
डायमण्ड जोशी।

आमा ,यस्तो शब्द हो, जो उच्चारण गर्दा न्यानोपनको अनुभुती ले आनन्द हुन्छ। जब सन्तान धर्ती मा जन्म लिन्छ उसले पहिलो शब्द पनि आमा नै उच्चारण गर्दछ। शास्त्रमा आमा लाई पिता भन्दा धेरै माथी राखेर वर्णन गरिएको छ। आमाको महिमा वारे शास्त्रमा पनि अपरिहार्य शब्दहरुले भरिएका छन्। धार्मिक ग्रन्थमा आमालाई पृथ्वी, धरातल र स्वरुपले दाँजिएको छ। एक सन्तानको जन्म हुन्छ, तब बाट नै आमा को माया करुणा स्नेह र स्वज्ञान सुरु भएको हुन्छ। आज उनै माता भवानी माता गौरी र माता लक्ष्मी स्वरुप ले पुर्णता पाएकी आमाको पुजा गर्ने दिन, माता तिर्थ औंसी। धर्म ग्रन्थ का अनुसार आमाको पुजा आज मात्रै नभएर सँधै यसरि नै स्नेह र सम्मान सहित हुनु जरुरी हुन्छ।
आमा नै नारी हुन्। त्यसैले जहाँ आमाको पुजा हुन्छ त्यहाँ देवताहरु रमाउँछन ।
आमा लाई वेदमा श्रीमद्भागवत मा तथा अन्य थुप्रै धर्म ग्रन्थ हरुमा आमाको महिमा गाथाको निकै वर्णन गरिएको छ।
सर्वतिर्थ मयि माता सर्व देव मय पिता।
मातरम् पितरम् तस्मात सर्व यत्ने नपुजयत्।।
अर्थात, संसारमा जति ठुला ठुला तिर्थ स्थलहरु छन। त्यहाँ भन्दा उच्च तिर्थ भनेकै आमा का श्री चरण हुन्।
माता पिता भन्दा ठुला देवि देवता नै संसारमा कोहि छैनन्।
संसारको सबैभन्दा पवित्र नाता आमा र पवित्र सम्बोधन पनि आमा भनेर उल्लेख छ ।
जब सन्तान बिरामी हुन्छ तब सन्तानले संसार को सबै भन्दा ठूलो र पवित्र मन्त्र आमाको जप गर्न थाल्दछ। जब सन्तानले संसार जित्छ, तब ऊ आमा नै सम्झेर भक्किन थाल्छ र आमाले गरेका दु:ख सम्झिन्छ। आमा शब्द सन्तान का लागि सुख र दुखको भुल्नै नसकिने मन्त्र हो। एक सन्तान ले सारा याद गुमाएपनी आमा को याद कहिल्यै गुमाउन सक्दैन।
तिनै आमा जसले हामीलाई संसार देखाइन्, गर्भमा राखेर पीडा सहिन् र काखमा राखेर पालन पोषण गरिन्। सबैभन्दा बढी करुणा र माया बोक्ने आमा जसले बाल्यकालमा हाम्रा इच्छा पूरा गरिन् ।
प्रेम सबैले गर्दछन् तर निस्वार्थ प्रेम कस्तो हुन्छ, त्यो आमाबाटै सिकिन्छ। गहिरो प्रेमको औचित्य पनि आमालाई नै थाहा हुन्छ। ९ महिना लामो आन्तरिक संघर्ष र प्रसव पीडालाई आमाको सबैभन्दा ठूलो सहनशक्तिको मानक मानिन्छ। एउटा सन्तान जन्मिदा हजारौं कोषिका चुडिएको कठोर पीडालाई आमाले सन्तानको मधुर चिच्याहटमा भुलिदिन्छिन्। हजारौं तौल को भारीलाई नदेखाएर भुल्न सक्ने ताकत केबल आमामा मात्र हुन्छ।
आफूले पाएका हरेक पीडालाई कठोरताका साथ सहन सक्ने भएकाले नै त्यो ईश्वरीय वरदान, त्यो स्वर्गीय आनन्द, सन्तान उत्पादन भगवानले आमालाई नै सुम्पिएका होलान्।
नेपोलियन बाेनापार्टले त्यसै भनेका होइनन्, मलाई एउटा असल आमा देऊ र म तिमीलाई एउटा राष्ट्र दिनेछु।
नेपोलियनले असल पिता किन मागेनन् ? किन कि, संसारमा त्यस्तो कुनै वेद, विज्ञान र व्यक्ति छैन, जाे आमाभन्दा असल हाेस् ।
आमालाई सम्बोधन गर्दै भारतका पूर्वराष्ट्रपति अब्दुल कलामले भनेका छन्, जीवनमा एक दिन मात्र त्यस्तो दिन छ, जुन दिन सन्तान रुँदा आमा मुस्कुराउँछिन्, त्यसपछि त्यो दिन जीवनमा कहिल्यै पनि आउँदैन कि एक सन्तान रुँदा आमा मुस्कुराउन् ।
