Fast Nepal News

कोरोनाले फेरिदियो जिन्दगीको बाटो

banner single news

काठमाडौं – चैत ३१

काठमाडौं, काठमाडौँमा होटल व्यवसाय गरी बसेका म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका दुर्गाबहादुर थापा सपरिवार गाउँमा फर्किएर केराखेती र कुखुरापालन गर्न लागेको ठीक एक वर्ष भयो । जीवनको उर्वर समय मलेशिया र विभिन्न खाडी मुलुकमा बिताउनुभएका ज्यामरुककोट सानालेखका धु्रव थापा गत वर्षदेखि गाउँमै तरकारी खेती गरेर बसेका छन् । जिल्लाको बेनी नगरपालिका–३ भकिम्लीका धनबहादुर छन्त्याल विश्वव्यापीरूपमा कोरोना महामारी शुरु भएपछि कतारस्थित कार्यरत कम्पनी बन्द हुँदा गाउँ फर्केर फलफूल खेती र पशुपालनमा जमेका छन् ।

त्यसैगरी मङ्गला गाउँपालिकाको अर्मनका सुरेश सापकोटा, मालिकाको देवीस्थानका जसबहादुर फगामी, रघुगङ्गाका सागर भण्डारी, अन्नपूर्ण गाउँपालिकाको शिखका टेकबहादुर बुद्धुजालगायत जिल्लाका तीसभन्दा बढी युवाले विदेश र शहरको बसाइँलाई बिट मारेर गाउँमा फर्किएका मात्रै होइनन्, कृषि र उद्योगजन्य व्यवसाय गरेर गाउँमा पनि पैसा कमाउन सकिन्छ भन्ने गतिलो सन्देश दिएका छन् ।

विदेश र शहरबाट गाउँमा फर्केर कृषिकर्ममा लागेका युवाले उत्पादन गरेका तरकारी र पशुपक्षी रैथाने किसानले उत्पादन गरेका कृषि उपज तथा पशुभन्दा उन्नत र फरक हुने गरेको यस क्षेत्रका व्यापारीले बताएका छन् । शहर र विदेशमा सिकेको सीप एवं प्रविधिको प्रयोग गरी गाउँमा कृषिकर्म गरेका युवा नयाँ उत्साहका साथ लागेको आफूले पाएको मङ्गला गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक जगत बानियाँले बताए ।

Inside Article Ads

धान फल्ने १६ रोपनी खेतमा मालभोग र रानीजातका केराखेती गर्नुभएका दुर्गाबहादुरले कोरिया र काठमाडौँको रोजगारी र व्यवसायभन्दा आफ्नै गाउँको माटोमा गरिएको व्यवसायले बढी आनन्द दिएको बताए । “पैसाको खोजीमा कहाँकहाँ भौतारिइयो, तर कतै पनि सन्तुष्ट हुन सकिएन”, ५२ वर्षीय थापाले भने, “तर पैसाको सुगन्ध त आफ्नै माटोमा पो पाइँदोरहेछ ।

” उनी १४ वर्ष कोरियामा पोखेको पसिनाको मूल्यभन्दा गाउँमै गरेको श्रमको प्रतिफल निकै मीठो भएको बताउछन् । थापाले जस्तै विदेश र शहर बसेर गाउँ फर्किएका धेरै युवाले गाउँको माटोमै पैसाको महत्व पाउन थालेको बताएका छन् ।

भारतको मुम्बईस्थित पाँचतारे होटलमा कुकको काम गरेका बगरफाँटका गणेश घिमिरे र युएईको एक होटलमा १० वर्षसम्म काम गरी गत वर्ष गाउँ फर्केर होटल व्यवसाय सञ्चालन गरेका राजु कार्कीले आफ्नै ठाउँमा सानो भए पनि व्यवसाय सञ्चालन गरेर त्यसबाट प्राप्त हुने आम्दानीको मज्जै बेग्लै हुने बताए । घिमिरेले गाउँमा नै होटल तथा रेष्टुरेन्ट सञ्चालन गरेका छन् भने कार्कीले म्याग्दीको नयाँ पर्यटकीयस्थल लभ्लीहिलमा सञ्चालित लभ्लीहिल रेष्टुरेन्टमा कुकको काम गर्दै आएका थिए । रासस

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.