
आश्विन ११, २०८३
सुमित्रा भुजेल लमजुङ — मनाङको चामे गाउँपालिका क्षेत्रमा घट्टेखोलामा आएको बाढीपहिरोले मर्स्याङ्दी नदीको बहाव आंशिक रूपमा रोकिएको छ। बाढीपहिरोले नदीमा माटो, ढुंगा तथा गेग्रान थुपारेपछि मर्स्याङ्दी र घट्टेखोला मिसिएर ताल बनेको स्थानीय प्रशासनले जनाएको छ। चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेका अनुसार आइतबार अपराह्न घट्टेखोलामा एक्कासि बाढी आएको हो। बाढीको स्रोत भने अझै यकिन हुन नसकेको उनले बताए। बाढीपहिरो नदीमा थुप्रिएपछि मर्स्याङ्दीको बहाव रोकिएको र नदीपारिको बस्ती जोखिममा परेको छ। साथै, माथिल्लो मनाङतर्फ जाने पुलसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ। मर्स्याङ्दी नदी थुनिएको जानकारी पाएपछि लमजुङको तल्लो तटीय क्षेत्रमा समेत सतर्कता बढाइएको छ। नदीको पानीको सतह बढ्न सक्ने भएकाले स्थानीय प्रशासनले निगरानी बढाएको जनाएको छ।
