
काठमाडौं । उद्योग तथा व्यापार क्षेत्रमार्फत स्वदेशी उत्पादनको प्रवर्द्धन र रोजगारी सिर्जनामा योगदान पुर्याउँदै आएका व्यवसायी बासुदेव गुप्ता शाहा थाइल्यान्डमा आयोजित व्यवसाय–व्यवसायी (B2B) कार्यक्रममा सम्मानित भएका छन्।
ओपन खबर मिडियाका अध्यक्ष मोहन अधिकारीको संयोजकत्वमा थाइल्यान्डमा आयोजित B2B कार्यक्रममा शाहालाई नेपालका लागि थाइल्यान्डका राजदूत महामहिम धनबहादुर ओलीले सम्मान तथा मायाको चिनो प्रदान गरेका हुन्। नेपाली व्यवसायी र थाइल्यान्डका व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तार तथा व्यापारका नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।
सर्लाहीमा जन्मिएका शाहाले आफ्नो व्यावसायिक यात्रा पारिवारिक व्यवसायबाट सुरु गरेका हुन्। उनका पिता गोपि शाहा खाद्यान्न व्यापारमा संलग्न थिए। बाल्यकालदेखि नै बाबुको व्यवसायसँग नजिक रहेर व्यापारका तौरतरिका सिकेका शाहाले त्यही अनुभवलाई आधार बनाउँदै पछिल्लो समय उद्योग तथा व्यापार क्षेत्रमा आफ्नो व्यवसायिक पहिचान स्थापित गरेका हुन्।
२०६२ सालदेखि जडीबुटी व्यवसायमा समेत सक्रिय शाहा हाल विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठानमार्फत उत्पादन, वितरण र व्यवसाय विस्तारमा संलग्न छन्। शारदा मेटल इन्डस्ट्रिज र श्री कनैया ट्रेडर्स लगायतका व्यवसाय सञ्चालन गर्दै आएका उनले ‘शुभ श्री’ ब्रान्डअन्तर्गत मेलामाइन तथा घरायसी प्रयोगका विभिन्न सामग्री उत्पादन गरी नेपालभर वितरण गर्दै आएका छन्।
शाहाका उद्योग तथा व्यवसायबाट हाल करिब ४० जनाले प्रत्यक्ष रोजगारी पाउँदै आएका छन्। स्वदेशमा उद्योग स्थापना गरी उत्पादनसँगै रोजगारी सिर्जना गर्ने उनको प्रयासले स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउनसमेत योगदान पुर्याएको व्यवसायिक क्षेत्रका व्यक्तिहरू बताउँछन्।
थाइल्यान्डमा प्राप्त सम्मानपछि शाहाले नेपालमा उद्योग तथा व्यवसाय विस्तारका लागि सरकारले व्यवसायीमैत्री वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए। राज्यबाट आवश्यक सहजीकरण, सुविधा र प्रोत्साहन प्राप्त भए निजी क्षेत्रले अझ ठूलो लगानी विस्तार गर्दै सयौँ नेपालीलाई रोजगारी दिन सक्ने उनको भनाइ छ।
“व्यवसायीलाई सहज वातावरण, आवश्यक सुविधा र प्रोत्साहन दिने हो भने हामी उद्योग विस्तार गर्न सक्छौँ। उद्योग बढेपछि रोजगारीका अवसर पनि बढ्छन्,” शाहाले भने।
उनका अनुसार नेपालमा उत्पादनमूलक उद्योगको विस्तारसँगै स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सके देशको व्यापार घाटा न्यूनीकरण गर्न र रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुग्न सक्छ। थाइल्यान्डमा आयोजित B2B कार्यक्रमले नेपाली व्यवसायीलाई विदेशी व्यवसायीहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने तथा नेपाली उत्पादनका लागि नयाँ बजार पहिचान गर्ने अवसरसमेत प्रदान गरेको शाहाको भनाइ छ।
लामो समयदेखि उद्योग तथा व्यवसाय क्षेत्रमा सक्रिय रहँदै आएका शाहाका लागि थाइल्यान्डमा प्राप्त सम्मान व्यवसायिक यात्राको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। उक्त सम्मानले स्वदेशी उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनाका क्षेत्रमा थप सक्रिय भएर काम गर्न आफूलाई प्रोत्साहन मिलेको शाहाले बताएका छन्।
