Fast Nepal News

‘क्यानलाई उल्टै प्रश्न सोधियो’

banner single news

काठमाडौँ — २ पुस २०७८    v

काठमाडौँ , छानबिन समितिले गरेको सिफारिसका आधारमा क्यानले बुधबार कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित चार खेलाडीलाई अनुशासन उल्लंघन गरेको आरोपमा कारबाही गर्‍यो । सेन्ट्रल कन्ट्र्याक्टमा खेलाडीको वर्गीकरणलाई लिएर हुन सक्छ । एउटा खेलाडीको वर्गीकरण विषयमा उहाँहरूलाई चित्त बुझेको थिएन । सोमपाल कामीलाई किन ‘ए’ ग्रेडमा नराखेको भनेर इस्यु आयो । सोमपालको विषयमा कप्तान ज्ञानेन्द्र (मल्ल) ले मलाई फोन गर्नुभयो । मापदण्ड तोकेर वर्गीकरण गरिएको हो भनेर मैले उहाँलाई सबै सम्झाइदिएको हो । तोकिएको मापदण्ड र अवधिमा सोमपालको सहभागिता र प्रदर्शन केही पनि छैन । त्यही मूल्यांकनमा वर्गीकरण गरेर भनेर सम्झाउने प्रयास गरेका हौं । त्यसपछि एकैपटक खेलाडीहरू मिडियामा जानुभयो । यसले खेलाडीको आचारसंहितालाई आकर्षित गर्‍यो । खेलाडीहरूले जुन सेन्ट्रल कन्ट्र्याक्टमा हस्ताक्षर गर्नुभएको थियो, मिडियामा विरोधमा जानु त्यसविपरीत थियो ।

त्यसैमा क्यानको ध्यानाकर्षण भएर मेरो संयोजकत्वमा छानबिन समिति बनेको थियो, त्यही समितिले खेलाडीमाथि कारबाही माग गरेको थियो । छानबिनका क्रममा हामीले कप्तान, उपकप्तानसहित खेलाडीहरूलाई स्पष्टीकरण सोधेका थियौं । चित्तबुझ्दो जवाफ आएन । त्यसपछि दोस्रो पटक स्पष्टीकरण सोध्यौं । बीचमा केही घटनाक्रम विकसित भए । उहाँहरूलाई बोलाएर छलफल गरी बुझाउने कोसिस पनि गरियो । दोस्रो स्पष्टीकरणमा पनि सन्तोषजनक जवाफ नआएपछि हाम्रो समितिले जे देख्यो, जे भोग्यो त्यो बोर्डसमक्ष बुझाएका हौं । अझ पहिलो स्पष्टीकरणपछि उहाँहरूले १९ खेलाडीको दस्तखतसहित ११ बुँदा राखेर विभिन्न माग राखे । उल्टै क्यानलाई सात दिनभित्र यसको उचित जवाफ दिनू भनेर पत्र आयो । त्यो पत्रको बेहोरा हेर्दा राम्रो थिएन, किनभने संघसंस्थालाई नै अल्टिमेटम दिइएको थियो । तर हामीले खेलाडीको माग नै हो भनेर उहाँहरूलाई बोलाएर १–१ बुँदालाई स्पष्ट पार्ने प्रयास गर्‍यौं । ७–८ जना खेलाडी आउनुभयो । काठमाडौंबाहिरका खेलाडी आउनुभएको थिएन ।

वर्गीकरणमा सोमपालबाहेक रोहित पौडेललाई ‘बी’ श्रेणीमा नराखिएको, १८ खेलाडीको सट्टा २० खेलाडी राखिनुपर्ने माग पनि खेलाडीले राखेका छन्, हैन र ?

एक वर्ष, ९ महिना वा ६ महिनाका लागि वर्गीकरण गरिसकेपछि त्यसबीचमा हुने प्रतियोगिता/शृंखलामा कोही खेलाडी पर्दछ भने त्यो खेलाडीलाई संसारमा कहीं समावेश गरिन्न । वर्गीकरण गर्न ढिलाइचाहिँ भएको हो । वर्गीकरणलाई समिति मार्चमा गठन भएर मेमा त्यसले काम सुरु गर्दै जुनमा क्यानलाई प्रतिवेदन बुझाएको थियो । कोभिडका कारण भौतिक रूपमा बैठक बस्न सकिएको थिएन । यो अधिकारसम्पन्न समिति थियो, त्यसमा तत्कालीन उपाध्यक्ष आफै संयोजक हुनुहुन्थ्यो । त्यसले विज्ञहरूलाई समावेश गरेर स्पष्ट मापदण्ड बनाएको थियो । २०२० को अप्रिलदेखि डिसेम्बरसम्मका खेलाडीको वर्गीकरण गरिएको थियो ।

