
कोभिड १९ ले संसारभर ठूलो मानवीय क्षति गर्यो । यसैका कारण अहिले संसारभर लाखौ परिवार अति पीडामा छन् । कतिका परिवारले आफ्ना सदस्य गुमाए । नेपालमा पनि यसले अपूणीय क्षति गर्दैछ । धेरै जनधनको खति भइसकेको छ । देखिने मात्रामा रहेको यस्तो क्षतिका साथमा यसले नदेखिने ढगंबाट पनि मानव जीवनमा ठूलो खति गरेको हुन सक्छ । विगत एक वर्षदेखि मानिसहरु घरभित्र खुम्चन बाध्य भए । अझै पनि खुम्चने क्रम रोकिएको छैन् । दैनिक कृयाकलापहरु प्रभावित भए । बालबालिकाहरुमा मनोवैज्ञानिक असर परेको छ । पछिका दिनमा यसमा गरिने अध्ययनले असरको मात्रा अवश्य पनि एकिन गर्नेछन् । लडेको मानिस उठ्छ भने जस्तै यस्ता संकटबाट मानिसहरु अवश्य पनि उठ्लान्, पुन आफ्ना काममा फर्केलान । पीडामा रहेकाहरुले वाध्यताले भए पनि आँफ्ना पीडामा मल्हमपट्टी लगाउलान । विस्तारै उठ्लान, अनि आफ्ना नियमिततामा फर्केलान ।
मानिसले आफूलाई अजेय ठान्दथ्यो । समग्र प्रकृतिमाथि विजय प्राप्त गरेको भ्रममा मानिस रहेको थियो । मानिसलाई डर थियो भने आफ्नै सजातिय वर्ग वा अर्को मुलुक वा दुस्मन भनिएको मानिससँग थियो होला । तर अहिलेको घटनाले देखायो मानिस कति कमजोर रहेछ भनेर । मानिसमा रहेको शक्तिको घमण्ड कमजोर धरातलमा अडेको रहेछ । यस प्रकृतिमा रहेका लाखौ जीवमध्य मानिस एउटा जीव न हो । मानिसमात्र बलियो होइन रहेछ । समय पो बलियो र कमजोर हुने रहेछ । तसर्थ मानिसले अनावश्यक घमण्ड गर्नु व्यर्थ छ ।
यस पृथ्वीमा रहेका सबै जीवको वाँच्ने अधिकार छ । सबैले बाच्न पाउनु पर्छ । यी र यस्तै कुरालाई मानिसले अव सोच्नु पर्छ, चेत्नु पनि पर्छ । प्रकृतिको अनावश्यक दोहन र शोषण गर्ने काम अव वन्द गर्नु पर्छ । नगरि नहुने स्रोत र साधनबाट मानिसले जीवन निर्वाह गर्ने बारेमा अब सोच्नुपर्छ । मानिसले अन्य जीव, वनस्पति र प्राणीको सहअस्तित्वलाइ स्वीकार गर्नुपर्छ । उनीहरुलाई अनावश्यक रुपमा हानी पुर्याउनु हुदैन । एकछिन सोचौँ त हामीमध्ये कसैले बाटोको छेउ वा अन्य कुनै खाली स्थानमा सुतिरहेको कुकुरलाई हिर्काउने वा नाक, कानमा सिन्को घुसार्छौँ । यसलाइ के भन्ने ? आफूलाई नै टोक्न आएको अवस्थामा जीवन रक्षाको लागि प्रतिरक्षा गर्नु त स्वभाविकै पनि हो । त्यसबेला प्रतिकार पनि गर्नु पर्छ होला । तर मानिसलाई केहि नगरेको निरीह जीवलाइ हानी पुर्याएर के पाइन्छ र ? यो त प्रतिनिध घटनामात्र हो । यस्ता थुप्रै उदाहरण पाउन सकिन्छ ।
