Fast Nepal News

विश्व पर्यटन दिवसमा अशाेक सिलवाललाई ‘भक्तपुर’ सम्मान

banner single news

भक्तपुर ।
भक्तपुरको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै भक्तपुर नगरपालिकाले लेखक, पत्रकार तथा लाङटाङ सद्भावना दूत अशोक सिलवाललाई सम्मान गरेको छ । ४७औँ विश्व पर्यटन दिवस, २०८३ का अवसरमा आयोजित कार्यक्रममा टूर गाइड समेत रहेका सिलवाललाई सम्मान गरिएको हो ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायत विशिष्ट व्यक्तित्वको उपस्थितिमा सिलवाललाई सम्मानपत्र प्रदान गरिएको थियो ।

भक्तपुर नगरपालिकाले भक्तपुरको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने संघसंस्था, पर्यटन व्यवसायी तथा सरोकारवालालाई सम्मान गर्ने क्रममा सिललवाललाई पनि सम्मान गरेको हो । सिललवाल गाउँ पर्यटन प्रवर्द्धन मञ्चका सल्लाहकारसमेत हुन् ।

सिलवाल हिमालयदेखि महासागरसम्मकाे नेपाल किताब यात्राका संस्थापक हुन् । नेपालका ७७ वटै जिल्लाका साथै विश्वभर विस्तार भइरहेको याे यात्राले किताबलाई माध्यम बनाएर पर्यटन, प्रकृति, संस्कृति, आध्यात्मिकता, मानवता र एकताको सन्देश प्रवाह गर्दै आएको छ ।

Inside Article Ads

यात्रामा सिललवालका ‘एभरेस्टः एन अनफिनिस्ड स्टोरी’, ‘ओसनः द साउन्ड अफ द हिमालयाज’ र ‘अप्पा दीपो भव’ मुख्य कृतिका रूपमा समेटिएका छन् । ‘एभरेस्टः एन अनफिनिस्ड स्टोरी’ले सगरमाथासँग जोडिएको यात्रा, संघर्ष, भूकम्पको पीडा र मानवीय कथामार्फत गन्तव्यभन्दा यात्राको अर्थ खोज्छ ।

‘ओसनः द साउन्ड अफ द हिमालयाज’ले हिमाल र महासागरको एकत्वमार्फत ‘एक पृथ्वी, एक परिवार’को सन्देश दिन्छ भने ‘अप्पा दीपो भव’ले कैलाश-मानसरोवर यात्रामार्फत आफैँभित्रको कैलाश, आफैँभित्रको तीर्थ र आफैँभित्रको उज्यालो खोज्ने आध्यात्मिक सन्देश बोकेको छ ।

यसै किताब यात्रामा सिलवालको आगामी कृति ‘लाङटाङः फ्रम डेथ टु लाइफ’ पनि समेटिएको छ। लाङटाङको विपत्तिपछिको पुनर्जागरण, जीवन र आशाको कथालाई समेट्ने उक्त कृतिले लाङटाङको कथा अझ व्यापक रूपमा विश्वसामु पुर्‍याउने लक्ष्य राखेको छ ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.