
काठमाडौँ — ४ पुस २०७८
काठमाडौँ , ‘मेरो राष्ट्रिय कीर्तिमान खोइ ?’ शनिबार हाफ म्याराथनको कीर्तिमानमै ४ मिनेटभन्दा बढी सुधार गरी उपाधि जितेकी सन्तोषी श्रेष्ठको जिज्ञासा हो यो । हाल रहेको १ घण्टा १८ मिनेट ४६ सेकेन्डको राष्ट्रिय कीर्तिमानभन्दा धेरै छिटो दौड पूरा गर्दै सन्तोषीले १ घण्टा १४ मिनेट १४ सेकेन्डको टाइमिङ निकालिन् । तर, उनको समयले राष्ट्रिय कीर्तिमानको मान्यता पाउन सकेन । ‘नेपाल एथलेटिक्स संघले निर्धारण गरेको रुटमा कायम गरेको टाइमिङले राष्ट्रिय कीर्तिमानको आधिकारिक मान्यता नपाउनु मेरो दोष होइन । तर मान्यता पाउने हाम्रो अधिकार होइन ?’ सन्तोषीले प्रतिप्रश्न गरिन् । एथलेटिक्स संघले नै कम टाइमिङ निस्किएका कतिपय प्रतियोगितामा राष्ट्रिय कीर्तिमान भनेरै प्रचार गर्ने गरेको छ । तर, धेरैलाई थाहै छैन नेपालमा हुने सम्पूर्ण दौड प्रतियोगिताले अन्तर्राष्ट्रिय मान्यता पाउँदैन । अरू त नेपालमा हुने अन्तर्राष्ट्रिय दौड प्रतियोगिताले समेत विश्व एथलेटिक्स महासंघ (आईएएएफ) बाट आधिकारिकता पाउँदैन ।
नेपाल एथलेटिक्स संघ र नेपाल भेटिनरी एसोसिएसनको संयुक्त आयोजना शनिबार भएको रन फर प्रोटिन हाफ म्याराथनमा सन्तोषीले १ घण्टा १४ मिनेट १४ सेकेन्डमा दूरी पूरा गरेकी हुन् । आईएएएफबाट रुट मान्यता हुन्थ्यो भने उनको यो नयाँ राष्ट्रिय कीर्तिमान हो । उनले यसअघि ‘राष्ट्रिय कीर्तिमान’ भनेर चर्चा गरिएको कान्छीमाया कोजुको १ घण्टा १८ मिनेट २८ सेकेन्डलाई पनि उछिनेकी छन् । एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङले यो दौडलाई विश्व एथलेटिक्सले मान्यता नदिएको प्रस्ट पारे । त्यसो भए एथलेटिक्सका दौड इभेन्टहरूमा राष्ट्रिय कीर्तिमान कसरी हुन्छ त ? एथलेटिक्स संघका पूर्व उपाध्यक्ष, पूर्वमुख्य प्रशिक्षक सुशील नरसिंह राणाका अनुसार राष्ट्रिय कीर्तिमान बन्न विश्व एथलेटिक्स महासंघ वा अन्तर्राष्ट्रिय म्याराथनको नियामक निकाय एसोसिएसन अफ अन्तर्राष्ट्रिय म्याराथन तथा डिस्ट्यान्स रेसेस (एम्डस) ले मान्यता दिएको रुट आवश्यक पर्छ ।
‘विश्व एथलेटिक्स वा एम्डसले अन्तर्राष्ट्रिय व्यावसायिक रुट मापनकर्तालाई पठाएर उनीहरूले प्रमाणित गरेको रुटमा बनेको कीर्तिमानले राष्ट्रिय मान्यता पाउँछ,’ राणाले भने, ‘त्यतिमात्र पनि हुँदैन । अरू मापदण्ड पनि छन् । अन्तर्राष्ट्रिय मान्यता पाउन हरेक किलोमिटरको टाइमिङ आवश्यक पर्छ, डिजिटल टाइमिङ मेसिन प्रयोग गरिनुपर्छ । १३ औं सागकी स्वर्णधारी सन्तोषीले पनि राष्ट्रिय कीर्तिमानबारे सबैलाई सुसूचित बनाइनुपर्ने बताइन् । ‘हामीले अहिलेसम्म कान्छी दिदीकै टाइमिङलाई राष्ट्रिय कीर्तिमान मानेर त्यसलाई तोड्ने गरी तयारी गरिरहेका थियौं । तर, आज मैले जितेपछि त्यो कीर्तिमान होइन भनियो,’ सन्तोषीले भनिन्, ‘एथलेटिक्स संघले आधिकारिक रुट निर्धारण गरिदिएको भए आज मेरो राष्ट्रिय कीर्तिमान हुन्थ्यो ।’ खेलविज्ञसमेत रहेका पूर्वप्रमुख प्रशिक्षक राणाले एथलेटिक्सका सटपुट, ज्याभलिन थ्रोजस्ता तत्कालै दूरी नाप्न सकिने इभेन्टबाहेक ट्र्याक र रोडमा हुने दौडले अन्तर्राष्ट्रिय मान्यता पाउन धेरै मापदण्ड पूरा हुनुपर्ने बताए ।
