
काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले आफ्नो २१औँ स्थापना दिवसको अवसरमा उपभोक्ता अधिकार, बजारमा देखिएको महँगी, दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा बजार व्यवस्थापनका विषयमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ।
बुधबार काठमाडौंको अनामनगरमा आयोजित कार्यक्रममा पछिल्लो समय बजारमा देखिएको ग्यासको अभाव, चिनी, चामललगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, चाडपर्व नजिकिँदै गर्दा हुन सक्ने कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रणलगायतका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश कुमार झाले पछिल्लो बजार अवस्था, कर्पोरेसनको तयारी तथा हालसम्मको कार्यप्रगतिबारे जानकारी दिनुभयो।
उहाँले विपद्को अवस्थाका कारण केही समय चिनीको आपूर्ति तथा वितरणमा समस्या देखिए पनि कर्पोरेसनले बजारको आवश्यकता र उपलब्धताका आधारमा आपूर्ति व्यवस्थालाई निरन्तरता दिइरहेको बताउनुभयो। उहाँका अनुसार विपद् आउनुभन्दा एक दिनअघि विभिन्न स्थानमा ठूलो परिमाणमा चिनी उपलब्ध गराइएको थियो। विपद्पछि केही क्षेत्रमा ढुवानी तथा वितरणमा समस्या देखिएपछि अवस्था सामान्य बनाउन कर्पोरेसनले आवश्यक पहल गरेको उहाँले जानकारी दिनुभयो।
झाका अनुसार उपभोक्ताको आवश्यकता पूरा गर्न बजारमा मागअनुसार चिनी उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। सरकारले चिनीको आपूर्तिको जिम्मेवारी दिएपछि कर्पोरेसनले तत्कालै चिनी खरिद तथा आयातको प्रक्रिया अघि बढाएको उहाँले बताउनुभयो।
उहाँले एक साताभित्र नेपालमा ठूलो परिमाणमा चिनी भित्र्याउने तयारी भइरहेको जानकारी दिँदै वीरगञ्ज र विराटनगरका नाकाबाट समेत चिनी आयात तथा आपूर्ति व्यवस्थापन भइरहेको बताउनुभयो। कर्पोरेसनले आफूलाई दिइएको जिम्मेवारीअनुसार आम उपभोक्तालाई सहज र नियमित रूपमा सेवा उपलब्ध गराउन प्रयास गरिरहेको उहाँको भनाइ थियो।
कार्यक्रममा चाडपर्वको समयमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले बजारमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव, मूल्यवृद्धि तथा अनियमितता नियन्त्रण गर्न सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए।
उपभोक्ताको हित संरक्षणका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने, अत्यावश्यक वस्तुको पर्याप्त मौज्दात राख्ने तथा आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउने विषयमा समेत कार्यक्रममा छलफल गरिएको थियो।