हरेक माहामारीले समस्याका साथमा अवसर पनि ल्याउँछ भनिन्छ । विगगतमा पनि यस्ता माहामारी मानिसले भोगे । जसले एउटा माहामारी भोगे उनीहरुको अर्को माहामारी विरलै भोग्ने रहेछन् । तर मानिसले विगतको घटना पढन त सक्छ, अनुभव गर्न सक्छ र त्यसबाट सिक्न पनि सक्छ । तर धेरै मानिसले यस्तो काम नगर्ने रहेछन्, वा नसिक्ने रहेछन् । सिकेर पनि पालना नगर्ने रहेछन् । एउटा उदाहरण लिउँ । नेपालमा वि.सं. २०७२ सालमा ठूलो भूकम्प गयो । धेरै जनधनको क्षति भयो । मानिसहरु घर छोडेर सडकमा बास बस्न पुगे । घर नभएकाहरुले हाम्रो बासस्थानमा किन आएको भनेर घर भएकाहरुलाइ कहिल्यै प्रश्न गरेनन् । मिलीजुली बसे । जेजस्तो थियो सो खाए । समय बित्दै गयो । समयसँगै मानिसको वर्ग पनि छुटिदै गयो । वर्गका साथमा सोच पनि पुरानो जस्तै आयो । अ त केहि मानिस ‘मै खाँउ मै लाँउ’ भन्ने सोचमा पुगिहाले त । पुन बेथिती गर्न पुगे ।
आखिर बेलुका के खाने भनेर जोहो नगरे पनि मानिस बाहेक अन्य प्रणाली बाँचेकै छन् त यस धर्तीमा । उनीहरु सम्पत्ती थुर्पादैनन् तर पनि उनीहरुको संसार चलेकै छ त ? मानिस बाहेक अरु प्रणालीसंग त शिकार गर्नका लागि आफ्नो शरीर बाहेक अरु केहि पनि छैन, तर पनि उनीहरु खाएकै छन्, बाचैँकै छन् । प्रकृतिमा उनीहरुको उपस्थिती रहेकै छ । शायद मानिसमा जति चिन्ता उनीहरुमा छैन होला । उनीहरुलाइ बढि हानी त प्रकृतीबाट भन्दा पनि मानिसका कृयाकलापबाट छ । तर के गर्ने उनीहरु जुटेर प्रतिरोध गर्न आउदैँनन् वा चाहदैनन् पनि ।
कोभिड १९ जस्ता महामारी मानिसको सोच, व्यवहार र चरित्र बद्लन लागि अवसर पनि थियो । यहाँ एउटा व्यक्तिको चरित्रको कुरा होइन । समग्र मानव जातीको स्वभाव र चरित्रको विषय हो । यस क्रममा मानिसले धेरै काम गर्नुपर्ने हुन सक्छ । त्यसमध्ये वातावरणको संरक्षण एउटा प्रमुख काम हो । मानिसले सरसफाइका बारेमा प्रवचन दिन त सक्छन् । तर के गर्नु यस्ता प्रवचन दिनेले आफ्नो घरभित्रको फोहोर बाटोमा वा खोला एवम् नदि किनारमा फाल्छन अनि सरसफाइको प्रवचन दिन तारे होटेलमा जान्छन् । मान्छे कै कारण व्याक्टेरिया, भाइरस जस्ता जिवाणु फैलन वा विस्तारित हुने मौका पाएका हुन् । जङ्गलमा रहेका जनावरहरु विस्थापित हुन पुगे । जनावरहरु गाउँ वा मानव वस्तीमा आएका होइनन् बरु मानव नै उनीहरुको वस्तीमा गएका हुन् । मानिसले आफू बाँच्नका लागि खान र गर्न पर्ने कृयाकलाप त गर्नैपर्छ, यस क्रममा अन्य प्राणी वा वनस्पतीको प्रयोग हुन पनि सक्छ । यसलाइ अन्यथा नै मान्न त नसकिएला । सबैलाइ शाकाहारी बन भनेर पनि नहोला । तर मानिसले कम भन्दा कम क्षतीमा आफ्नो उपभोगको मात्रा पूरा गर्न सक्नु पर्छ ।
