Fast Nepal News

नेपाल क्रिकेट संघ र खेलाडीबीचको ‘सबै विवाद समाधान’

banner single news

काठमाडौँ — १९ पुस २०७८

काठमाडौँ , नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीबीच रहेको विवाद समाधान भएको छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेका अनुसार सोमबार बिहान खेलाडी र क्यानबीचको वार्तामा ‘सबै विवाद समाधान’ भएको हो । क्यान र खेलाडीबीच भएको सहमतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।प्रशिक्षक दासानायकेले सबै सन्तुष्ट हुने गरी निष्कर्षमा पुगिएको बताए । ‘क्यान र खेलाडीका तर्फबाट आधिकारिक रूपमा सहमतिका बारेमा जानकारी आउनेछन् । तर क्यान र खेलाडीबीच निकै सकारात्मक वार्ता सम्पन्न भएको छ,’ पत्रकारहरूसँगको कुराकानीमा उनले भने, ‘ बन्द प्रशिक्षणमा सबै खेलाडी उपस्थित हुनुहुन्छ भन्नेमा म ढुक्क रहेको छु।’ आउने प्रतियोगितामा एकताबद्ध टिमका रूपमा नेपालले सहभागिता जनाउने पनि उनको भनाइ छ । त्यस्तै कप्तान सन्दीप लामिछाने बिग बास लिगको पहिलो चरणको खेल सकिएपछि टिममा सहभागी हुने पनि प्रशिक्षक दासानायकेले बताए ।

क्यान र खेलाडीबीचको विवाद समाधान भएसँगै ग्लोबल ट्वान्टी–२० छनोटका लागि नेपालको तयारी सोमबारदेखि सुरु भएको छ। ओमानमा फेब्रुअरी १५ देखि ट्वान्टी–२० विश्वकप छनोट हुँदै छ । क्यानले बन्द प्रशिक्षणका लागि ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । बन्द प्रशिक्षणको पहिलो दिन त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १४ जना खेलाडी उपस्थित भएका छन् । सोमबार बिहान बन्द प्रशिक्षणका लागि त्रिवि मैदानमा उपस्थित हुने खेलाडीहरूमा शरद भेषावकर, मोहम्मद आरिफ शेख, कुशल मल्ल, मोहम्मद आशिफ शेख, साहब आलम, पवन सरार्फ, भीम सार्की, प्रदीप ऐरी, गुलशनकुमार झा, जितेन्द्र मुखिया, विवेककुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर र किशोर महतो रहेका छन् ।त्यस्तै क्यानलाई रिपोर्टिङ गर्ने अन्य खेलाडीहरूमा सागर ढकाल (अस्वस्थ) रहेका छन् भने विनोद भण्डारी, विक्रम सोब, सुशन भारी, नन्दन यादव र हरिशंकर साहको पीसीआर रिपोर्ट आउन बाँकी रहेको छ ।

Inside Article Ads

प्रशिक्षक दासानायकेका अनुसार अन्य ९ खेलाडी भने सोमबार बेलुकासम्म होटेलमा उपस्थित हुने भएका छन् । ती खेलाडीमा क्यानले कारबाही गरेका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कमलसिंह ऐरीसहित कुशल भुर्तेल, करण केसी, रोहितकुमार पौडेल, अविनाश बोहरा र सन्दीप जोरा रहेका छन् । कप्तान सन्दीप लामिछाने भने बिग बास लिग खेल्ने क्रममा हाल अस्ट्रेलियामा रहेका छन् । सेन्ट्रल कन्ट्रयाक्टमा वर्गीकरणको विषयलाई लिएर सञ्चारमाध्यममा गएर बोलेपछि क्यानले मंसिर २९ गते कप्तान मल्ल र उपकप्तान ऐरीलाई पदमुक्त गर्नुका साथै उनीहरू दुईसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिना सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निर्णय गरेको थियो । क्यानले चार खेलाडीमाथि कारबाही गर्दै सन्दीप लामिछानेलाई कप्तान बनाएको थियो । त्यसयता विनोद भण्डारी, करण केसी, कुशल भुर्तेल, अविनाश बोहरा, रोहित पौडेललगायत खेलाडीले कारबाहीको विरोधमा ऐक्यबद्धता जनाउँदै आएका थिए । क्यान र खेलाडीबीच अनौपचारिक वार्ता र छलफल भए पनि सहमति हुन सकेको आइतबार क्यान र ज्ञानेन्द्रबीच औपचारिक वार्ता भएको थियो । पहिलो चरणमा क्यान अध्यक्ष चतुरबहादुर चन्द र ज्ञानेन्द्रबीच छलफल भएको थियो ।

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.