
१२ मंसिर, काठमाडौं । खानेपानी विकास समितिले २६ किमि सुरुङ भर्न सिन्धुपाल्चोकको हेडवर्क्सबाट सुरुङमा पानी भर्न सुरु गरेको छ। मेलम्ची खानेपानी परियोजनाले सोमबारदेखि सुरुङमा पानी भर्न सुरु गरेको हाे। अस्थायी रूपमा मेलम्ची नदीको पानी पुनः काठमाडौं पथान्तरण गर्न थालेको हो ।
। बाढीको जोखिम हुने भएपछि गत असारदेखि सुरुङको ढोका बन्द गरिएको थियो ।
गत महिनादेखि नै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढेको थियो । आयोजनाको हेडवर्क्समा पुरिएका संरचना र आयोजनासम्म पुग्ने सडक बनाएर पानी पथान्तरण गरिएको हो ।
‘अबको केही दिनमा मेलम्चीको पानी काठमाडौंको थोक वितरण प्रणालीमा पठाइने छ र लगत्तै वितरणका लागि उपलब्ध हुने छ’ आयोजनाले सामाजिक सञ्जालमार्फत भनेको छ ।
गत वर्ष स्थायी संरचना बाढीले क्षतिग्रस्त भएपछि वर्षामा पानी ल्याउन रोकेर हिउँदमा मर्मत गरेर अस्थायी रुपमा पानी ल्याउनुपर्ने अवस्था छ । २०७९ वैशाखमा पानी पुनःवितरण सुरु गरिएकामा गत असारदेखि रोकिएको थियो ।
यो वर्षको वर्षायाममा आयोजनामा कम क्षति भएकाले अघिल्लो वर्षभन्दा चाँडै पानी ल्याउन सकिएको आयोजनाले जनाएको छ ।
आयोजनाको दीर्घकालीनरुपमा मर्मत गर्न एशियाली विकास बैंकले अध्ययन गरेकामा त्यसको प्रारम्भिक प्रतिवेदन यसअघि समितिलाई दिएको थियो । त्यसको अन्तिम प्रतिवेदन डिसेम्बरसम्ममा आएपछि नै योजनाबद्धरुपमा मर्मत र सुधारको काम अघि बढाउन सकिनेछ ।
अन्तिम प्रतिवेदनका आधारमा कसरी गर्ने भनेर योजना बनाइनेछ । दुई दशक पहिले निर्माण सुरु भएको आयोजनाबाट फागुन २०७७ मा पहिलोपटक पानी काठमाडौंमा ल्याइएको थियो ।