वातावरण संरक्षण, जलवायु परिर्वतन, बाढी पहिरो, भूक्षय जस्ता ठूला घटना पूर्णरुपमा नियन्त्रण गर्न त मानिसको सामर्थ्य नहोला । तर मानिसले आफ्नो कार्यबाट भएका असरहरु भने घटाउन सक्छ । मानवबाट सृजित प्राकृतिक प्रकोप घटाउनका लागि मानवले आफ्नो व्यवहारलाइ नियन्त्रण गर्ने पर्छ ।
मानिसले वातावरण संरक्षणमा धेरै काम गर्न सक्छ । कहाँ के कस्तो काम गर्ने भन्ने विषयमा एकरुपता नहुन पनि सक्छ । स्थानिय विशेष अनुसारका कामहरु पनि हुन सक्छन् । के काम गर्ने र कसरी गर्ने भन्ने विषयमा मानिसमा सचेतना हुनु जरुरी छ । यस्तो सचेतना जगाउन धेरै पक्षले काम गर्ने भए तापनि देहायमा विद्यालयले खेल्न सक्ने भूमिकाको बारेमा चर्चा गरिएको छ ।
विद्यालय भनेको वालवालिका एवम् विद्यार्थीहरुको व्यवहार निर्माण गर्ने थलो हो । सिकाइ भनेकै व्यवहार निर्माण गर्नु त हो नि । विद्यार्थीमा असल व्यवहार निर्माण गर्न शिक्षक असल हुनुपर्छ भनिन्छ । फेरी असल शिक्षकको खोजी गर्न कहाँ जाने ? भएकै शिक्षकबाट यी कामहरु गर्नुपर्छ । साना साना कामबाट शुरु गर्ने हो भने विद्यार्थीहरुमा असल व्यवहार निर्माण गर्न सकिन्छ वातावरणको क्षेत्रमा ।
1. सबैभन्दा पहिला बालबालिका एवम् विद्यार्थीलाइ सरसफाइमा ध्यान दिने कुरा सिकाउनु पर्यो । यहाँ सरसफाइ अन्तर्गत स्वयम व्यक्ति र घर परिवार, विद्यालय एवम् समुदाय पर्छन । सर्बप्रथम व्यक्तिको सरसफाइको आदत निर्माण गर्नु पर्छ । नुवाइ धुवाइ, हात गोडाको सफाइ, हातले पटक पटक नाक, मुख, कान कोट्याउन नहुने भन्ने विषय कति महत्वपूर्ण रहेछ भन्नेविषय सिकाउनु पर्छ जसको महत्व अहिले थाहा हुदैँछ । साना कक्षाका बालबालिकाहरुलाई यस्ता कार्यमा संलग्न गराउनु पर्छ । घर सफाइको परियोजना दिनुपर्छ । सरसफाइका लागि घरमा गरेको सहयोग कक्षाकोठामा वताउन लगाउनु पर्छ । जव घरसफाइको परियोजना गराइन्छ अनि मात्र कक्षा कोठा र विद्यालय सफाइमा संलग्न गराउनु पर्छ । यो कार्य विद्यालय तहमा अनिवार्य रुपमा गराउनु पर्छ । तलका कक्षामा शिक्षक र घर परिवारका सदस्य मिलेर यस्तो काममा संलग्न गराउनु पर्छ भने माथिल्लो कक्षामा परियोजना कार्य दिइ चेक लिस्टको माध्यामबाट अनुगमन गर्ने व्यवस्था गर्नु पर्छ ।
2. यहि व्यक्तिगत र वातावरण सरसफाइमा विभिन्न खालका व्याक्टेरिया, भाइरस र रोग (कक्षा अनुसार विषयवस्तुको व्याख्या एवम् व्यवस्था गर्न सकिन्छ) का वारेमा जानकारी दिलाउनु सकिन्छ । सरसफाइमा ध्यान दिइएमा यस्ता जीवाणुले मानिसको शरीरमा प्रवेश पाउदैन र मानिसलाई हानी गर्न सक्दैनन भन्ने बारेमा जानकारी दिन सकिन्छ । यसैगरि यी जिवाणु फैलने माध्यमका बारेमा पनि थप अभ्यास गराउन सकिन्छ ।