‘दुई वर्षअघि नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा पनि ट्र्याक र रोडमा भएका दौडहरूले अन्तर्राष्ट्रिय मान्यता पाउँदैनन् । नेपालमा भएका कुनै पनि दौडले अन्तर्राष्ट्रिय मान्यता पाउँदैनन्,’ राणाले भने, ‘अहिलेसम्म महिला हाफ म्याराथनको राष्ट्रिय कीर्तिमान निर्मला भारतीको नाममा छ ।’ निर्मलाले सन् २००६ मा बर्लिन हाफ म्याराथन दौडिएकी थिइन् । त्यतिबेला उनले १ घण्टा १८ मिनेट ४६ सेकेन्डको टाइमिङ निकालेकी थिइन् । घरेलु दौड प्रतियोगिताले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा नेपाली खेलाडीलाई अप्ठेरो पर्ने गरेको छ । त्यसको उदाहरणका लागि धेरै टाढा जानुपर्दैन । गत वर्ष नेपालगन्जमा दौडिएको टाइमिङका आधारमा गोपीचन्द्र पार्कीले टोकियो ओलम्पिकमा सहभागिता जनाउन पाएनन् । किनभने त्यो अन्तर्राष्ट्रिय मान्यता थिएन । यसबारे एथलेटिक्स संघले सबैलाई समयमै सूचित गर्न नसक्दा ठूलो विवाद सिर्जना भएको थियो । ‘विश्व एथलेटिक्स र एम्डसले मान्यता दिएका विश्वका ६ वटा म्याराथनको टाइमिङले मात्र अन्तर्राष्ट्रिय मान्यता पाउँछ । गोपीको नेपालगन्जको टाइमिङ ओलम्पिकका लागि आधिकारिक नै थिएन,’ राणाले भने ।
सन्तोषी र तीर्थ च्याम्पियन
महिलातर्फ सन्तोषी र पुरुषतर्फ तीर्थ पुनले रन फर प्रोटिन हाफ म्याराथनको उपाधि जितेका हुन् । शनिबार बाग्लुङका तीर्थले १ घण्टा ३ मिनेट ४५ सेकेन्डमा दूरी पूरा गरी उपाधि जिते । जुम्लाका दुर्गाबहादुर बुढाले १ घण्टा ३ मिनेट ४९ सेकेन्ड र एपीएफका गोपीचन्द्र पार्कीले १ घण्टा ४ मिनेट २८ सेकेन्डबाट दोस्रो र तेस्रो भए । आर्मीका राजन रोका र होमलाल श्रेष्ठ क्रमशः चौथो र पाँचौं भए । शीर्ष पाँच स्थानमा रहनेले क्रमशः १ लाख, ७५ हजार, ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ पुरस्कार पाए । महिलातर्फ एपीएफकी पुष्पा भण्डारी १ घण्टा १७ मिनेट ५८ सेकेन्डबाट दोस्रो भइन् । आर्मीकी विश्वरुपा बुढाले १ घण्टा १९ मिनेट ०१ सेकेन्डमा दूरी पूरा गरिन् । उनीहरूले क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ पुरस्कार पाए । एपीएफकी बिन्द्राधान्के श्रेष्ठ चौथो र पुलिसकी रेशा विष्ट पाचौं हुँदै ४० र ३० हजार रुपैयाँ पुरस्कार जित्न सफल भए ।
सन्तोषीले अघिल्लो महिना नेपालगन्ज हाफ म्याराथन १ घण्टा १८ मिनेट ४८ सेकेन्डबाट जितेकी थिइन् । त्यसमा उनले उल्लेख्य सुधार गरेकी छन् । ‘मैले दिल्ली र ढाका हाफ म्याराथनलाई तयारी गरेको थिएँ । यो टाइमिङ अगाडि नै आइसक्नुपर्ने थियो । यसपल्ट म पूर्ण फिट थिएँ र तयारी पनि राम्रो थियो । शरीर र दिमागको राम्रो सन्तुलन भएकाले राम्रो टाइमिङसहित जित्न सकें,’ सन्तोषीले कान्तिपुरसँग भनिन् । १० किमि पुरुषमा मुकेश पाल पहिलो, अनिश थापामगर दोस्रो तथा दीपक अधिकारी तेस्रो भए । अजितकुमार यादव चौथो र वीरेन्द्र सिंह राउत पाँचौं भए । महिलातर्फ ५ किमि दौड पुलिसकी राजपुरा पछाईंले जितिन् । जुम्लाका राममाया बुढा दोस्रो, एपीएफकी फूलमती राना तेस्रो, पुलिसकी विर्सना कुमाल चौथो र एपीएफकी आशा राउत पाँचौं भए ।
५ किमि छात्रतर्फ प्रकाश कठायतले उपाधि जिते । आशिष क्षेत्री, नागेश्वर ऐर, एकेन्द्र बिक र विश्वराम कुँवर क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं भए । ३ किलोमिटर छात्रातर्फ कर्णालीका धाविकाको वर्चस्व रह्यो । जुम्लाकी बन्दना बुढा पहिलो हुँदा समिता बुढा दोस्रो, कालीकोटकी लक्ष्मी शाही तेस्रो भए । स्वयम्भूकी सोनु घतानी चौथो र नेसिस स्कुलकी रेस्तिना सितिकुम पाँचौं भए । ह्विलचियर रेसमा प्रेमबहादुर बिक पहिलो भए । कृष्ण चौधरी दोस्रो र रामकाजी मिजार तेस्रो भए । प्रोटिनको महत्व र व्यापकताबारे चेतना फैलाउने उद्देश्यले आयोजित हाफ म्याराथनमा करिब २ हजार खेलाडीको सहभागिता थियो ।
( कान्तिपुर दैनिक )