बीचमा प्रर्दशन गरेकालाई एकै पटक समावेश गर्न सकिन्न । त्यसको एउटा प्रक्रिया हुन्छ । रोहित पौडेल र गुलशन झा नेपाल टिममा पर्नुभयो, राम्रो खेल्नुभयो । तर रोहित र गुलशनलाई बीच बाटोबाटै फेरि हाल्न सकिन्न । डिसेम्बरपछिको नयाँ वर्गीकरणमा उहाँहरू योग्य हुनुहुन्छ भने पर्न सक्नुहुन्थ्यो । जुन बेला वर्गीकरण गरियो त्यो बेला सेन्ट्रल कन्ट्र्याक्टले गुलशनलाई चिन्दैनथ्यो । किनभने उहाँ राष्ट्रिय टोलीको संरचनामै आउनुभएको थिएन । २०१९ को डिसेम्बरबाट २०२१ को फेब्रुअरीसम्म हेर्दाखेरि रोहितले विश्वकप लिग २ को एउटा म्याचमात्र खेल्नुभएको छ । अब बन्ने नयाँ वर्गीकरणका लागि रोहित योग्य हुनुहुन्छ । यसअगाडि सेन्ट्रल कन्ट्र्याक्टको वर्गीकरणमा ५ जनालाई ‘ए’ मा, ६ जनालाई ‘बी’ मा र ७ जनालाई ‘सी’ ग्रेडमा राखेर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा पठाएर स्वीकृति लिएका थियौं । आईसीसीमा हामीले पहिल्यै बजेट पठाउनुपर्ने हुनाले त्यसको एउटा प्रक्रिया हुन्छ । आईसीसीबाट हामी अझै ‘कन्ट्रोल फन्डिङ’ मा छौं । यो पनि एउटा समस्या हो ।

क्यानले प्रशिक्षक संघलाई मान्यता दिएको छ । नेपाल क्रिकेट खेलाडी संघ (सीप्यान) पनि अस्तित्वमा देखिन्छ, सीप्यानलाई मान्यता दिएर खेलाडी वर्गीकरणमा राखेको भए यो समस्याको समाधन खोज्न सहज हुन्थ्यो होला नि ?

क्यानको विधानले खेलाडी संघ, अम्पायर्स संघ र प्रशिक्षक संघ भनेर तोकेकै छ । दुई संघले क्यान सञ्चालनमा आएदेखि नै दुई वर्षयता हाम्रो ढोका ढक्ढकाउनुभयो । हामीसँग समन्वय गर्नुभयो, सहकार्य गर्नुभयो, विधानअनुरूप मान्यता दिनुपर्‍यो भन्नुभयो । दुवै संघलाई हामीले कसरी आउनुपर्छ भनेर सबै प्रक्रिया बताइदियौं । उहाँहरूले निवदेन, कार्यसमितिको सबै नामावली, विधान पठाएपछि हाम्रो प्राविधिक समितिले स्वार्थ नबाझिने भएपछि स्वीकृति दिएर क्यानले त्यसलाई मान्यता दिएको हो । प्रशिक्षक संघ पनि त्यसै गरी आएको हो । खेलाडी संघ छ भने पनि उहाँहरूले आजसम्म कुनै पहल गर्नुभएको छैन ।

खेलाडीले आचारसंहिता उल्लंघन गर्‍यो भन्नुभएको छ, आचारसंहितामा के छ र कुन बुँदा उल्लंघन भयो त ?

क्यानमा अनुबन्धित कुनै पनि खेलाडीले मिडिया दायित्वमा आईसीसी, एसियाली क्रिकेट परिषद् (एसीसी) र देशको केन्द्रीय बोर्डविरुद्ध कुनै वक्तव्यबाजी गर्ने छैनौं भनेर बुँदा नम्बर १ मा लेखिएको छ । दोस्रो, नेपालमा भएको क्रिकेट संघसँग सम्बन्धित या विकासमा रहेका अम्पायर, पदाधिकारीसहित क्रिकेटसँग सम्बन्धित कुनै पनि पदाधिकारिविरुद्ध बोल्न नपाइने, तेस्रोमा क्यानको सहमतिबेगर मिडियामा जान नपाइने आचारसंहितामा छ । यही आचारसंहितामा टेकेर उहाँहरूले सेन्ट्रल कन्ट्र्याक्ट लिनुभएको हो । सोमपालजी असन्तुष्ट हुनुहुन्थ्यो भने क्यानमा आएर जति बोले नि निवेदन दिए पनि त्यो अनुशासन उल्लंघन हुँदैनथ्यो । उहाँले प्रश्नमाथि प्रश्न उठाउन सक्नुहुन्थ्यो । उहाँलाई सन्तुष्ट बनाउने काम क्यानको हुन्थ्यो । त्यो आचारसंहिता विपरीत हुन्नथ्यो । त्यो प्रक्रियामा नगई सोमपालजी मिडियामा गएर क्यानविरुद्ध बोल्नुभएको छ । त्यसपछि पनि सबै खेलाडीलाई मौका दिएको थियो । सामान्य जवाफस्वरुप आउने दिनमा यस्तो गर्ने छैन भनेको भए यो समस्या यति अगाडि बढ्ने थिएन ।

