
काठमाडौँ — ७ पुस २०७८
काठमाडौँ , प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीसँगको अनुदान सम्झौता अनुमोदन प्रक्रिया अघि बढाउन देखाएको अग्रसरताका कारण गठबन्धनको भविष्यप्रति नै संशय व्यक्त भइरहेका बेला सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादीले ‘अप्रिय’ स्थिति नआउने विश्वास राखेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुवैले गठबन्धन नतोड्ने विश्वास देउवाबाट पाइसकेको दाबी गरेका छन् । प्रधानमन्त्री देउवाले एमसीसी सकेसम्म चाँडै संसद्बाट अनुमोदन गराउन चाहे पनि राष्ट्रिय चासोको विषय सम्बोधन गरेर केही ढिला मात्रै अगाडि बढाउनुपर्नेमा माओवादी केन्द्र र एकीकृत समाजवादीले जोड दिइरहेका बेला सत्ता गठबन्धनकै भविष्यप्रति संशय उब्जिएको हो । सत्ता साझेदार दलहरूमाथि दबाब बनाएर एमसीसी संसद्बाट अनुमोदन गराउन सकिने बुझाइमा रहे पनि प्रधानमन्त्री देउवाले गठबन्धन नै भत्काएर एक्लै हिँड्ने मनस्थिति बनाइनसकेको कांग्रेसकै नेताहरू बताउँछन् ।
एमालेको सहयोगमा एमसीसी अनुमोदन गराउने गरी देउवाले गठबन्धन तोडे पनि अन्य दलले संसद्मा अवरोध गर्न सक्ने उनीहरूको बुझाइ छ । गठबन्धन भत्किए माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा विपक्षी बेन्चमा पुग्नेछन् । ‘सभामुखले एमसीसी अगाडि बढाउन सर्त राखेकाले पनि गठबन्धन तोडिँदैमा एमसीसी अनुमोदन भइहाल्ने निश्चित छैन,’ एकीकृत समाजवादी पार्टीका एक पदाधिकारीले भने । विश्लेषक पुरञ्जन आचार्य प्रधानमन्त्री देउवाले पाँचदलीय गठबन्धन तोडेर केपी शर्मा ओलीसँग हातेमालो गर्ने सम्भावना देख्दैनन् । ‘चुनावमा कांग्रेसको मुख्य प्रतिस्पर्धा एमालेसँगै छ,’ उनले कान्तिपुरसँग भने, ‘राजनीतिको सामान्य जोडघटाउ बिर्सिएर हालको गठबन्धनलाई धरापमा पारेर देउवाजीले एमसीसी सम्झौता अनुमोदन गर्ने आँट गर्नुहुन्छ भन्ने लाग्दैन ।’ राजनीतिक विश्लेषक श्याम श्रेष्ठ पनि एमसीसीकै कारण देउवाले गठबन्धन भत्काउने जोखिम नलिने बताउँछन् । ‘हुन त राजनीतिमा जे पनि हुन सक्छ । तर अहिले देउवा गठबन्धन भत्काउने बाटोमा जाने सम्भावना देख्दिनँ,’ उनले भने ।