सन्तान जीवनमा असफल हुँदा होस्, वा सन्तानले सय मुरी दुःख पाउँदा होस्, चाहे सन्तान कुलतमा लाग्दा होस्। सन्तानका हरेक गलत कदममा पहिलो पीडा आमालाई हुन्छ।
कसैको सफलतामा काेही एकदमै खुसी हुन्छ भने त्यो केवल उसकि आमा हुन्छिन्। आमा, आमा मात्र हुँदिनन्, एक सन्तानको लागि पहिलो पुस्तक पनि हुन् । आमा नै पहिलो गुरु हुन्, आमा नै पहिलो साथी हुन्, आमा नै पहिलो सल्लाहकार हुन्, आमा नै हरेक पीडाको सारथी हुन् ।
त्यसैले आमा लाई वेद मा श्रीमद्भागवत मा तथा अन्य थुप्रै धार्मिक ग्रन्थ हरुमा पनि आमा को महिमा वर्णन गरिएको छ।
आमा पहिलो औषधि हुन्। अँध्यारोको दीप पनि आमा नै हुन् । सन्तानलाई पुग नपुग खुवाइसकेपछि रित्तो भाडोमा पानी खन्याउँदै मलाई त भोक छैन आज भनेर भोकै सुत्ने त्यो अद्भुत प्राणीको नाम आमा हो। सन्तानको खुट्टामा काँडाले घोच्दा जसको मुटुमा चस्स पाेल्छ ती आमा नै हुन् ।
एकजना व्यक्तिले स्वामी विवेकानन्दलाई सोध्छन्, स्वामी कुन कारणले आमाको यति धेरै महिमा गाइन्छ ? यति धेरै वर्णन गरिन्छ?
विवेकानन्दले त्यो प्रश्नकर्तालाई भन्छन्, तिमी बाहिर जाउ र दुई/तीन किलो ढुङ्गा ल्याएर आउ । व्यक्ति ढुङ्गा लिन जान्छ र लतरपतर गरेर ल्याएर पनि आउछ र स्वामीलाई ल्याएको जनाउ दिन्छ। स्वामीले त्यो ढुङ्गालाई एउटा कपडामा पोको बाधेर सर्तसहित त्यो प्रश्नकर्ताको कम्मरमा बाध्न लाउँछन् र भन्छन्, यो ढुङ्गाको पोको तिमीले २४ घण्टासम्म खोल्न पाउने छैनौँ र २४ घण्टा पछि भेट्न आउनु अनि तिम्रो प्रश्नको जवाफ म त्यतिबेलै दिनेछु। स्वामीको सर्त सहर्ष स्विकार्दै प्रश्नकर्ता त्यहाँबाट निस्कन्छ र काममा मग्न हुन्छ। काम गर्दै गर्दा त्यो मान्छेलाई साह्रै अप्ठेरो पर्छ। सानो तिनो काम गर्दा पनि उसलाई साह्रै पीडा महसुस हुन्छ। कम्मरमा बाँधेको त्यो ढुङ्गाको भारीले धेरै चोट दिन थालेपछि प्रश्नकर्ता २४ घण्टा नबित्दै हतारहतार स्वामी कहाँ जान्छ र आफूले त्यो ढुङ्गाको भारी अब धेरै बेरसम्म थेग्न नसक्ने बताउँछ।
तब स्वामीले भन्छन्, तिमीले यो जाबो ढुङ्गालाई २४ घण्टा त पेटमा बाँधेर राख्न सक्दैनौ भने, एउटीआमाले आफ्नो बच्चालाई ९ महिनासम्म कसरी पेटमा राखेर बस्न सक्छिन् होला ? एकातिर गर्भमा बच्चा, अर्कोतिर घर पनि उनैले हेर्छिन्। सारा काम उनैले हेर्छिन्। त्यो कसरी सम्भव हुन्छ ? संसारका हरेक दुःख, कष्ट झेलेर पनि आफ्ना सन्तानका लागि लडिरहने क्षमता केवल आमामा मात्र हुन्छ। आमा महान् छिन्। त्यसैले आमाको सर्वत्र चर्चा गरिन्छ। स्वामीजी को जवाफ सुनेर प्रश्नकर्ता नतमस्तक बन्छ।
सन्तानको क्रन्दनमा रुँदा रुँदा सायद एक आमाको आँसु नदी जत्तिकै भिमकाय हुन्छ होला। सन्तानकै बारेमा सोचेर सायद उनका पीडाहरूले गगनचुम्बी पहाडभन्दा बडेमानका ढिस्काहरू बनाउँछन् होला। एक आमाले सन्तानको पीडामा बगाएको आँसु देखिन्थ्यो भने, सायद आठौं महासागर आमा कै नामबाट बन्थ्यो होला।
