेथेको साग, भाङको चटनी, मकैको रोटी, तामाको अचार जस्ता मौलिक नेपाली खाना पस्किएका थिए । विश्वमै लोकप्रिय बीबीसी मास्टर सेफ प्रतियोगितामा नेपाली खाना लिएर प्रतिस्पर्धा गर्ने सन्तोष सम्भवत: पहिलो नेपाली सेफ हुन् ।

सिरहाको कर्जन्हा निवासी साह एसएलसी फेल भएपछि २ दशकअघि १५ वर्षको उमेरमा भारत भासिएका थिए । भाँडा माझ्ने सामान्य किचन पोर्टर हुंदै पाँच तारे होटलको एक्जुकेटिभ सेफसम्म बन्न सफल भए उनी । उत्कृष्ट दक्षता देखाएरै सन् २०१० अन्त्यतिर वर्क पर्मिटमा लन्डन उत्रिएपछि सन्तोषले कहिल्यै पछाडि फर्कनु परेन ।

बेलायत उत्रिएको एक दशकमा सन्तोषले यहाँ प्रतिष्ठित भारतीय रेस्टुरेन्ट तथा होटलहरुमा हेड सेफ भएर काम गर्ने मौका पाए । यहाँ निकै प्रतिष्ठित मानिने ‘मिसिलिन स्टार’ प्राप्त रेस्टुरेन्टहरुमा एक्जुकेटिभ सेफसम्म भएका उनी आफूले यसअघि सँगै काम गरेका मिसिलिन स्टार, सेलेब्रिटी सेफहरुबाट सिकेको व्यावसायिक सीप र अनुभव नेपाली खाना प्रवद्र्धनमा सदुपयोग गर्ने संकल्पका साथ अगाडि बढेका छन् ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.