3. जव बालबालिकाहरुमा सरसफाइका बारेमा सिकाइन्छ, आदत निर्माण गरिन्छ अनि करेसाबारी, बगैंचा, फूल, विरुवा आदिको संरक्षण र सदुपयोगका वारेमा जानकारी गराउन सकिन्छ । यसमा थप अभ्यास गराउन सकिन्छ । यो विषय एक दिन भनेर वा एउटा पाठ पढाएर पुरा हुने खालको होइन । नियमित रुपमा अभ्यासमा सलग्न गराउन सकिन्छ । घर परिवारबाट सहयोग पाउनका लागि घरपरिवारमा उपयोग हुनेखालका विरुवाहरुबाट अभ्यास शुरु गराउन सकिन्छ । न्युन आय भएका शहरमा भाडामा बसेका घर परिवारमा यस्तो कार्य सम्भव नहोला । तर अन्य स्थानमा सम्भव हुन सक्छ । जहाँ जे सम्भव हुन्छ सो गर्दै जाने हो ।
4. विद्यार्थीलाई घरमा फूल लगाउ भनेर पुगेन । घरमा उपयोगी हुने गोलभेडा, खुसार्नी, पुदीना जस्ता स्थानीय परिवेशमा पाइने र त्यसबाट घर परिवारले पनि फाइदा लिन सक्ने विरुवा सार्ने, हुर्काउने र संरक्षण गर्न सहयोगी हुने खालका परियोजना दिनसकिन्छ । विद्यालयले यस्ता कार्यका लागि परियोजना बनाइ विद्यार्थीका घर परिवारलाई पनि यस कार्यमा सहभागी गराउन सक्छ । सबै विद्यार्थीका घरमा एक एक वटा खुसार्नी मात्र हुर्काउन सके पनि हरियाली प्रवद्धन गर्न सहयोग पुग्थ्यो । पहिला खुर्सानी सार् भन्ने अनि मात्र फुल, बगैँचाका बारेमा चर्चा गर्दा हुन्छ ।
5. जब विद्यार्थीले घरपरिवारसँग मिलेर न्यूनतम पनि एउटा विरुवा हुर्काउँछन अनि विद्यालयले संभाव्यता अनुसार हरियाली निर्माणमा जोड दिनुपर्छ । यसका साथै गमला वा कौसीमा सार्न सकिने फूल विरुवाका बारेमा पनि अभ्यास गराउन सकिन्छ ।
6. वातावरण संरक्षणमा विद्यार्थीहरुको आदत निर्माण गर्न कक्षा कोठाका क्रियाकलाप मात्र पर्याप्त नहुन सक्छ । कक्षा कोठामा पनि परियोजना कार्य दिनुपर्छ । विद्यार्थीलाइए संलग्न गराउनु पर्छ, उनीहरुलाई काममा नै संलग्न गराउनु पर्छ । यसमा विभिन्न स्थानको अवलोकन गराउन उपयुक्त हुन्छ । हाम्रा विद्यालयहरुले पिकनिक वा वनभोज त आयोजना गर्छन तर जाने ठाँउमा के त्यस्तो महत्वपूर्ण पक्ष छ भनेर जानकारी गराउदैनन् । यस्ता पिकनिक वा वनभोजमा पनि वातावरण विषयमा उपयोगी हुने ढँगबाट अवलोकन गराउन सकिन्छ । के के महत्वपूर्ण वनस्पति रहेछन् भन्ने बारेमा जानकारी लिन दिन लगाउन सकिन्छ । विद्यार्थी स्वयमलाई टिपोट गर्न लगाउन सकिन्छ । यस्ता कार्यबाट वातावरण संरक्षणमा सचेतना जगाउन सकिन्छ ।
7. वातावरण संरक्षण गर्नमा विद्यालयले गर्न सक्ने अर्को महत्वपूर्ण काम भनेको विद्यार्थीहरुमा संवेदनशीलता विकास गर्नु हो । यो संवेदनशीलता विकास गर्न तल्ला कक्षाहरुमा नैतिक शिक्षा, कथा, घटना आदि उपयुक्त हुन सक्छने भने माथिल्ला कक्षाहरुमा वातावरणको विनाशबाट मानवीय जिवनमा आइपरेको संकट, त्यसबाट मानव जातिले व्यहोरेको क्षति आदिका विषयमा पाठहरु अध्ययन गराउने, प्रवचन, गोष्ठी सेमिनार गर्ने, विषय विज्ञहरुलाई आमन्त्रण गरेर जानकारी गराउने जस्ता कार्य गर्न सकिन्छ । यस्ता कार्यबाट विद्यार्थीहरुमा सचेतना र संवेदना विकास गर्न सहयोग पुग्न सक्छ ।
