
२ पुष,काभ्रे— ‘पनौती ’ शब्दलाई नकारात्मक र कुलक्षणको अर्थमा प्रयोग गर्न नहुनेमा सरोकारवालाले जोड दिएका छन् । काभ्रेको पनौती नगरपालिकामा आयोजित ‘सञ्चारकर्मी पनौती यात्रा एवं पर्यटन विमर्श’ विषयक अन्तर्क्रियाका वक्ताहरूले पुण्य भूमिका रूपमा रहेको पनौती लाई गलत तरिकाले प्रयोग गर्न नहुने बताएका हुन्।

काभ्रेको पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले भने, ‘भारतमा राजनीति देखि खेल जगतसम्म पनौतीलाई कुलक्षणका रूपमा प्रयोग गर्ने गरिएको छ, जुन हाम्रा लागि आपत्तिजनक छ ।नेपालमै पनि नबुझेर पनौतीलाई नकारात्मक तरिकाले प्रयोग गरिनु झन् दुखद् पक्ष हो ।’
उनले पनौती इतिहास, संस्कृति ,धर्म कर्मका दृष्टिले महत्त्वपूर्ण शहर रहेको बताए । घुम्न र यसको इतिहास अध्ययनका लागि विदेशीहरू आउने गरेको जानकारी मेयर भण्डारीले दिए । उनले भने, १५ औँ शताब्दीमा निर्मित ब्रह्मायणी मन्दिर, गाउँको प्रमुख देवीका रूपमा रहेको छ । यहाँको त्रिवेणीमा तीन नदीहरू भेट हुन्छन् । रोशी , पुण्य माता र सबैले देख्न नसक्ने रुद्रावती मिसिन्छन् ।’
नेपालमा असाध्यै प्रचलित पर्व योमरी पूर्णिमाका दिन पनौतीबाटै सुरु भएको उनले बताए ।ऐतिहासिक शहर पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन स्थानीय देखि केन्द्र सरकारबाट समेत पहल भइरहेको र चाँडै यसमा सफलता मिल्ने उनले विश्वास व्यक्त गरे । साथै आगामी दिनमा पनौतीको थप प्रचार गर्दै बढी भन्दा बढी पर्यटक माझ यसलाई चिनाउने योजनामा काम गरिरहेको मेयर भण्डारीले जानकारी दिए ।
पनौती नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष भीमप्रसाद्र आचार्यले पनौती पर्यटकीय स्थलमा मात्रै नभएर प्राचीन तीर्थस्थल पनि रहेको बताए । ’पन्ध्रौँ सोह्रौँ शताब्दीतिर लेखिएकोमा काठमाडौं उपत्यकाको प्रसिद्ध ती धर्मग्रन्थ नेपाल माहात्म्य अनुसार, १६६ पवित्र तीर्थस्थलहरूको सूचीमा पनौती नवौँ नम्बरमा पर्छ । यहाँ प्रत्येक १२ वर्षमा मकर मेला लाग्ने गरेको छ’, उनले भने ।
कार्यक्रमका वक्ता पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले ज्यापु पुन्ही , मकर मेला , योमरी पुन्ही , देवी नाच पनौतीका प्रमुख जात्राहरू रहेको बताए ।पुराना ऐतिहासिक र पुरातात्विक संरचनाहरू पनि रहेको उनले सुनाए । ‘ऐतिहासिक, पौराणिक दृष्टिले पनौती पुण्यभूमि हो । कुलक्षण होइन, पनौती त जीवन र धर्मसँग सम्बन्धित छ’, कर्मचार्यले भने ।
पनौतीले इतिहासदेखि नै आफ्नो एक विशिष्ट पहिचान बनाएको उनले बताए ।यसैगरी स्थानीय पर्यटन व्यवसायी राजन थापाले पनौतीमा घुम्न सकिने ठाउँहरूबारे जानकारी गराए । ‘पनौतीमा पर्यटनको महत्व त छँदैछ । त्यसमा पनि साहसिक पर्यटनका लागि अति उपयुक्त ठाउँ हो । प्याराग्लाइडिङ, रक क्लाइम्बिङजस्ता खेल यहाँ गर्न सकिन्छ’, थापाले भने ।
कार्यक्रममा फोटोग्राफर प्रशान्त श्रेष्ठले सञ्चारकर्मीहरू पनौतीमा गर्न सकिने गतिविधिबारे जानकारी गराएका थिए । उनका अनुसार, पनौती –नमो बुद्बध हाइक, बल्थलीइको –(ट्रेक लोल्याण्ड ट्रेक), साँ गा –पनौती हाइक (कम्युनियुनिटी हाइक, गुर्दुगुर्दुमर्दु –महाभारत पदयात्रा , माउण्टेन बाइक (फूल्चोकी वरिपरि), वर्ड वाचिङ, योग रिट्रीट, सामुदायिक र निजी होमस्टेमा सांस्कृतिक पदयात्रा मार्ग, जात्रा –मेला अवलोकन भ्रमणका लागि पनौती उपयुक्त गन्तव्य हो ।
पनौती नगर पुग्न काठमाडौँ बाट मूलतः दुई दोबाटो छन् । साँगाबाट बनेपा हुँदै जाँदा ३२ किलोमिटर र ललितपुरको लुभू लु–भूला कुरी भञ्ज्याङ हुँदै जाँदा मात्र २२ किलोमिटरको यात्रापछि पनौती पुग्न सकिन्छ । यो नगर सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक विविधताले भरिएको छ । यहाँको बाटो र पुरापुराना गल्ली हरूमा काष्ठकला तथा प्रस्तरकला देख्न पाइन्छ । यहाँको प्रकृति पनि कम मनमोहक छैन ।
पर्यटनको प्रबल सम्भावना बोकेको पनौतीमा मनोरम पहाड, खेत तथा हिमश्रृंखलाहरू नियाल्न सकिन्छ ।सञ्चारकर्मी पनौती यात्रा एवं पर्यटन विमर्श २०७५ सालयता सक्रिय पत्रकारिता समुह र अन्नपूर्ण टाइम्स मिडियाको आयोजनमा हरेक वर्ष मूल धारका मिडियामा काम गर्ने पत्रकारहरूबिच एक पर्यटर्कीय क्षेत्रमा यस्तै सन्देशमूलक कार्यक्रम हुँदै आएको छ ।