अघिल्लो महिनामात्र नेपालको महिला राष्ट्रिय टोलीको ढाकाबाट काठमाडौं आउने फ्लाइट छुट्यो । कोभिड प्रोटोकल उल्लंघन भएकाले फ्लाइट छुटेको थियो । क्यानका सदस्य जयन्ती भट्ट नै हुनुहुन्थ्यो टिम व्यवस्थापक । उहाँलाई हामीले स्पष्ट पत्र काट्यौं । के कति कारणले फ्लाइट छुटेर खेलाडीले दुःख पायोभन्दा उहाँले हामीलाई एयरपोर्टमै पीसीआर गर्न पाइन्छ भनेर गलत सूचना दिनुभयो । त्यही आधारमा एयरपोर्ट पुग्यौं, तर एयरपोर्टमा पीसीआर रहेनछ, त्यही भएर फ्लाइट छुट्न गई त्रृटि भएको भनी माफी मागेर पत्र पठाउनुभएको छ । भनाइको मतलब केन्द्रीय सदस्यबाट गल्ती हुँदा पनि हामीले स्पष्टीकरण सोध्ने गरेका छौं ।

Inside Article Ads

खेलाडीमाथिको कारबाही नै समस्याको समाधान हो जस्तो लाग्छ ?

हामीले त्यस्तो ठूलो कारबाही गरेका छैनौं, खेल्न दिइरहेका छौं । तर यत्रो केस भइसकेपछि केही न केही त सांकेतिक हुनैपर्छ । कप्तान र उपकप्तानले झन् गाइडेन्स गर्नुपर्ने थियो । हामीले त्यो दुवैजनाबाट पाएनौं । नयाँ आइरहेका खेलाडीलाई पनि मिडियामा समावेश गराइएको छ । त्यो हिसाबमा पनि कप्तान र उपकप्तानबाट कमजोरी देखिएकाले उहाँहरूलाई परिवर्तन गरेका हौं । अनुशासनमा राख्न स्कुलमा पढ्दा पनि सरले कारबाही त गर्नुहुन्थ्यो होइन र ? विद्यार्थीले स्विकार्थ्यो त त्यो ।

खेलाडीहरूप्रति लिइएको यस निर्णयमा क्यानले आईसीसीसँग कुरा गरेको छ त ?

आईसीसीलाई हामीले नियमित अपडेट गरेका छौं । गत महिनादेखि नै हरेक घटनाको विकासक्रम पठाएका छौं, आईसीसी यसमा अवगत नै छ । आईसीसी र एसीसीलाई खेलाडीमाथि बुधबार चालेको कदमको निर्णय पनि पठाइसकेका छौं । बोर्ड नै सुप्रिम हो यो विषयमा । बोर्डले गरेको निर्णयप्रति हाम्रो कुनै प्रश्न हुँदैन भनेका छन् ।

आईसीसीको आडमा तपाईंहरूलाई यो निर्णय गर्न सजिलो भएको रहेछ ?

खेलाडी छनोट, बोर्डले गरेका कारबाहीहरूमा आईसीसी, एसीसीको चासो रहन्न । हाम्रो जानकारी दिने दायित्व हो, त्यो दिइरहेका थियौं ।

कप्तानलाई अनुशासन उल्लंघन गरेर हटाउनुभयो । तर, नयाँ कप्तान नियुक्त गर्ने जिम्मा त छनोट समिति वा मुख्य प्रशिक्षकको होइन र ?

कप्तान छनोट गर्ने जिम्मा पनि बोर्डमा हुन्छ । कप्तान हामी परिवर्तन गर्दैछौं भनेर छनोट समितिलाई पनि एउटा किसिमले जानकारी गराएका छौं । नयाँ कप्तानका बारेमा बोर्डमा छलफल भएको थियो । यो बोर्डले निर्णय गर्न सक्छ । नयाँ आउँदै गरेका प्रशिक्षकलाई पनि हामीले यसबारेमा अवगत गराएका थियौं ।

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.