
धनगढी, डोटी — १८ माघ २०७८
धनगढी, डोटी, बैतडीको थलकाँडाका ८८ वर्षीय जयबहादुर साउदलाई नाम र अनुहार ठ्याक्कै सम्झना छैन । पहिलो पटक बैतडी र डोटी सीमास्थित सेती नदीमा पश्चिम सेती आयोजनाको सर्भे गर्न आएको टोलीका सरसामान बोकेर हिँड्नेमध्ये उनी पनि एक हुन् । ‘पूर्वतिरका कुनै ठकुरीको नेतृत्वमा पहिलो पटक आएको टोलीले सेतीको पानी चामागाड हुंँदै सुर्नयामा खसाएर बिजुली निकाल्ने कुरा गरेको सुन्दा म मुख फर्काएर हाँस्ने गर्थे,’ उनले भने, ‘८८ पुगिसकें । साँच्चिकै मैले सोचेजस्तै भयो । त्यतिबेला मैले अज्ञानताबश सेतीको पानी चामागाड हुंँदै सुर्नयामा कसरी खसाउलान् ? मभन्दा पनि मूर्ख रहेछन् भन्ने सोचेर हासेको हुँ ।’ सरकारले चाहेको भए पश्चिम सेती परियोजना उहिले नै बन्न सक्ने धेरै पछि आएर बुझेको उनी बताउँछन् । जयबहादुरले सर्भे गर्न आएको टोलीको सामान बोकेको पनि ६० वर्षभन्दा बढी भयो । उनीसंँगै सर्भे टोलीको सामान बोक्ने र सहयोग गर्ने धेरै जनाको मृत्यु भइसकेको छ । जयबहादुर पहिलो सर्भेका जीवित एक्ला साक्षी हुन् । यसपटक पश्चिम सेती निर्माण सुरु हुन सक्ने सम्भावना रहेको उनका आफन्तले सुनाएपछि जयबहादुर खुसी भएका छन् । ‘साँच्चिकै मर्ने बेला के पश्चिम सेती बनेको देख्न पाउँला र ?’ कञ्चनपुरको कृष्णपुर नगरपालिका—२ मा बस्दै आएका जयबहादुरले भने, ‘उमेरले पश्चिम सेतीको बिजुली देख्न त के पाउला र ?’
यसपटक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टसहितको टोलीले प्रभावित क्षेत्र अवलोकन गरेपछि स्थानीयमा पश्चिम सेती आयोजना सुरु हुने आशा पलाएको हो । केही महिनाअघि विज्ञसहितको टोलीले पश्चिम सेतीको भ्रमण गरेको थियो । टोलीले स्थानीयलाई पश्चिम सेती बन्न सक्ने सम्भावना धेरै रहेको आश्वस्त गरेका कारण पनि धेरैले यसपालि आयोजना निर्माण सुरुवात हुन सक्नेमा विश्वास गरेका हुन् । पश्चिम सेती आयोजना प्रभावित क्षेत्रको आकाशमा हिजोआज दैनिकजसो पुनःस्थापनाका लागि डाटा संकलन गर्न ड्रोनहरू उडिरहेको देख्ने स्थानीयमा आयोजना बन्ने आशा पलाएको छ । ‘अनुकूल वातावरण र सरकारलाई चर्को दबाब दुवै छ,’ डडेल्धुरा क्याम्पस प्राध्यापक मोहन भट्ट भन्छन्, ‘राजनीतिक जीवनको उत्तरार्द्धमा प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेतीका लागि सबैभन्दा चर्को दबाब खेपिरहेका छन् ।’