8. वातावरण संरक्षणमा विद्यालयले छोड्नै नहुने काम भनेको स्थानीय समुदायसँग के कसरी सहकार्य गर्ने भन्ने हो । समूदायसँगको सहकार्य बिना माथि भनिएका कार्यहरु गर्न सकिदैन । जति मात्रामा विद्यालयले घरपरिवारसँग सहकार्य गर्न सक्यो सोही अनुपातमा विद्यार्थीहरुमा आदत निमार्ण गर्न सजिलो हुन्छ । यसैगरी समुदायसँगको सहकार्यले घरपरिवारमा र विद्यार्थीमा संवेदना विकास गर्न पनि सजिलो हुन्छ ।
कोभिड १९ ले सिर्जना गरेको आतंक पश्चात गर्नुपर्ने कामहरु धेरै हुन सक्छन् । मानिसले धेरै पक्षमा आफ्ना व्यवहारमा परिमार्जन गर्नुपर्छ । त्यसमध्ये वातावरण संरक्षण एक महत्वपूर्ण कार्य हो । यसमा शिक्षक र विद्यालयले धेरै काम गरेर विद्यार्थीहरुमा आदत निर्माण गराउन सक्छन, सिकाइ हासिल गराउन सक्छन् । यस्तो सिकाइलाई दिगो बनाउन सक्छन् । तर यसका लागि शिक्षकले थप मेहेनत गर्नु पर्छ, विद्यालयले थप काम गर्नु पर्छ । गन्तव्यमा पुग्न यात्रा गर्नै पर्छ । सुतेर दुरी तय हुदैन । यसका लागि यात्रा प्रारम्भ गर्नै पर्छ ।
विद्यालय शिक्षा प्रयोगात्मक भएन भन्ने गरिन्छ । सैद्धान्तिक मात्र भयो भनिन्छ । यो शिक्षा प्रयोगात्मक हुने कि सैद्धान्तिक हुने भन्ने विषय त शिक्षक र विद्यालयका क्रियाकलापमा निर्भर रहन्छन् । शिक्षक र विद्यालयले नयाँ नयाँ क्रियाकलाप खोजी गरेर शिक्षण सिकाइ क्रियाकलाप गर्ने, विद्यार्थीलाई परियोजना कार्यमा संलग्न गराउने, अवलोकन गराउने, कामै गर्न लगाउने जस्ता क्रियाकलाप गर्ने हो भने यहि वातावरण संरक्षण शीर्षकको मेसेज प्रयोगात्मक हुन सक्छ । ४५ मिनेटमा प्रवचन दिएर ल ल पढ् पढ् भने यहि पाठ शुद्ध सैद्धान्तिक बन्ने हुन्छ । तसर्थ प्रयोगात्मक बनाउने हो भने थप मेहेनत गर्नै पर्छ ।
कोभिड १९ ले ठूलो पाठ पढायो । मान्छेको जीवन जोखिमपूर्ण अवस्थामा रहेछ । कुनै पनि बेला कुनै पनि जीवाणुले आक्रमण गर्न सक्ने रहेछ । यसबाट बच्नका लागि थप अनुशासित बन्नु पर्ने रहेछ । हाम्रा बानी व्यहोरामा परिवर्तन गर्नु पर्ने रहेछ । अरु बानी व्यहोरा बदल्दै गरौला, आउनुस तपाई हामी सबै मिलेर वातावरण संरक्षणका दिशामा सकारात्मक कार्यको थालनी गरौँ । सानो भए पनि परिवर्तनको शुरुवात गरौँ । सबैभन्दा ठूलो सिकाइ यहि हुन सक्छ, महामारीले ल्याएको संकट पश्चात ।
