Fast Nepal News

अजिमा र ६ लैंगिक पहिचान वृत्तचित्र प्रिमियरको तयारीमा

banner single news

काठमाडौं : ‘मातृसत्तामा समानता थियो, स्वतन्त्रता थियो। यौन हिंसा हुँदैनथ्यो। महिलालाई देवीको रूपमा पुजिन्थ्यो।’राजधानी काठमाडौं सहरका मन्दिरमा कुदिएका कलाकृतिले पनि यो कुरालाई पुष्टि गर्ने दाबी गरिएको अजिमा र ६ लैङ्गिक पहिचानसम्बन्धी वृत्तचित्र छिट्टै प्रिमियर गर्ने तयारी भएको छ।

वृत्तचित्रमा अजिमाका मन्दिरहरूको वर्णन गरिएको छ। इन्द्र स्वर्गबाट फुल टिप्न आएको कथन, मल्ल राजाको पालामा सुरु भएको इन्द्रजात्रामा रथ तान्नेदेखि लिङ्गो ठड्याउने परम्परासँगै कुमारी जस्तै भैरव राख्ने चलनलाई वृत्तचित्रमा देखाइएको छ।

मछिन्द्रनाथको मूर्ति ‘न महिला न पुरुष’ देखिन्छन्। तन्त्र परम्परामा ठुलो सानो हुँदैन। तल्लो माथिल्लो भनिँदैन। सबैको अस्तित्व छ। यही अस्तित्वलाई वृत्तचित्रमा प्रस्ट पार्ने कोसिस गरेका छन् निर्माता सुनिलबाबु पन्तले। लाखे नाँच, डाकिनीबारे पनि वृत्तचित्रमा देखाइएको छ।

धेरैको नोटिसमा नपरेको मन्दिरका टुँडालहरूमा कुदिएका ६ थरीका पहिचान भएका व्यक्तिको यौन सम्बन्धबारे निर्माता पन्तले बुझाउने प्रयास गरेका छन्। वृत्तचित्रमा समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिंगीको पहिचानबारे खुलाइएको छ।

असनको गणेश मन्दिरमा छोरा जन्मेको महिला स्वभावको, छोरी जन्मेको पुरुष स्वभावको मात्रै होइन दुवै यौनाङ्ग लिएर जन्मेका व्यक्तिको स्वरूपलाई पनि पन्तले वृत्तचित्रमा प्रस्ट्याएका छन्।

वृत्तचित्र काठमाडौँको मातृसत्तात्मक इतिहास, अजिमा देवीहरू, पितृसत्तात्मक र मातृसत्तात्मक मूल्यहरू बीचको जटिल सम्बन्धमा केन्द्रित छ। वृत्तचित्रले विविध लिङ्ग र कामुकताहरूको अन्वेषण गर्दछ र सांस्कृतिक सम्पदा र आधुनिक लैङ्गिक मुद्दाहरूमा गहिरो प्रतिबिम्ब प्रस्तुत गर्दछ।

पन्तको डकुमेन्ट्रीले काठमाडौं सहरलाई मातृसत्तात्मक परिप्रेक्ष्यमा देखाउँदै नारी योनीलाई महत्त्व दिने मन्दिरहरूलाई प्रकाश पारेको छ। पन्तले विदेशीहरू लैङ्गिक अध्ययनका लागि नेपाल आउने र यस क्षेत्रमा पिएचडी गर्न चाहेको बताए। उनले यो वृत्तचित्र लैङ्गिकता अध्ययनमा रुचि राख्ने विद्यार्थीहरूका लागि बहुमूल्य स्रोत भएको बताए।

Inside Article Ads

संविधान सभाका सदस्यहरू र महिला अधिकारकर्मीहरूले यो वृत्तचित्र हरेक व्यक्तिलाई देखाउन सुझाव दिए। अधिकारकर्मी मिना पौडेलले अहिलेको भन्दा त्यति वेलाको समाज प्रगतिशील रहेको बताइन। ‘हिंसा विहीन खुला थियो, यौनका कारण कहिल्यै हिंसा भएन’, वृत्तभित्र हेरेपछि उनले भनिन्,‘त्यति बेला समानता थियो,शक्तिको दुरुपयोग भएन जुन अहिले छ।’

राष्ट्रिय सभा सदस्य रेखा शर्माले समाजमा रहेको पितृसत्तात्मक सोच बदल्न वृत्तचित्र सफल हुने बताइन। उनले वृत्तचित्र हेरेपछि ‘नेपालमा रहेको मातृसत्ता-व्यवस्था बुझ्न हेर्नै पर्ने फिल्म’ भनेकी छन्।

वृत्तचित्र जेण्डरको दस्ताबेज बन्ने अधिकारकर्मीहरूले बताए। नयाँ बहसका लागि वृत्तचित्र नयाँ खुराक हुन सक्ने उनीहरूले बताए। अहिलेसम्म भ्रम स्थापित भएको भन्दै उनीहरूले यौनिकतालाई त्यसबेला कसरी हेरिन्थ्यो भन्ने वृत्तचित्रले उजागर गरेको उल्लेख गरे।

पन्तले कुमारी घरमा राखिएकी कुमारीलाई राष्ट्र प्रमुख बनाउनु पर्ने आफ्नो भ्यु पनि दिएका छन्। साथै चन्द्र र सूर्य अङ्कित नेपालको झन्डा जोगाउनुपर्नेमा उनले विशेष जोड दिएका छन्।

संविधान सभामा झन्डा फेर्ने बहस समेत भएको भन्दै पन्तले नेपालको झन्डाले जस्तो अरू कुनै पनि देशको झन्डामा समानता भेट्न नसकिने बताए।

वृत्तचित्रको पोष्चर सार्वजनिक भएको छ भने छिट्टै प्रिमियर गर्ने तयारीमा लागेको संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक समेत रहेका पन्तले जानकारी दिएका छन्। वृत्तचित्र युरोपियन युनियनको आर्थिक सहयोगमा निर्माण भएको पन्तले बताए।

Visited 32 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.