फ्रान्सेली कम्पनी सोग्रेहले पहिलो पटक पश्चिम सेतीको सर्भे गरेपछि विदेशी कम्पनीहरूले सर्भे गर्ने र छाड्ने सिलसिला अहिलेसम्म जारी छ । ‘सन् १९९१ मा फ्रान्सेली कम्पनी सोग्रेहले ड्याम नबनाई ३७ मेगावाट बिजुली निकाल्ने प्रस्ताव गर्यो । विगतमा पश्चिम सेतीको सामाजिक अध्ययनमा संलग्न विज्ञ इन्द्रमणि अवस्थीले भने, ‘पछि त्यही कम्पनीले दोस्रो पटक पनि ३८० मेगावाट बिजुली निकाल्ने प्रस्ताव गर्यो । तर काम सुरु भने हुन सकेन ।’ सन् १९९४ मा अस्ट्रेलियन कम्पनी स्मेकले काम सुरु गर्नुअघि ४ पटकसम्म विभिन्न कम्पनीले सर्भे गरेको देखिन्छ । स्मेकले पनि केही वर्षमा छाड्यो । पछिल्लो पटक चिनियाँ कम्पनी थ्री गर्जेजले सर्भे गर्यो । धेरै वर्ष अध्ययनपछि थ्री गर्जेज पनि पछि हट्यो । पछिल्ला दुई अध्ययनले जलाशययुक्त पश्चिम सेती आयोजनाबाट ७ सय ५० मेगावाट विद्युत् उत्पादन गर्न सकिने देखाएको थियो । आयोजनाबाट बैतडी, बझाङ, डडेलधुरा र डोटीका गाउँ प्रभावित हुनेछन् । बैतडीको र डुंगाड र डोटीको तलारा यसको मुख्य प्रभावित क्षेत्र हुने जनाइएको थियो । स्मेक कम्पनीमा सामाजिक विज्ञसंँगै सूचना अधिकारीका रूपमा काम गरेका अवस्थी पश्चिम सेती राजनीतिक इच्छाशक्ति नभएका कारण सुरु हुन नसकेको विश्लेषण गर्छन् । ‘स्पष्ट जलस्रोत नीति नहुनु, परियोजना बन्न नदिन विभिन्न कोणबाट हुने प्रभाव रोक्न नसक्नु र नेताहरूमा इच्छाशक्ति नभएका कारण अहिलेसम्म यो परियोजना मुद्दा मात्र बनेको हो,’ अवस्थीले भने । महाकालीसँंगै सेतीमा रहेको भारतीय चासो पनि परियोजना सुरु हुन नदिनुको अर्को मुख्य कारण भएको उनी ठान्छन् ।
अर्कोतिर, पश्चिम सेती आयोजनामा भएको ढिलाइले प्रभावित क्षेत्रको ठूलो जनसंख्याले लामो समयदेखि भौतिक विकासबाट टाढा बस्नुपरेको छ । ‘विकासको कुरै छाडौं, पश्चिम सेतीका नामले यो क्षेत्रका एक दर्जन गाउँको मानवीय विकास पनि ठप्प भएको छ । ढुंगाड, थलाकाँडा, शिवलिंग, सिगास, बेलापुर, तलारा, लामीखाललगायत ठाउँका बासिन्दा पश्चिम सेतीका नामले धेरै कुरा गुमाउन बाध्य छन् । यसपटक पश्चिम सेतीको आशा गरेका सर्वसाधारणसँग आक्रोश मात्र बाँकी छ,’ भट्टले भने । विकास बजेट, मानवीय विकासमा लगानी, भौतिक पूर्वाधारलगायतका कुरा प्रभावित क्षेत्रका बासिन्दाले लामो समयदेखि पश्चिम सेतीका नाममा गुमाउँदै आएका छन् । उद्योग वाणिज्य संघ डोटीका पूर्वअध्यक्ष नरेन्द्र खड्का पनि प्रधानमन्त्री देउवाले राजनीतिक जीवनको उत्तरार्द्धमा पश्चिम सेती आयोजना निर्माण गरेर सुदूरपश्चिमलाई विकास र समृद्धिसंँग जोड्नेमा आशावादी बनेको बताउँछन् । पश्चिम सेती सुरु गर्नैपर्ने दबाब भएको पूर्वमन्त्री तथा कांग्रेसका सुदूरपश्चिम प्रदेश अध्यक्ष वीरबहादुर बलायरको पनि भनाइ छ । ‘कांग्रेस प्रदेश कमिटीले यसलाई आफ्नो प्रमुख मुद्दा नै बनाएको छ,’ बलायरले भने, ‘स्वदेशी लगानीमै अगाडि बढ्नुपर्छ भनेर पटकपटक प्रधानमन्त्रीलाई सुझाव दिएका छौं ।’
( कान्तिपुर दैनिक )
